शिक्षामा धेरै परिवर्तन ल्याउने हुटहुटी
वडाको संमृद्धिका लागि पाँच वर्षभित्र कुन–कुन क्षेत्रमा कसरी काम गर्ने योजनासहित वडा नं. २ क्रियाशिल छ । सोही बमोजिम चालु आर्थिक वर्षमा वडाले विकासका योजना सञ्चालन गरेको छ । आगामी वर्षहरुमा पनि वडाको योजना बमोजिम काम गर्ने वडाध्यक्ष किशोर कुमार पौडेलले जानकारी दिए । कामलाई प्राथमिकताका आधारमा वर्गीकरण गरिएको छ । कुन योजना वडा बजेटबाट गर्ने ? कुन नगरबाट, कुन प्रदेश सरकारबाट गर्ने र कुन संघीय सरकार मार्फत गर्ने भनेर छुट्याएर वडाले काम गर्दै आएको छ । वडाले दीर्घकालीन योजनाहरु पनि पहिचान गरेर वडा संमृद्धिको खाका कोरेको वडाध्यक्ष पौडेल बताउछन् ।
बिर्तामोड २ मा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि शिक्षा क्षेत्रमा परिवर्तन भएको पाउन सकिन्छ । शैक्षिक गुणस्तरको वृद्धिदेखि विद्यालयहरुको भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम भएका छन् । स्वास्थ्यको क्षेत्रमा वडाभित्र रहेको स्वास्थ्य चौकीलाई आफ्नै भवन मार्फत सेवा प्रदान गर्न थालिएको छ ।
बालबालिकामा लगानी गर्दा मात्रै भोलिको समाज राम्रो हुने विश्वासका साथ बिर्तामोड २ का जनप्रतिनिधिहरुले बालबालिकाको जीवनमा प्रभाव पार्न सक्ने कार्यक्रमहरु सञ्चालन गरेको पाइन्छ । वडाले बालमैत्री वडा बनाउन त्यसै अनुरुपको योजनाहरु अगाडि सारेको छ । वडाको बालबालिकाहरुको तथ्यांक संकलन गरिएको छ । बालबालिकाहरुको शैक्षिक, शारीरिक र मानसिक अवस्थाहरु तथ्याङ्क संलन गरी सफ्टवेर मार्फत व्यवस्थित गरिएको छ । उक्त तथ्यांक प्रत्येक वर्ष अपडेट गर्दै जाने र बालबालिकाहरुलाई सकारात्मक प्रभाव पार्ने योजना बनाउने काम गरिरहेको उनको भनाई छ ।
औधोगिक क्षेत्रको रुपमा रहेको वडामा धेरै ठूला चुनौतीहरु रहेको वडाध्यक्ष बताउँछन् । यहाँ रहेका अव्यवस्थित बाटाहरुमा धेरै भार बोकेर हिड्ने मालबहाक साधानहरुले गर्दा वार्षिक तीन पटकसम्म सडकहरु मर्मत गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा पनि नगरपालिका, वडा र व्यवसायीहरु मिलेर बाटाघाटाहरुलाई चुस्तदुरुस्त राख्ने प्रयास जारी रहेको वडाध्यक्ष पौडेलले जानकारी दिए ।
वडाध्यक्ष पौडेलका अनुसार ठूला बाटाहरुको हकमा पञ्चम् गाउँदेखि सूर्यनगर जाने बाटो कालोपत्रे गरिएको छ । गोकुल जोशी मार्गको दुवै तर्फ प्लम निर्माण भएर हाल सर्फेससम्मको काम अन्तिम चरणमा पुगेको छ । यस मार्गको ह्युम पाईपहरु हटाएर बक्स कल्भर्टहरु लगाई सकिएको छ । यसैगरी खिलोस्वरी मार्गलाई कालोपत्रेको अन्तिम चरणमा पु¥याएका छौँ । बानलाल मार्गमा कालोपत्रेको लागि भर्खरै ठेक्का लागिसकेको छ ।
हामीले प्लम तर्फ मिन मार्गमा सम्पन्न गरेका छौँ । यस्तै सहिद मार्गलाई छुने धेरै बाटोहरुलाई स्तरोन्नति गरेका छौँ । यस सडकको एक तर्फ पानीको ठूलो बहाब रहने भएकाले छ वटा बक्स कल्भर्ट निमार्ण गरेका छौँ । यस्तै बेलखाडीमा सधैभरी पानीले ह्युम पाईप बगाउने, बाँध फुटाउने समस्यालाई हामीले कल्भर्ट निर्माण गरेर व्यवस्थित गरेका छौँ । स्वर्गद्वारी टोलमा एउटा कल्भर्ट निर्माण गरेका छौं । यस्तै, चैतुबारी भेगमा हामीले बाटोमा रहेको अम्मरदीप पहिनीलाई व्यवस्थित गर्न १५ लाख रकमको प्लम निर्माण गरेका छौँ ।
हामीलाई स्थानीय दाता जयनारायण ढुङ्गाना ज्यूले करीब १२ लाख रकम खर्चेर वडालाई सहयोग पुग्ने गरी एउटा कल्भर्ट निर्माण गरिदिनु भएको छ । त्यसका लागि सम्मान गर्न चाहन्छु । भौतिक पूर्वाधारमा हामीले गर्न पर्ने धेरै काम छ र हामीले धेरै काम पनि गरिरहेका छौँ, वडाध्यक्ष पौडेलले भने ।
पछिल्लो दुई वर्षमा विद्युतको क्षेत्रमा पनि धेरै कामहरु भएका छन् । यस क्षेत्रमा एक सय ४० भन्दा बढी बिजुलीका पोलहरु लगाइएको छ । साथै, भोल्टेज सुधारको काम पनि वडाका विभिन्न छ वटा स्थानमा भएका छन् । नयाँ ट्रान्सफर्मर जडान गरिएको छ ।
कृषि तर्फ पनि वडाले यस वर्ष इआई गर्ने कार्यक्रम सञ्चालन गरिएको थियो । यो कार्यक्रमबाट किसानहरु अत्यन्त खुसी भएका छन् । आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन किसानको सूझाव रहेको उनको भनाई छ ।
यस्तै, टोलविकास संस्थाहरुलाई व्यवस्थित गर्ने उद्देश्यले टोलविकास संस्थाका पदाधिकारीहरुको व्यक्तित्व विकासका निमित्त विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । महिला र बालबालिका लक्षित कार्यक्रमहरु पनि सञ्चालन गरिएको वडाध्यक्षको भनाई छ । वडाले महिलालाई उद्यमी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी बालबालिकाका लागि रचनात्मक क्रियाकलापहरुमा जोड्ने काम गरिएको छ ।
शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधारको ठूलो समस्या थियो । यसका साथै विद्यार्थीहरु समयमा विद्यालय नआउने, विद्यालयमा प्रवेश गरेका विद्यार्थीहरु पनि सहजै विद्यालयबाट बाहिरिन सक्ने, पूरा समय नपढ्ने लगायतका समस्याहरु थिए । यो समस्या विद्यालयमा घेराबारा नभएका कारण भएको थियो । विद्यालयमा अत्याधिक गर्मीको कारण विद्यार्थीहरु पढ्न नसक्ने, खानेपानीको समस्या, विद्यालयमै गुणस्तरीय खाजाको लागि क्यान्टिनको राम्रो प्रबन्ध हुन नसक्नु लगायतका समस्याहरु थिए । वडाले सरकारी विद्यालयमा पनि अन्य विद्यालयहरुमा जस्तै सुविधा पु¥याउने उद्देश्यले काम गरेपछि विद्यालय क्षेत्रको धेरै समस्याहरु समाधान भएर गएको छ ।
वडा नं. २ मा रहेको मोहनमाया मावि र श्री बीर अमरसिंह माविले बस सञ्चालन गरेको छ । विद्यार्थीहरुलाई विद्यालयप्रति आकर्षण गराउन विद्यालयको भौतिक पूर्वाधारलाई व्यवस्थित गरेर लाने गरी काम गरिएको छ । ति समस्याहरुमध्ये अभिभावक, शिक्षक र विद्यार्थी बीचको आपसी दूरीले गर्दा एकअर्का बीच आत्मियताको समस्या उत्पन्न भएको थियो । वडाका तर्फबाट अभिभावक, शिक्षक र विद्यार्थीलाई कम्तीमा महिनामा एक पटक एकै ठाउँ बस्ने वातारण बनाएका छौँ, वडाध्यक्ष पौडेल भन्छन् – यसले शिक्षाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
वडा गौरव आयोजनाको रुपमा यस आर्थिक वर्षमा खेल मैदानहरुलाई संरक्षण गरिएको छ । अघिल्लो वर्ष गौरवको आयोजनाको रुपमा बाटो बनाइएको थियो । आगामी वर्ष गौरवको आयोजनाको रुपमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्य लिइएको छ ।
वडाले रोजगार सिर्जनाका निम्ति विपन्न युवा महिला र लक्षित वर्गहरुलाई उद्यमी बनाउने उद्देश्यले सीप विकासका तालिमहरु सञ्चालन गरिएको छ । चालू आर्थिक वर्षमा १३ जना युवाहरुलाई ड्राइभिङ सिकाइएको छ । यस्तै अघिल्लो वर्ष बालबालिकालाई कम्प्युटर सिकाइएको थियो । महिलाहरुलाई बाटेको धुप बनाउने तालिम, पोतेको लुङ बुन्ने तालिम लगायतका कामहरु गरिएको बताइएको छ ।
वडाध्यक्ष पौडेलले समग्र विकासको कल्पना गरिएको बताएका छन् । भौतिक पूर्वधार मात्र ठूलो कुरा होइन । कालोपत्रे सडकमा नांगो खुट्टाले हिड्न अफ्ट्यारो हुन्छ । पहिलो उद्देश्य वडाभरी खानेपानीको पहुँच पु¥याउने जमर्को गरिएको छ । शिक्षामा सबैको पहुँच पु¥याएर शिक्षालाई सर्वसुलभ बनाउने जनप्रतिनिधिहरुको उद्देश्य छ । शिक्षाको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने वडाध्यक्षको हुटहुटी देखिन्छ । उनले शैक्षिक गुणस्तरको क्षेत्रमा प्रष्ट देखिने गरि काम गर्नुपर्ने वडाको योजना रहेको सुनाए । हाम्रो वडामा अर्को समस्या भनेको विद्युतको अभाव रहेको छ । धेरै ठाउँमा बाँसमा तार अड्याएर लानुपर्ने अवस्था छ । अव्यवस्थित रुपमा संचालित व्यवसायहरुलाई व्यवस्थित गर्नुपर्ने छ, उनले थपे ।
आगामी आर्थिक वर्षका लागि टोल विकास संस्थाहरुसँग कार्यक्रम माग गरिरहेको जानकारी दिए । उनले भूगोल अनुसार कार्यक्रम आवश्यक भएकाले केहि संशोधन पनि लैजाने योजना छ । वडा नं. २ औधोगिक क्षेत्र समेत भएकाले यहाँको अव्यवस्थित बसोबास, सडक पूर्वाधार र स्वास्थ्यमाथिको प्रतिकुलतालाई ख्याल गरेर नीति कार्यक्रम आवश्यक पर्छ । औधोगिक क्षेत्रको सडक पूर्वाधार कमजोर छ । सुरक्षा चुनौति छ । उद्योग र आम नागरिकबीच नीतिगत निर्णयसँगै समन्वय गरेरै जानुपर्ने अवस्था छ । यस्तै, गोकुल जोशी मार्ग उत्तर क्षेत्रलाई उद्योग र बसोबासको क्षेत्रको रुपमा रहेको छ । त्यहाँको कोइला व्यवस्थापन गर्न आवश्यक देखिन्छ । त्यसका लागि वडा, नगर र नागरिकबीच समन्वय गरिनेछ ।
वडामा कालोपत्रे र प्लम निर्माण लगायतका कामहरुलाई निरन्तरता दिदै जाने योजना छ । नागरिकको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै काम अघि बढाउने वडाध्यक्षको भनाई छ । उनले खेल क्षेत्रलाई उत्तिकै प्राथमिकता दिदैं गएको बताएका छन् । एकता स्पोर्टिङ क्लवले यहाँको खेल क्षेत्रलाई अघि बढाइरहेको छ । उनले कृषिबाटै संमृद्धि ल्याउनका लागि जमिन बाँझो नराख्ने गरी योजना निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।