दूध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह
झापा । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएका छन् ।
विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौँदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताए ।
“दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,” उनले भने–“मैले थुप्रै व्यावसायिक किसानको गाई गोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु । किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उनले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताए । दुग्ध विकास संस्थानको भण्डारमा रु. एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उनले जानकारी दिए ।