जेष्ठ ५, २०८१ शनिबार

माछापछि दुध र मासुमा आत्मनिर्भर बन्दै बिर्तामोड

पशुपालनले महिलालाई आत्मनिर्भर बनायो

झापाको बिर्तामोड नगरपालिकाले पशुपालनमा नागरिकको आकर्षण वृद्धि गर्नका लागि विभिन्न प्रवद्र्धन मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रवद्र्धन र विविधीकरण कार्यक्रम सञ्चालन गरिरहेको बिर्तामोड नगरपालिकाको पशु तथा मत्स्य विकास शाखाले पशुपालनमा आकर्षण बढेको जनाएको छ ।

मेयर पकेट कार्यक्रम अन्तर्गत बिर्तामोडले बंगुर प्रवद्र्धन, बाख्रा प्रवद्र्धनपछि माछा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो चरणमा बंगुर साटासाट कार्यक्रम सञ्चालन गरिएको थियो । दुई वर्षदेखि बाख्रा साटासाट कार्यक्रम सञ्चालन भइरहेको छ । बिर्तामोड नगरपालिकामा असाध्यै सफल भएको बाख्रा साटासाट कार्यक्रमले गरिव, विपन्न महिलालाई आत्मनिर्भर बनाएको छ । दलित, आदिवासी, जनजाति महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको बाख्रा साटासाट कार्यक्रमले घरको खर्च धान्न थालेको शाखा प्रमुख सावित्रा दाहालको भनाई छ ।

बिर्तामोड नगरपालिकामा १५ वटा कृषक समूहले पशु पालन गरिरहेका छन् । हरेक वर्ष दुई वटा समूह थप गर्दै जाने नगरपालिकाको नीति छ । बाख्राले पाठापाठी जन्माएपछि नगरपालिकाले अर्को समूह बनाएर दुई समूहलाई बाख्रा वितरण गर्ने गरेको छ । एक समूहमा आवद्ध १५ जना किसानलाई ३-३ वटा बाख्राका पाठा वितरण गरिन्छ । समूहलाई एउटा विऊ बोका उपलब्ध गराउदै खोर निर्माणमा पशु तथा मत्स्य विकास शाखाले सहयोग गर्ने गरेको छ । एक समूहका किसानलाई १५ वटा खोर निर्माण गर्दा ५ लाख २५ हजार लगानी हुने गरेको छ । बाख्रा पनि करिव २ लाख ५० हजार बराबरको वितरण गर्ने गरिएको छ । एउटा समूहलाई एउटा बोयर बोका ७० हजार बराबरको किसानलाई उपलब्ध गराइन्छ ।

त्यसरी बाख्रा पाउने किसानले बाख्रा ब्याएपछि फेरि त्यसरी नै एक-एक थान बाख्रा नगरपालिकालाई फिर्ता गर्नुपर्छ । फिर्ता भएको बाख्रा नगरपालिकाले त्यसैगरी समूह निर्माण गरेर किसानलाई दिनेछ । यो वर्षेनी सञ्चालन हुने कार्यक्रम हो । खोर, गोठ निर्माणसँगै रोग किरा नियन्त्रणका लागि वर्षभर उपचार सेवामा समेत सहयोग गर्ने शाखाले वीमा समेत गरिदिने गरेको शाखा प्रमुख दाहालले बताइन् । उनका अनुसार जुका नाम्लेको औषधिसहित घाँसमा समेत सहयोग गरिन्छ । बाख्राको पाठा फिर्ता नभईञ्जेलसम्म घाँस, औषधि, उपचार, वीमा, प्राविधिक सहयोग समेत गरिन्छ ।

पशु तथा मत्स्य विकास शाखाले माछा प्रवद्र्धनमा १४ लाख लगानी गरेको छ । उपकरण, क्षेत्र विस्तार र सीप तालिम सञ्चालनमा उक्त बजेट खर्च गरेको उनको भनाई छ । बिर्तामोड नगरपालिकामा माछा प्रवद्र्धन कार्यक्रम सफल भएको छ । उनका अनुसार माछामा बिर्तामोड नगरपालिका आत्मनिर्भर भइसकेको शाखा प्रमुख दाहालको भनाई छ । उनले माछा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि किसानमा माछा पालनमा उत्साह समेत बढेको छ । नगर क्षेत्रका माछा पोखरीहरुमा लाखौं माछा हुर्किनका लागि नगरपालिकाको पनि योगदान रहेको उनको भनाई छ । किसानलाई माछा पालनमा प्रेरित गर्न स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइरहेको दाहालले बताइन् ।

बिर्तामोड नगरपालिकाले पशुको रोग मान्छेलाई, मान्छेको रोग पशुलाई नसरोस् भनेर त्यससँग सम्बन्धित रोग नियन्त्रणका लागि समन्वय गरिरहेको छ । पशु स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै स्वस्थ्य पशु हुर्काउन शाखाले सहयोग गरिरहेको बताईएको छ । नगरपालिकाले विभिन्न चरणमा १८ सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेको छ ।

बिर्तामोडका किसानका लागि आयआर्जनमा पशुपालन प्रभावकारी बन्न थालेको छ । विगतमा पशु पालनमा अनाकर्षण थियो । अहिले आकर्षण बढ्दै गइरहेको छ । घर व्यवहार धान्नका लागि पशुपालनले ठुलो मद्दत पुराइरहेको उनको भनाई छ ।

यस्तै, नगर क्षेत्रका किसानले पालिरहेको करिव १ हजार गाईको वीमा गरेको शाखाले दुधको बजारिकरण तथा विविधीकरण कार्यक्रम अन्तर्गत चिलिङ भ्याट (चिस्यान मेसिन) वितरण गरेको छ । दुधलाई लामो समयसम्म राख्दा पनि नविग्रियोस् भन्ने हेतुले चिस्यान मेसिन उपलब्ध गराइरहेको हो ।

उपचारसहित विभिन्न प्राविधिक सहयोगको क्षेत्रमा समेत सहयोग गर्दै आएको पशु तथा मत्स्य विकास शाखाले २६ विगामा साइलेसका लागि मकै लगाएको छ । गोवर परीक्षण, कृतिम गर्भाधान, पशु बन्ध्याकरण र नश्ल सुधारका कार्यक्रम नियमित रुपमा सञ्चालन गरिहरेको शाखाले जनाएको छ ।

माछामा आत्मनिर्भर भइसकेको बिर्तामोड नगरपालिकामा दुध र मासुमा आत्मनिर्भर बन्ने क्रममा छ । यसअघि बंगुर पालनमा समेत बिर्तामोडले राम्रै प्रगति हासिल गरेको थियो । तर, बिचमा बंगुरमा रोग देखिएपछि धेरै नै नोक्सान व्यहोर्नु परेको थियो । नोक्सान भएका कारण बंगुर पालन केहि मात्रामा खस्किएको छ । अब, किसानले लोकल जातका बंगुर पालन गर्ने तयारी गरिरहेको शाखा प्रमुख दाहालको भनाई छ ।

लोकल कुखुरा साटासाट कार्यक्रम पनि सञ्चालन गरेको बिर्तामोड नगरपालिकाले बाख्रा र बंगुरमा मात्रै सफलता मिलेको जनाएको छ । साटासाट कार्यक्रममा बाख्रामा मात्रै सोचे अनुरुपको उपलब्धी हासिल गरिएको छ । कुखुरा साटासाट कार्यक्रम पूर्णतयः असफल भएको छ । किसानले हरेक वर्ष ९० वटा बाख्रा र प्रति समूह एउटा बोका उपलब्ध गराउने गरिएको छ । शाखाले समूह र समूहभन्दा बाहिर पनि खोरेत निवारणका लागि खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । खोरेतका कारण पूर्वमा दुग्धजन्य उत्पादनको विक्रि वितरणमा समेत समस्या भइरहेको छ । त्यसैले सरकारले पनि खोरेत निवारणका लागि खोपलाई बृहत रुपमा सञ्चालन गरिरहेको छ ।

जनशक्तिको अभावका बीचमा पनि खोप कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ । जनशक्तिकै कारण कार्यक्रमलाई उल्लेख्य मात्रामा सञ्चालन गर्न नसकेको बुझिएको छ ।

संघीयताका कारण पशु पालनमा समेत आकर्षण छ । संघीयतामा सबैभन्दा प्रभावशाली सरकार मानिएको स्थानीय तहले पशु पालनमा गरिरहेको लगानीका कारण किसानको संख्या बढ्दो छ । सामान्य सहयोग हुँदा पनि किसानले पशुपालनमा मेहनत गरिरहेका छन् । किसानले मेहनत गर्ने, प्राविधिक सहित अन्य सहजीकरण पालिकाले गर्ने भएपछि पशुपालनको क्षेत्रमा नयाँ उर्जा देखिएको छ । स्थानीय तहबाट किसानको घरसम्म पुग्ने जनप्रतिनिधि र कर्मचारीको सहयोगले किसान मेहनत गर्न तयार देखिन्छन् ।

मिल्क क्यानदेखि ‘काऊ म्याट’ सम्म वितरण गरिरहेको स्थानीय तहबाट किसानले साइलेस बनाउने हार्वेस्टर उपलब्ध गराइरहेको नगरपालिकाले औषधि उपचारसम्मको रेखदेख गरिरहेको छ । स्थानीय सरकार पशुपालनको क्षेत्रमा परिणाम निकाल्न खोजिरहेको बेला किसानले समेत सोही अनुसारको परिश्रम गरिरहेका छन् । ५० प्रतिशत साझेदारीमा बंगुर र बाख्रा पालनका लागि खोर निर्माण समेत सहयोग पुगिरहेको छ ।

पशुपालक किसानले स्थानीय सरकारसँग नश्ल सुधार निशुल्क हुनुपर्ने माग गर्दै आएका छन् । सेक्सिमेनदेखि अन्य प्राविधिक सुविधा खोजिरहेका किसानलाई शाखाले नाम्ले, जुकाको औषधि समयमा उपलब्ध गराएर ठुलै राहत हुने अपेक्षा गरिएको छ । – बिर्तामोड सेरोफेरो

प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार  १२ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]