असार ३, २०८१ आईतबार

शिवसताक्षीको नगर गौरवका आयोजनाहरु अन्तिम चरणमा

रिङ रोड
शिवसताक्षी नगरपालिकाले पहिलो कार्यकालको प्रथम नगरसभाबाट नगरको गौरवको आयोजनाको रुपमा रिङ रोडको अवधारणा ल्याएको थियो । सोहि अवधारणा बमोजिम शिवसताक्षी नगरपालिकाले नगर रिङ रोड निर्माण गरिरहेको छ । पहिलो कार्यकालपछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुले पनि नगर गौरवको आयोजनाको रुपमा रहेको रिङ रोड निर्माणलाई प्राथमिकता दिएका छन् ।

सबै वडामा पुग्ने गरी रिङ रोड र नगरपालिकासँग नजोडिएका वडालाई सिधैं नगरसम्म जानका लागि लिंक रोड निर्माण गरिएको छ । वडा नं. १० का नागरिकहरु घुमेर आउनुपर्ने स्थिति थियो । त्यस्तै समस्या धेरै वडामा थियो । जसलाई ट्रंक तथा लिंक रोडले सहज बनाएको छ ।

नगर रिङ रोडमा पूर्वपश्चिम लोकमार्ग र शिवगञ्ज–व्याङडाँडा रोड बाहेक कालोपत्रे गर्ने गरि काम भइरहेको छ । आफ्नै स्रोतबाट निर्माण गर्ने लक्ष्य रहेको रिङ रोडको ३९ किमिमध्ये ११ किमि सडक निर्माणको काम बाँकी रहेको सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार वडा नं. ९ र १० मा पर्ने सडकमा कालोपत्रे बाँकी रहेको छ । यसै आर्थिक वर्षमा व्याङडाँडादेखि झरना पुलसम्म कालोपत्रे गरिएको छ ।

स्थानीय नागरिकलाई आवातजावतमा सहज पहुँच होस् भन्ने उद्देश्य निर्माण गरिएको रिङ रोडले गाउँलाई शहरसम्म सहजै जोड्ने काम गरेको छ । माइधार–धरमपुर, दक्षिणमा मंगलवारे–घेरावारी, कमल पुल–पाँचगाछी बजार हुँदै बुलोचोकबाट वडा नं. ४ र ५ हुँदै शिवगञ्ज जोडिएको सूचना अधिकारी चौधरीले जानकारी दिए । उनले शिवगञ्जबाट व्याङडाँडा पूर्व झरना पुल हुँदै चिल्लागढ–नहरसम्म जोडिने बताए । यस्तै, ट्रंक रोड शुक्रवारेदेखि नगरपालिका, मंगलवारे देखि नगरपालिका जाडिएको उनको भनाई छ । नगरपालिकाले ४ वटा लिंक तथा ट्रंक रोडको लक्ष्य राखेको थियो ।

हरेक वर्ष सडकमा दुख सास्ती भोग्नुपर्ने, वर्खामा आवतजावत गर्न नै समस्या हुने र सडकको समेत स्तरोन्नति हुने भएकाले ६० फुटे रोड निर्माण गरिएको हो । हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको सूचना अधिकारी चौधरीले जानकारी दिएका छन् । उनले बजेट अभावका कारण २५ प्रतिशत काम रोकिएको बताए ।

कृषि बजार
शिवसताक्षी नगरपालिकाले वडा नं. ६ कृषि थोक बजार निर्माण गरिरहेको छ । कृषि क्षेत्रमा क्रान्ति गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको कृषि मण्डीको खुद्रा बजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । खासगरी स्थानीय किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले १ विगाह १० कठ्ठा क्षेत्रफलमा उक्त परियोजनाको निर्माण गरिरहेको बताइएको छ । सूचना अधिकारी प्रकाश चौधरीका अनुसार कृषि मन्त्रालय अन्तर्गत कृषि विभागले कृषि मण्डी निर्माणमा लगानी गरेको छ ।

३५ लाखको डिपिआर गरेर विभागले १२ करोडको लागत अनुमान गरेको थियो । डिपिआर अनुसार २०७७ बाट निर्माण सुरु गरिएको परियोजनाको दुई संरचनामध्ये एउटा संरचना निर्माण सम्पन्न भइसकेको छ । ०७८ मा १ करोड ६० लाख नगद प्राप्त भएपछि नगरपालिकाले निर्माणको काम थालेको थियो । कृषि मण्डीको खुद्रा बजारमा किसानलाई खुद्रा ब्यापारमा सहयोग गर्ने उद्देश्यले निर्माण गरिएको छ भने अर्को कृषिथोक बजारको काम बाँकी छ । सडकको दक्षिण क्षेत्रमा १० कठ्ठा जमिन छ । जहाँ खुद्रा बजार निर्माण अन्तिम चरणमा पुगिसकेको छ भने उत्तर तर्फ १ विगाह क्षेत्रफल छ । जहाँ, बृहत परियोजना निर्माण गर्ने योजना छ । सो जमिनमा कृषिथोक बजार निर्माण हुनेछ । कृषिथोक बजार सुविधा सम्पन्न हुनेछ । त्यहाँ बजारसँगै पार्किङ, चिस्यान र ड्रायस मेसिन समेत व्यवस्थापन गरिने सूचना अधिकारी चौधरीले जानकारी दिए । हालसम्म नगरपालिका र मन्त्रालयको समेत लगानीबाट संरचना निर्माण भइरहेको छ भने बाँकी संरचना पनि नगरपालिका समेतको लगानीमा निर्माण गरिनेछ ।

बजार अभावका कारण किसानले कृषि उत्पादनलाई प्राथमिकता नदिएको निष्कर्षसँगै नगरपालिकाले कृषि क्षेत्रमा व्यापक उत्साह सिर्जना गर्नलाई कृषि बजारको परियोजना परिकल्पना गरिएको थियो । उत्पादनका दृष्टिले पर्याप्त संभावना भएर पनि भारतबाट तरकारी समेत आयात गर्नुपर्ने परिस्थितिले गर्दा स्थानीय उत्पादनमा टेवा पुर्याउने उद्देश्यले बजार निर्माणको काम जारी छ । स्थानीय उत्पादनलाई स्थानीय बजारसम्म लैजान व्यवस्थित बजार समेत भएका कारण बन्दै गरेको परियोजनाले किसानलाई ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बजार निर्माण पश्चात नगरपालिकासमेतको आम्दानी हुने गरी बजार सञ्चालन गरिनेछ । त्यसका लागि बजार सञ्चालक समिति समेत बनाइनेछ । कार्यविधि अनुसार सञ्चालन गरिने बजारको नेतृत्वमा नगर र वडा समेतको सहभागिता रहनेछ । बजारको आम्दानी बजारमै लगानी गरिन्छ, चौधरीले भने – बजार निर्माणले दक्षिण क्षेत्रका किसानहरु लाभान्वित हुनेछन् ।

स्थानीय उत्पादन प्रवद्र्धन र आयात न्यूनिकरणमा बजार निर्माणले ठुलो सहयोग हुने बताइन्छ । चौधरीका अनुसार बजार व्यवस्थित भएपछि किसानले कृषि उत्पादनमा मेहनत गर्नेछन् र भारतमा समेत निर्यात गर्ने छन् । कृषि क्षेत्रको विकासमा मल विउ, प्राविधिक तालिम समेत दिइरहेको अवस्था छ । किसानको जीवनमा परिवर्तन ल्याउन सक्ने परियोजनाले कृषि छोड्दै गरेका किसानलाई फेरि कृषिमै आकर्षित गर्नेमा विश्वास छ, चौधरीले थपे ।
कृषि मण्डीको खुद्रा बजार निर्माण ९५ प्रतिशत प्रगति हासिल भइसकेको छ । अबको दुई महिनाभित्र क्यान्टिन र टायल लगाइसकेपछि आगामी वर्षबाट बजार सञ्चालन हुनेछ ।

नगर अस्पताल
नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटिएको नगर अस्पताल अन्तिम चरणमा पुगेको छ । वडा नं. ६ मा रहेको स्वाथ्य चौकीलाई स्तरान्नतिका लागि नयाँ भव्य भवन निर्माण सकिएको छ । अब, विधुत, पानी र कोठाहरुको व्यवस्थापन मात्रै बाँकी छ । डिपिआर अनुसार १७ करोडमा ठेक्का लागेको भवन १० करोड ६७ लाखमा ठेक्का गरेर निर्माण व्यवसायीहरुले काम गरेका छन् । नगर अस्पतालको काम ८५ प्रतिशत पुरा भइसकेको छ । बाँकी काम सकेर यसै आर्थिक वर्षमा निर्माणको काम पुरा गर्नुपर्नेछ । सोहि अनुसारको तयारी पनि व्यापक रुपमा भइरहेको छ ।

विद्यालयले प्रदान गरेको १५ शैयाको नगर अस्पताल डेढ विगाहमा निर्माण गरिएको छ । सुविधा सम्पन्न भवन निर्माण पश्चात ३० जनाको दरबन्दी रहने गरी मन्त्रालयले संगठानात्मक स्वरुप पठाइसकेको छ । ४ जना मेडिकल अधिकृत , नर्स तथा अन्य स्वास्थ्यकर्मीले अस्पतालबाट सेवा दिनेछन् । विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको नगर अस्पतालबाट २४ घण्टा सेवा उपलब्ध गराउने सूचना अधिकारीले जानकारी दिए । उनले नीति कार्यक्रम अनुसार ५, १० र १५ शैयाका अस्पताल निर्माण भइरहको छ ।

गौरादह, गौरीगञ्ज, शिवसताक्षी, झापा गाउँपालिकाका नागरिकहरु पनि अस्पताल सञ्चालन पछि उपचारका लागि आउने छन् । सुविधा सम्पन्न अस्पताल निर्माण नहुँदा धेरै नागरिकहरु ठुलो खर्च गरेर बाहिर नै उपचार गर्न बाध्य भइरहेका छन् ।

नगरका ११ वटै वडामा स्वास्थ्य सेवा प्रदान गरिरहेको उनको भनाई छ । नयाँ अस्पताल सञ्चालनमा आएपछि अन्य क्षेत्रबाट पनि उपचारका लागि विरामीहरु आउनेमा अस्पताल परिवार ढुक्क रहेको छ । नगर अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि बाहिर जानेहरु आफ्नै गाउँमा आउने छन् । ठुलै समस्या बाहेक नागरिकहरु नगर अस्पतालमा उपचारका लागि आउनेमा नगरपालिका, वडा कार्यलयको नेतृत्व विश्वस्त छ । शिक्षा, स्वास्थ्य र भौतिक पूवार्धारसँगै नगरपालिकाले नगर अस्पताललाई विशेष ध्यान दिएको छ । नगरवासीकै आग्रह अनुसार स्थापना गरिएको नगर अस्पतालले पालिकाको दक्षिणी भागलाई समेट्ने छ । आधारभुत देखि ठुला समस्याहरुको समेत समाधान गर्न सक्ने नगर अस्पताल नगरको अर्को गौरवको आयोजना हो । जो निर्माणको अन्तिम चरणमा पुगेको छ । र, सबै नगरवासी सञ्चालनको व्यग्र प्रतिक्षामा बसेका छन् ।

खेल मैदान तर्फ
खेलाडीहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि नगरपालिकाले खेल मैदान निर्माणलाई पनि प्राथमिकता दिएको छ । स्वास्थ्यका लागि खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने भएपछि यतिवेला नगरपालिकाले खेल मैदान निर्माणदेखि प्याराफिट निर्माणसम्मको काम गरिरहेको छ । राम्रो र व्यवस्थित खेल मैदान निर्माणका लागि नगरपालिकाले ४० लाख लगानीमा दुधेको रंगशालामा प्याराफिट निर्माण गरिरहेको सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिएका छन् ।

चारैतिरबाट कम्पाउण्डको काम सम्पन्न गरिसकिएको छ भने अहिले धमाधम प्याराफिट निर्माणको काम चलिरहेको छ । खेल मैदानको सुरक्षा र संरक्षणका लागि ध्यान नपुग्दा गौचरणमा परिणत भएको मैदान अहिले व्यवस्थित हुदै गइरहेको छ । त्यसका लागि नगरपालिकाले योजनावद्ध ढंगले काम गरिरहेको छ ।

६ विगा क्षेत्रफलमा रहेको दुधे खेल मैदानमा यसै आर्थिक वर्ष प्याराफिट र स्टेज निर्माणको काम सम्पन्न गर्ने योजना छ । दर्शकलाई खेल हेर्नका लागि सहजता होस् भन्ने उद्देश्यले निर्माण भइरहेको मैदान बहुवर्षे योजना अनुसार काम अघि बढेको हो । पालिका, प्रदेश र केन्द्र सरकारको समेत सहयोगमा मैदान निर्माणको काम सक्ने तयारी छ ।

दुधे मात्र होइन नगरमा रहेको झिलझिले खेल मैदान, डुडाबारी खेल मैदान, वडा नं. ३ र १० मा पनि खेल मैदान स्तरोन्नति तथा निर्माणको काम अघि बढाइएको छ । वडा नं.५ मा समेत खेलकुद गतिविधि बढेका कारण सो क्षेत्रमा पनि खेल पूर्वाधार निर्माणमा ध्यान पुगेको बताइएको छ । नगरका सबै वडामा खेल क्षेत्रको विकासमा पूर्वाधार निर्माण हुनुपर्ने लक्ष्यसहित काम भइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

यस्तै, पर्यटकीय गन्तव्यको रुपमा रहेको शिवसताक्षी नगरपालिकाले पर्यटन पूर्वाधार क्षेत्रमा लगानी बढाएको छ । पर्यटन क्षेत्रले धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सक्ने र आम्दानीको स्रोत समेत हुने हुँदा नगरपालिकाले प्राथमिकताका साथ पूर्वाधार निर्माणमा लगानी गरिरहेको छ ।

नगरमा रहेको दोमुखा, चिल्लागढ, सताक्षीधाम लगायतका पर्यटकीय एवम् धार्मिक गन्तव्यहरुमा लगानी बढाइरहेको छ । पर्यटकीय संरचनामा पूर्वाधार, जाने सडकहरु कालोपत्रे तथा स्तरोन्नति गरिएको छ भने दोमुखा प्रवेशद्वार र ब्लक लगाउने काम भएको बताइएको छ ।

नगरपालिकाले वडा कार्यालयहरु समेत भौतिक संरचनामा सम्पन्न हुनुपर्ने मान्यता अनुसार सबै वडाको कार्यालय निर्माण गरिएको छ । वडा नं. ८ को कार्यालय यसै वर्ष सक्ने तयारी गरिएको छ ।

नगरको रिङ रोडसँगै नगरपालिकाले व्यवस्थित बसपार्क समेत निर्माण गरिरहेको छ । वहुवर्षे योजना अनुसार निर्माण भइरहेको बसपार्क ३ विगा १७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । बसपार्कको टहरा निर्माणसँगै आवश्यक पूर्वाधार निर्माण गर्दै जाने चौधरीको भनाई छ । यो आर्थिक वर्ष बसपार्कका लागि बजेट नभएकाले आगामी वर्षबाट निरन्तरता दिने भनिएको छ ।

यो वर्ष नगरपालिकाले ५ किलोमिटर कालोपत्रे गरेको छ । व्याङडाँडा–झरना पुल, धरमपुर दक्षिण जाने सडक खण्ड कालोपत्रे गरिएको छ । धेरैजसो बजारको सडक कालोपत्रे र ब्लक विच्छ्याउने काम गरिएको छ ।

कृषकलाई व्यवसाय गर्न सक्ने बनाउनका लागि आवश्यक सहयोग गर्दै जाने नगरपालिकाको रणनीति छ । कृषकलाई प्रविधि तथा उपकरण तर्फ सहुलियतमा सहयोग गर्ने नगरपालिकाले आगामी दिनमा किसानमैत्री योजनाहरु ल्याउने जनाएको छ ।

निर्माणाधिन कृषिथोक बजारमा कृषिजन्य वस्तु सुकाउने, चिसो बनाएर राख्न सक्ने उपकरण जडान हुने छ । त्यहाँ किसानलाई सहयोग पुग्ने हिसावले सञ्चालन गर्ने बताइएको छ ।

यस्तै, शिवसताक्षी नगरपालिकाले ४ विगा ६ कठ्ठा जमिन खरिद गरेर ल्याण्डफिल्ड साइड निर्माण गरेको छ । सड्ने र नसड्ने फोहोर व्यवस्थित ढंगले डढाएर व्यवस्थित गरिरहेको गरिन्छ । अर्को वर्षसम्म सञ्चालन हुने उक्त परियोजना सञ्चालनको जिम्मेवारी माग गर्दै विभिन्न कम्पनीहरुले प्रस्ताव समेत पेश गर्दै आएका छन् ।

– शिवसताक्षी सरोफेरोबाट

प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]