गायकदेखि निर्देशनको यात्रामा प्रकाश सपूत, ‘वसन्त’मा ल्याउँदैछन् उत्पीडनको कथा
एकराज प्रधान
समाजलाई केन्द्रमा राखेर परिवर्तनको भाका बोल्ने चर्चित गायक हुन् प्रकाश सपूत । नेपाली सांगीतिक क्षेत्रमा उनी एक सुपरस्टार हुन् । आफूले लेखेका हरेक गीतलाई उनले फरक ढङ्गमा म्युजिक भिडियोमार्फत दर्शकमाझ ल्याइरहेका छन् ।
प्रकाश सपूतका गीतहरुलाई दर्शकले खुब रुचाएका छन् । गीतसँगै रचिएको कथाहरुमा धेरै दर्शकले आँशुको बगाएका छन् ।
उनले ‘बोल माया’ गीतमा परदेशको पीडा लेखे । परदेशमा जीवन गुमाउनेहरुको व्यथा लेखे । रित्तो गाउँ अनि परदेशीलाई पर्खिएर बसेकाहरुको रोदन सुनाए ।
त्यसपछि बोलमायासँगै कथा जोडिएको ‘गलबन्दी’बाट श्रोता-दर्शकलाई छमछमी नचाए । त्यसकै अर्को भागका रुपमा दमाइ महाराज ल्याए । जसमा उनले भनेका छन्, ‘कुनै जात घरभित्र वा मन्दिर पस्तैमा भगवान बिटुलो हुँदैनन् ।’
उनको अर्को गीत ‘पीर दियो’ बोलको गीतले देश बदल्छु भनेर युद्धमा होमिएकाहरुको कथा बोल्यो । केही सिप नलागेपछि अन्त्यमा विदेशिन बाध्य हुनु परेको दृश्य हेर्नु पर्दा दर्शकको मुटु नै चुँडिएजस्तो हुन्छ । टाठोबाठोको राज र निमुखाको बाध्यता देखाइएको यो गीतको अन्त्यमा उनले प्रश्न गरेका छन् – आखिर देश भनेको के हो ?
त्यस्तै उनको अर्को गीत ‘सकम्बरी’मा नारीहरुलाई पुरुषप्रधान समाजले हेर्ने दृष्टिकोणलाई छर्लङ्ग पारेका छन् । नारीहरु पुरुषबाट कतिसम्म पीडित छन् र समाजले उनीहरुलाई कुन नजरबाट हेरेको छ भन्ने कुरालाई भिडियोमार्फत् बुझाउन खोजेका छन् । एउटी फूलमाया कसरी सकम्बरी बनिन् भन्ने कथा गीतमा रहेको छ । ‘कल्ले किन्दियो ?’ भन्ने बोलको यो गीतले पुरुषप्रधान समाजलाई व्यङ्ग्य गरेको छ ।
‘मेरो पनि होइन र यो देश’ जस्ता गीतबाट गहकिला कुरा उठाएर लोकप्रिय बनेका सपूतले एउटा नयाँ चलचित्र लेखेका छन् । भर्खरै उनले आफ्नो पहिलो चलचित्रको टाइटल पनि अनाउन्स गरेका छन् – बसन्त ।
बागलुङको धम्जामा एक दलित परिवारमा जन्मिएका प्रकाश सपूतले यो चलचित्रमा दलितले भोग्नु परेको असह्य पीडालाई लेखेको कुरा उनले सार्वजनिक गरेको भिडियोले महसुस गराउँछ ।
भिडियोमा सुरुमा प्रकाशले डाइरी र कुपीको दृश्यसँगै लेख्नुको अर्थ बुझाउँछन् । ड्रोनले सलल उडेर एउटा पहाडी गाउँ र्पुयाउँछ । सिनसँगै गुञ्जिन्छ, ‘जीवन पीरको भरिया…’ । त्यसपछि आरन तान्दै गरेका कमलमणि नेपाल देखिन्छन् । जो आफ्नो छोरोको कुरा प्रकाश घिमिरेलाई सुनाउँदैछन् ।
रातो डायरी देखिन्छ, उनका छोरोको रुपमा देखिने प्रकाश सपूतले एउटा ओझिलो कविता सुनाउँछन् । जसमा उनले दलित भएकोमा समाजले दिएको व्यथालाई सुनाएका छन् । चलचित्रमा सानो सानो दृश्यहरुलाई पनि निक्कै महत्वका साथ छायांकन गरिएको छ । ती दृश्यहरुलाई केवल आँखाले मात्रै हेर्दैन, पात्रहरुको पीडालाई मनले महसुस गर्छ । यसकारण पनि उनकै निर्देशनमा बन्न लागेको यो फिल्म यो वर्षकै बहुप्रतिक्षित बन्ने देखिन्छ ।
भिडियोमा लेखकको पछाडि झुन्ड्याइने उपनाम बारे अनुप बराल सहितले गर्दै गरेको छलफलले निकै गम्भीर व्यङ्ग्य गरेको छ । दलितको थर लुकाउन एउटा लेखकले उपनामको सहारा लिनु पर्ने ? भन्ने सवाल दृश्यले गर्छ । सामान्य कुरालाई पनि मौलिकताबाट मजाकिलो बनाउँदै प्रकाश सपूत सोध्छन्, ‘कसैको नाम उसको काम भन्दा ठूलो हुन्छ र ?’
कापीको पानामा वर्ण र व्यवस्थाले सदियौँदेखि न्याकिएको एउटा तप्का लेखिएर, त्यसको छोटो रुपबाट टाइटल बन्छ । सपूतको यो सिर्जनशीलतालाई तारिफ नगरी रहनै सकिन्न ।
यो फिल्ममा प्रकाश सपूतलाई जोडीका रुपमा साथ दिँदैछिन् चर्चित नायिका स्वस्तिमा खड्काले । जमेट्री बक्समा बसन्त प्लस शान्ति लेखिएको एउटा दृश्यले स्कूल छाडेकाहरुलाई फेरि स्कूलका दिनहरु सम्झाइदिन्छ । अनि लास्टमा पानामा टाँसिएको फोटो, रुखमा खोपिएको शान्ति प्लस वसन्त लेखिएको दृश्यले त्यो समयलाई यथार्थमा भोग्नेहरुलाई आफ्नोपन फिल गराइदिन्छ ।
‘वसन्त’ उत्पीडन भोगेको एउटै समाजको छुट्टै कथा हो । प्रकाशले भनेका छन्, जात र समाजभन्दा माथि रहेको एउटा जिद्दी प्रेमको कथा हो । गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मको कथा संगीत र निर्देशन प्रकाश सपुत आफैँले गरेका हुन् । चलचित्रको कार्यकारी निर्माताका रुपमा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।
परदेशी-२ बाट हिरो बन्न खोजेका उनलाई दर्शकले नायकका रुपमा खासै स्वीकारेनन् । परदेशी बनेर जम्न नसके पनि वसन्त भएर उनी फेरि दर्शकमाझ आफ्नो परीक्षा दिन फर्किएका छन् ।
कथा आफ्नै, निर्देशन आफ्नै अनि लिडरोल पनि आफ्नै । आशा छ, उनी यसपालि सफल हुनेछन् । चलचित्रको रिलिज डेट २०८१ को चैते दशैं राखिएको छ ।