बैशाख २१, २०८१ शुक्रबार

झापा र इलामका सीमा नाका ७२ घण्टा शिल

झापा  । आज साँझ ६ बजेदेखि झापा र इलामका सीमा नाका ७२ घण्टाका शिल हुने भएको छ । छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् बैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदान हुँदैछ ।  दोस्रो चरणमा नेपालको सीमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किशनगञ्ज जिल्लामा एकै दिन मतदान हुँदैछ ।

सीमा नाका जोडिएका जिल्लाहरूमा मतदान हुने भएपछि भारतीय सुरक्षा निकायको आग्रह बमोजिम मतदानको ७२ घण्टे अघिदेखि सीमा नाका शिल गर्न लागिएको जनाइएको छ । इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका बन्द हुने भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरी सीमा नाका शिल गर्न लागिएको बताए । झापा दुई वटै राज्यले छाएको जिल्ला हो ।

आज साँझ ६ बजेदेखि जिल्लाका सबै नाका शिल गरिने बताउँदै उनले भने, ‘अतिआवश्यक काम बाहेक नाकाबाट वारपारमा पूर्ण निषेध हुन्छ, मतदानका दिन भने कुनै प्रकारको आउजाउ गर्न पाइने छैन ।’  मतदान सकिए लगतै सोही दिन साँझ ६ बजेदेखि सीमा खुला हुने उनले बताए । अप्रिल २६ मा पश्चिम बङ्गालको दार्जिलिङसहित रायगञ्ज र बालुरघाटमा  मतदान हुन लागेको छ । त्यस्तै विहारको किशनगञ्जसहित पूर्णिया, कटिहार, भागलपुर र बाँकामा मतदान हुन लागेको जनाइएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०८१ मंगलबार  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]