बैशाख २१, २०८१ शुक्रबार

कम्युनिष्ट आन्दोलन समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर अघि बढेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीले बलिदानबाट गौरवपूर्ण इतिहास बनाएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा सोमबार नेकपा एमालेले ललितपुरको सनराइज सभा हलमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई यो स्थानमा ल्याउन सहिदहरूले जीवन अर्पण गर्नुभएको, लाखौँले दुःख कष्ट र यातना सहेर कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुभएको बताउनुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलन आज स्पष्ट सोचका साथ अघि बढेको ओलीले बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको संकल्प कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा पुरा गरेरै छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजवादको स्पष्ट खाका सहित समाजवादको टाइमलाइन तोकेर आफूहरू अघि बढेको ओलीले बताउनुभयो । ‘अन्धकारमा छामछाम छुमछुम गरेर हिँडेको छैन आजको कम्युनिष्ट आन्दोलन, भड्किरहेको छैन आज कम्युनष्टि आन्दोलन, अन्योलमा परिरहेको छैन कम्युनिष्ट आन्दोलन, समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य तोकेर, त्यस गन्तव्यलाई हामी सय वर्ष पुग्दा साकार पारिछाड्छौँ भन्ने संकल्पका साथ अगाडि बढेका छौँ’, ओलीले भन्नुभयो ।

यो संकल्प अन्दाजको भरमा तोकेको नभई समाजको विकास क्रमको विश्लेषण गरेर गरिएको उहाँले बताउनुभयो । हरेक क्षेत्रलाई हेरेर यो कुरा तय गरिएको ओलीले बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनको ७५ वर्षको समीक्षा गरेर आगामी बाटो तयार गर्न नेकपा एमालेले कार्यक्रम आयोजना गरेको ओलीले बताउनुभयो । नेकपा एमाले आज एक ढिक्का रहेको र एक ढिक्का भएर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।
देश निर्माणको काम नेकपा एमाले एक्लैले गर्छु भनेको नभई नेकपा एमालेको अगुवाइमा हुने उहाँले स्पष्ट पार्नुभयो । अगुवाइ भनेको सरकारमा बसेर मात्र होइन विचारको हिसाबले एमालेले अगुवाइ गर्ने र गरिरहेको ओलीले बताउनुभयो ।
जनतामा विश्वास नगर्नेहरूले राजतन्त्रको कुरा गर्ने ओलीले बताउनुभयो । उनीहरूले श्रीपेच नलगाउने पनि राष्ट्र प्रमुख हुन्छन् र भन्ने गरेको ओलीले सुनाउनुभयो ।

प्रकाशित मिति : बैशाख १०, २०८१ सोमबार  ४ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]