जेष्ठ ५, २०८१ शनिबार

‘बिर्तामोडलाई पुग्ने तरकारी फलाउन सक्षम छौ’

प्रदिप खनाल, सफल किसान
झापा बिर्तामोड–७ का प्रदिप खनाल दुई वर्ष वैदेशिक रोजगारीका क्रममा दुवई बसेर फर्किएपछि युवा हुन् । अहिले उनको दिनचर्या कृषि पेशामा वितिरहेको छ । दुवईमा दुई वर्ष दुःख गरेर फर्किएका खनाल आफ्नै गाउँ फर्किएर कृषि क्षेत्रमा उदाहरणीय पहिचान बनाउन सफल भएका छन् ।

बिर्तामोड–७ मा हाम्रो कृषि फर्म सञ्चालन गरिरहेका उनी झापा जिल्लाको उत्कृष्ट कृषकमध्येका एक हुन् । ६ वर्षदेखि निरन्तर कृषिमा लागेका खनाल कृषि मै केहि गरेर देखाउन चाहिरहेका छन् । खासगरी तरकारी बालीमा आकर्षित भएका उनको धेरै क्षेत्रफलमा अहिले पनि तरकारी बाली छ । जता फर्के पनि सागसब्जी फलेको देखिने उनको फर्ममा १५ वटा परिवार पूर्ण रुपमा रोजगारी पाइरहेका छन् । खनालको कृषि फर्ममा काम गरेर परिवार धान्नेको संख्या ठुलै भेटियो ।
सिजन बाहेक १८-२० जनाले दैनिक काम पाइरहेका छन् भने सिजनको बेला ४० जना भन्दा धेरैले रोजगार पाउने उनको भनाई छ ।

खनालको कृषि फर्ममा अहिले काक्रा, खोर्सानी, भेडे खोर्सानी,स्क्वास फर्सी, लोकल फर्सी, मुन्टा, लौका, बैगुन, बोडी र टमाटर फलिरहेको छ । दैनिक ४० हजार बराबरको तरकारी विक्री गर्दै आएका खनाल मासिक १२ लाखसम्म आम्दानी गरिरहेका छन् ।

बिर्तामोड नगरपालिकाबाट निशुल्क प्राविधिक सहयोग पाइरहेको बताउने उनले प्रविधिमा किसानले ५० प्रतिशत अनुदान पाइरहेको बताउँछन् । गत वर्षहरुमा प्रविधिहरु पनि निशुल्क थियो, अत्याधिक उपयोग नभएको पाएपछि किसानकै प्रस्तावमा ५० प्रतिशत लागत सहभागिता गरिएको हो । नगरपालिकाले टनेल, मन्चिङ, वीउविजन, मिनी टेलर, गोढ्ने काटा, हलो, अर्वना लगायतका सामग्रीहरुमा सहयोग गरिरहेको छ । धेरै जसो सहयोगमा किसान र नगरापालिकाबीच ५०-५० प्रतिशत साझेदारी रहेको छ ।

आलु र प्याज बाहेकका तरकारीजन्य कृषि वस्तुमा बिर्तामोड नगरपालिकाले उपलब्धी हासिल गरिरहेको खनालको भनाई छ । ५÷७ वर्षअघिसम्म भारतीय तरकारीमा परनिर्भर बन्नु परेको थियो । अहिले स्थानीय उत्पादनले ५० प्रतिशत आयात नै घटाएको छ । नगरमा खपत हुने तरकारीजन्य वस्तुको ५० प्रतिशत माग धानिरहेको छ । स्थानीय उत्पादनमा विषादीको मात्रा पनि ८० प्रतिशतले न्यूनिकरण भइसकेको छ, उनले भने ।

१८ विगाह क्षेत्रफलमा तरकारी जन्य कृषिवस्तु उत्पादन गरिरहेको हाम्रो कृषि फर्मले विषादी न्यूनिकरणका लागि बाछी पालन गरिरहेको छ । मलका लागि बाछी खरिद गरेर पालिरहेका छौं, उनले भने – बाछीले बच्चा जन्माएपछि विक्री गरिदिन्छौं । त्यसले मलमा र आर्थिक रुपमा दुई फाईदा हुने गरेको छ ।

स्थानीय किसानलाई सबैभन्दा ठुलो समस्या बजारको भइरहेको यहाँका किसानहरु बताउँछन् । हाम्रो फर्मका सञ्चालक खनाल भन्छन्, व्यापारीलाई दियो भने लगानी पनि उठाउन कठिन छ । आफै व्यापार गरौं भन्दा बजारको समस्या छ । केहि समयदेखि बजारमा व्यापारीहरुदेखि लुकिछीपी व्यापार गरिहेको सुनाए । उनका अनुसार एकदेखि डेढ महिनाभित्र कृषिथोकभित्र कृषकले पनि सहजै आफ्नो उत्पादन विक्री गर्न सक्नेछन् ।

युवा किसान खनालले आलु उत्पादन गरे पनि बजारमा विक्रीका लागि नलगेको जानकारी दिए । वीउ आलुको रुपमा उत्पादन गरिरहेका उनीहरुले केही वर्षयता जिल्लाका चार वटा पालिकालाई वीउको रुपमा विक्री गरिरहेका छन् । हल्दिवारी, कनकाई, बिर्तामोड र अर्जुनधारामा फर्मले वीउ आलु उपलब्ध गराइरहेको छ ।

कृषि पेशामा अनुभव लिइरहेका उनले विदेशको दुखभन्दा स्वदेशमै गरेको कृषि सुखद भएको प्रतिक्रिया दिएका छन् । उनले भने, पहिले ऋणमा थिए, कृषिमा लागेपछि धनमा छु । कृषिमै लागेर आर्थिक उन्नति गरेको सुनाउने उनले घर जग्गा खरिद गरेको बताए ।

अनुदानले किसान र कृषि क्षेत्र विग्रिएको बताउने खनालले स्थानीय सरकारबाट उन्नत वीउको उपलब्धता र विद्युतमा थप सहजीकरण गर्नुपर्ने बताए । बिर्तामोड मात्र होइन, पूर्वमा राम्रो किसानको रुपमा स्थापित खनालले केहि वर्षमा बिर्तामोडले बाहिरको तरकारी आयात गर्नु नपर्ने दावी गरेका छन् ।

बिर्तामोड नगरपालिकाको मेयर विषादी कार्यक्रममा सहभागी भएपछि कृषि पेशामा आकर्षित भएका उनी त्यसअघि ट्याक्टर व्यवसाय गर्थे । नगरपालिकाको कृषि शाखाले जस्तोसुकै समस्यामा पनि सहभागी भएर प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । तरकारी उत्पादनसँगै ज्ञान केन्द्रको सहयोगमा वीऊ उत्पादनको कामलाई पनि अघि बढाएको जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २९, २०८० बिहीबार  ४ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]