बैशाख २२, २०८१ शनिबार

‘सामूहिक सहकार्यले मात्रै विद्यालय बन्न सक्छ’

शेरबहादुर श्रेष्ठ
प्रधानाध्यापक, मोहनमाया मावि

झापाको बिर्तामोडमा रहेको मोहनमाया मावि उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा स्थापित छ । यसले बिर्तामोड नगरपालिकाको शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यहाँको सफल विद्यालय मोहनमाया माविको नेतृत्व अहिले प्रधानाध्यापक शेर बहादुर श्रेष्ठले गरिरहेका छन् । त्यसअघि विन्दु श्रेष्ठले विद्यालयको नेतृत्व गर्नुभएको थियो ।

सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका वर्तमान प्रधानाध्यापक शेर बहादुर श्रेष्ठले सहयोग, सहकार्य, विश्वास र आपसी एकताले विद्यालयलाई सफल बनाउन सकिने बताएका छन् । उनले शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, दाता र शुभेच्छुकबीचको सहकार्यले सामुदायिक विद्यालय सफल बन्ने बताए । उनले पछिल्लो समय सामुदायिक विद्यालयमा आकर्षण बढ्दै गइरहेको जानकारी दिए । जहाँ शिक्षक, विद्यार्थी र अभिभावकको मेहनत छ, त्यहाँको सामुदायिक विद्यालयमा पनि आर्कषण बढेको उनको भनाई छ । स्थानीय तहको सहयोग र विद्यालय परिवारको मेहनत भएमा सामुदायिक विद्यालयलाई आम अभिभावकको आकर्षणको केन्द्र बनाउन सकिने उनको धारणा छ ।

व्यवस्थापन समितिदेखि शिक्षक, विद्यार्थीको मेहनत भएमा सामुदायिक विद्यालउ सुधार गर्न कुनै समस्या नहुने उनको तर्क छ । त्यसका लागि सामूहिक सहकार्य अनिवार्य छ ।

उनले सबै सामुदायिक विद्यालयको विकास आवश्यक रहेको बताएका छन् । सामुदायिक विद्यालय सुधारमा स्थानीय सरकार पहिलो जिम्मेवार निकाय हो । शिक्षा समितिले विद्यालयहरुको समस्या पहिचान गरेर सम्बन्धित पक्षसँग बसेर समाधान खोज्नुपर्छ । त्यसो गर्न सकेमा कुनै पनि सामुदायिक विद्यालय कमजोर नहुने प्रअ श्रेष्ठले प्रतिक्रिया दिए । उनले कार्ययोजना निर्माण र त्यसको कार्यन्वयन गर्न सकेमा विद्यालय स्थापित हुने बताए ।

धेरै विद्यालयहरुमा भौतिक पूर्वाधार र विषयगत शिक्षकको अभाव भएका कारण पनि समस्या आइरहेको जानकारी दिए । त्यस प्रकारका समस्या समाधान गरेर जान जरुरी छ ।

बिर्तामोड नगरपालिकाले विद्यालय सुधारका लागि शैक्षिक भ्रमण समेत गराएको थियो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको नेतृत्वमा भ्रमण गएको टोली बुटवलको कालिका मावि र पोखराको विन्ध्यावासिनी माविमा अनुभव आदान प्रदान गरिएको थियो । यसले स्थानीय सरकार नगरभित्रको शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउन चाहिरहेको स्पष्ट हुन्छ ।

प्रअ श्रेष्ठले स्थानीय तहले विद्यालयको सेवा क्षेत्र तोक्नुपर्ने, विद्यार्थी संख्याका आधारमा विषयगत शिक्षकको व्यवस्था मिलाउनुपर्ने, अभिभावकहरुका बीच जागरण सञ्चालन गर्नुपर्ने र टोल विकास संस्थाहरुलाई सक्रिय बनाउनुपर्ने बताए ।

मोहनमाया मावि शिक्षकको कार्यक्षमता, अनुभव, लगनशिलता, इमान्दारिता, समयको पालनाले सफल भएको हो । कुनै पनि काम गर्दा सामूहिक बैठक बसेर योजना कार्यान्वयनमा जाने र कसैले अवरोध नगर्ने, एकले अर्कोलाई सहयोग गर्ने गरेकै कारण सफल भएको छ । सामूहिक सहकार्य नभएसम्म कुनै पनि विद्यालय सफल नहुने भन्दै उनले विद्यालय बनाउन ठुलो त्यागको खाँचो पर्ने बताए ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]