गिरीबन्धुका चिया मजदुर भोक खप्न नसकेपछि राहत संकलनमा
बिर्तामोड । गिरीबन्धु टि स्टेटमा कार्यरत चिया मजदुरले पारिश्रमिक नपाएपछि राहत संकलन सुरु गरेका छन् । चिया मजदुर सावित्रा पौडेलले आज बिर्तामोडको नयाँ बसपार्क क्षेत्रमा खाद्यन्न सहित राहत संकलन गरिएको जानकारी दिइन् ।
अढाई महिनादेखि काम गरेको पारिश्रमिक नपाएका मजदुरहरुले बाँच्नै कठिन भएपछि राहत संकलनमा लागेको पौडेलको भनाई छ । उनका अनुसार ४० जना मजदुर व्यानरसहित राहत संकलनमा पुगेका थिए । बसपार्क क्षेत्रबाट उनीहरुले नगद र खाद्यन्न संकलन भएको जानकारी दिएका छन् । मजदुर नेतृ पौडेलले १५ हजार बराबरको संकलन गरिएको बताइन् ।
चिया टिपेर दैनिक जीवन चलाउदै आएका मजदुरहरुले नियमित पारिश्रमिक नपाएको महिनौं भइसक्यो । पछिल्लो पटक अढाई महिनाअघिसम्मको ज्याला पाएका चिया मजदुरहरुले वृद्धबुबा आमा र बालबच्चाको विजोग भएपछि राहत संकलन गर्न बाध्य भएको चिया मजदुर नेता नारायण दर्जीले जानकारी दिए । उनका अनुसार मजदुरहरुले गत फागुन ३० गतेदेखि हालसम्म ज्याला पाएका छैनन् । ‘भोकै मर्नुपर्ने अवस्था आएकाले हात फैलाउन गएका हौं’ दर्जीले भने ।
दुःख विसाउन जाँदा भोक मेटाउने वातावरण बनेको मजदुरहरुको प्रतिक्रिया छ । करिव १५ हजारको राहत संकलन गरिएको पौडेलले भनिन्, अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनले पनि साँझमा चालम उपलब्ध गराउनु भएको छ । ९० परिवारलाई एक हप्ताको लागि खाद्यन्नको व्यवस्था भएको उनको भनाई छ ।
चिया बगान सञ्चालकहरुले आर्थिक मन्दीका कारण ज्याला दिन नसकेको प्रतिक्रिया दिदैं आएका छन् । ज्याला नदिएका कारण मजदुरहरु भोकभोकै बस्ने अवस्था आइलागेको छ ।
अहिले महिला चिया मजदुरहरु काममा समेत गइरहेका छैनन् भने पुरुषहरु मात्रै काममा भेटिने गरेका छन् । चिया मजदुरले दैनिक ५ सय ज्यालामा काम गर्दै आएका छन् ।