बैशाख १८, २०८१ मंगलबार

गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव

बिर्तामोड । गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखी तलव नपाएको बताएका छन् । चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ ।

चिया बगानमा कार्यरत १७० जना चिया मजदुरले १२-१२ दिनमा पाउँदै आएको तलव सुविधा नपाएको गुनासो गरेका छन् । २ महिना ३ दिन वितिसक्यो, चिया मजदुरले भने – विहान बेलुका छाक टार्न कठिनाई भइसक्यो ।

चिया टिपेको ज्यालाबाट विहान बेलुकाको दैनिकी चलाउने चिया मजदुरले साहुले पनि बाँकी दिन छोडेको बताएका छन् । साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाई छ ।

चिया मजदुर एवम् मजदुर नेतृ सावित्रा बञ्जराले खाली पेटमा चिया टिपाई भईरहेको बताइन् । अब भोकभोकै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल मजदुरको ज्याला उपलब्ध गराइदिन माग गरिन् ।

तीन पुस्ताले चिया टिपेको बगानमा अहिले आएर सञ्चालकहरुबाट मजदुरमाथि अन्याय भइरहेको उनको भनाई छ । भोकमरी सहेर पनि साहुको काम गरिरहेको बताउँदै बञ्जराले अनेक समस्याहरुका बाबजुत काम गर्नुपरेको बताइन् । उनले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग आग्रह समेत गरेकी छन् ।

तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाई छ । उनका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरुले लिनुपर्ने छ ।
दैनिक ५ सय रुपैयाँका दरले ज्याला पाउने चिया मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको मजदुरहरुको भनाई छ ।

बगान फाड्ने र घाटाको समस्या देखाउदै उनीहरुलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको छ । यता, चिया मजदुर सुकमती देवानले दैनिक रुपमा चिया पत्ति टिपेर बुझाइरहँदा पनि कम्पनीले घाटा भएको बताउने गरेको जानकारी दिइन् । १२ दिनको तलव जबरजस्ती बुझुनका लागि दवाव आइरहेको देवानको भनाई छ । उनले भनिन्– हामीलाई काम गरेको पुरा महिनाको तलव चाहिन्छ, होइन भने मान्नेवाला छैनौं ।

कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिदैं मजदुरलाई ज्याला रोकिरहेको उनीहरुको भनाई छ । बगानको स्याहार समेत हुन छोडेको बताउँदैं चिया मजदुर देवानले मजदुरको असुरक्षा भइरहेको बताइन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाईका अध्यक्ष नारायण दर्जीले श्रम गर्ने मजदुरले अब भोकै काम गर्न नसक्ने बताए । श्रम गर्ने मजदुरलाई तत्काल भुक्तानी दिन दर्जीले आग्रह गरेका छन् । ‘हामीले श्रमको मात्र पैसा मागेको हो, अरु केहि मागेका छैनौं, उनले भने – ८/१० वर्षदेखि मजदुरलाई बगान घाटामा छ भन्दै निरुत्साहित गर्ने गरिएको छ ।

बगानका व्यवस्थापक सन्त कुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । उनले आर्थिक संकटकै कारण मजदुरको भुक्तानी रोकिएको बताए ।

अलिकति भुक्तानी दिन खोजेका थियौं, उनले भने – उहाँहरुले लिन मान्नु भएन । केहि दिनमा एक महिनाको तलव भए पनि दिने योजनामा छौं । सिजन सुरु नभई सबै भुक्तानी दिन कठिन छ ।

प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]