बैशाख २२, २०८१ शनिबार

आज १८ औँ लोकतन्त्र दिवस : दलहरु सत्ता स्वार्थमा केन्द्रित

काठमाण्डौ – आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापित गरेकाले नागरिकको जित भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गर्नुभयो ।

२०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसैको जगमा वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा चुनाव भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत अन्त्य ग¥यो ।

२०७० मङ्सिर ४ गते दोस्रो संविधानसभा चुनावबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । अहिले तीन तहका सरकार छन् । सङ्घीय, प्रादेशिक र पालिका सरकारले शासन सञ्चालन गरेका छन् ।

यो परिवर्तनको मुख्य जग वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । तर लोकतन्त्रको उपलब्धि महत्वपूर्ण रहे पनि नागरिकमा निराशा र असन्तुष्टि बढेको छ । दलहरु नागरिकको समस्या समाधानमा भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लाग्दै आएको छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ यो बीचमा धेरै सकारात्मक उपलब्धि हुँदा हुँदै पनि केही विकृत्ति देखिएका बताउनुहुन्छ । तर पनि लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले विकृतिलाई हटाउँदै अघि बढ्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : बैशाख ११, २०८१ मंगलबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]