बैशाख २५, २०८१ मंगलबार

शिवसताक्षी घर नक्सा प्रतिवेदन सार्वजनिक : तीन कर्मचारी मुख्य कारक

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले घर नक्शा प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी नगरप्रमुख मेगाहाङ्ग थोप्राले घर नक्सा प्रकरणमा छानवीन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गर्दै नगरप्रमुख थोप्राले लामो समयदेखि विवादित घर नक्सा सम्बन्धी बनेको उच्च स्तरीय छानविन समितिले तयार गरेको प्रतिवेदनलाई अतिख्यार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउने बताए । घर नक्सा सम्वन्धी नागरिकबाट उजुरी परेको मध्ये ६९ फाइलमा समस्या रहेको छानविन समितिले निष्कर्ष निकालेको छ ।

जसमा नगरपालिकामा अभिलेख भएको तर फाइल नभेटिएको १६ थान, फाइल भएको तर अभिलेख नभेटिएको १८ थान र घर नक्शा पास र अभिलेखिकरण प्रमाण पत्र प्राप्त गरेका तर विवरणमा नपरेको ३५ थान रहेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाका कार्यालय नगई सबै काम गराउने कार्यालयको नियमका बारेमा कार्यलयमै गई नबुझ्ने, राजश्व बुझाएको प्रमाण पत्र रसिद नलिने सेवाग्राहीहरुका कमजोरीका कारण गलत कार्य गर्न प्रश्रय पाएको देखिन्छ । प्रतिवेदनमा भनिएको छ, घर नक्शा प्रमाणपत्र जारीका लागि सेवाग्राहीले दर्खास्त दर्ता गरेपछि सन्धियारका नाममा सूचना जारी भएको, प्राविधिकबाट फिल्ड निरीक्षण भएको, अमिनबाट स्थलगत निरीक्षण गरी प्राविधिक प्रतिवेदन तयार गरेपछि घर नक्शा प्रमाण पत्र जारीका लागि टिप्पणी उठाई राजश्व बुझाउनु पर्नेमा कन्सल्टेन्सीका प्रतिनिधिलाई फाइल उपलब्ध गराएको कारण गलत दस्तखतबाट प्रमाण पत्र जारी भएको हो ।

घर नक्शा प्रकरणमा तत्कालिन घर नक्शा शाखाको जिम्मेवारीमा रहेका अ.सव.इ मिना रिजाल, तत्कालिन अमिन हाल सहायक .पाँचौ (सर्वे) पदमा कार्यरत गोमा ढुंगाना, र तत्कालिन छैठो तहका इन्जिनियर हाल सातौ तहका इन्जिनियर कृष्ण राईको गैर जिम्मेवार कार्य सम्पादन नै प्रमुख कारण भएको प्रतिवेदनमा उल्लेख छ ।

स्तम्भ कन्सनटेल्सीका सागर ल्वागुनले विशाल इन्जिनियरिङ्ग कन्सल्टेन्सी, आवास इन्जिनियरिङ्ग कन्सल्टेन्सीको समेत काम गरेको र नगरपालिका घर नक्सा निर्माण लगायत राजश्व आफै तिरिदिने र सवै सेवाग्राही नगरपालिकासम्म जानै पर्दैन भनी झुक्याएको स्वीकार गरेको छानविन समितिले जनाएको छ ।

निज ल्वागुन हाल बैदेशिक रोजगारीका लागि गएको प्रतिवेदनमा उल्लेख छ । समितिको प्रतिवेदनमा समावेश भएका घरधनीहरुको कानुन बमोजिमका प्रमाण पत्र संलग्न गरी गराई नगरपालिकाले घर नक्शा अभिलेखिकरण प्रमाण पत्र जारी गरिदिनु पर्ने कीर्ते दस्तखत र सरकारी छाप प्रयोग गरी प्रमाण पत्र बनाई आफुखुसी गर्ने कन्सल्टेन्सीलाई कानुन बमोजिम कार्वाहीका लागि प्रकृया अगाडी बढाउन समेत समितिको प्रतिवेदनमा माग गरिएको छ ।

यता, शिवसताक्षी नगरपालिकाकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकामा नियम संगत नभएका गतिविधिहरु अनियमितताको विषयहरुलाई अन्त्य गर्नका लागि नगरले कदम चालेको जानकारी दिए । अख्तियारले दुई वर्ष अघिदेखिको सबै विवरण मागेको र यस छानविन समितिको प्रतिवेदन समेत पठाइदिने उनको भनाई छ । उनका अनुसार अख्तियारले कीर्ते हस्ताक्षर र प्रमाण पत्रको समेत पुन छानविन गर्नेछ ।

शिवसताक्षी नगरपालिकाले उक्त प्रकरणका लागि पहिले वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति पनि गठन भएको थियो । पहिलो समितिले बुझाएको प्रतिवेदन पूर्ण नभएको र धेरै समस्यामा परेको सेवाग्राहीहरुलाई नसमेटिएको देखिएपछि पुनः २०८० पौष ०२ गते नगर उपप्रमुख नरमाया कार्कीको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय छानविन समिति गठन भएको थियो । उक्त समितिले ३३७ पेजको प्रतिवेदन तयार गरी नगरप्रमुख समक्ष बुझाएको छानवीन समितिले जनाएको छ ।

नगरपालिकाबाट वितरण गरिएको घर नक्सा प्रमाण पत्र २०७२ सालदेखि नै समस्या रहेको पाइएको थियो ।

प्रकाशित मिति : चैत्र २९, २०८० बिहीबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]