असार २, २०८१ शनिबार

बिर्तामोड विकासका ५ प्रसंग

गणेश पोखरेल 

विर्तामोडको विकासका विषयमा केही नलेखी नहुने भयो । विर्तामोड पुर्वको ‘स्मार्ट सिटी’ बनोस् भन्ने मलाई लागेको छ । तर, मैले काम गर्नुपर्नेहरुलाई कुरा बुझाउन नसक्ता आज आफैं मेरो कमजोरी कहाँ भयो भनेर सोच्न बाध्य छु । विषय कहाँबाट सुरु गरौं भन्ने पनि अन्योलमा छु ।

मैले केही बुझ्ने चेतना भएपछिका केही केही सन्दर्भ यहाँ उल्लेख गर्न आवश्यक छ । मेची क्याम्पसमा आईकम अध्ययन सुरु गरेपछि २०५१ सालदेखि म विर्तामोडको स्थायी बासिन्दा बनेको हुँ । अनेरास्ववियुको मेची क्याम्पसमा प्रारम्भिक कमिटी सदस्य बन्नुभन्दा अगाडि खोटाङमा अनेरास्ववियुको कार्यकर्ता रहेकाले सचेत नै थिएँ भन्ने लाग्छ । त्यो बेलादेखि विर्तामोडलाई कर्मभुमि बनाउँदा देखेका विभिन्न आरोहअवरोह मध्ये प्रमुख सवाल यहाँ प्रस्तुत गर्न चाहन्छु ।

प्रसंग  १
२०५४ सालमा तत्कालिन नेकपा एमाले विभाजन भयो । त्यतिबेलाका विर्तामोडका अधिकांश नेता कार्यकर्ता नेकपा मालेमा लाग्नुभयो । गाउँ कमिटी सबै नै मालेको कब्जामा पुग्यो । क। टीकादेवी बस्नेत घिमिरेको नेतृत्वमा गाउँ कमिटी बन्यो । त्यो कमिटीको म सदस्य बनेको थिएँ । नेकपा एमालेको तत्कालिन अनारमनी गाउँ कमिटीमा देवी गुठीको जग्गा भुमाफियाले लगेको विषयमा छलफल भयो । देवी गुठीको जग्गा भुमाफियाले आफ्नो बनाए भन्ने ठुलो हंगामा भयो । केही माफिया भागे, केहीलाई स्थानीयले पक्रेर माफी मगाए । मालपोत कार्यालयमा स्थानीयले घेरेपछि जग्गा नामसारी रोकियो ।

अदालतमा मुद्दा चल्यो, केही स्थानीय वकिललाई गाउँ विकास समितिको तर्फबाट मुद्दा हेर्न जिम्मा लगाइयो । नेपालको मुद्दाको प्रक्रिया कति लामो चल्छ मैले बताइरहनु पर्दैन । वकिलहरुले म्याद गुजारेपछि मुद्दा विग्रियो । अर्थात् माफियाको कब्जामा जग्गा पुग्यो । स्थानीय तह जनप्रतिनिधिविहीन भए । कर्मचारीले जागिर खाने हो ‘किन लफडामा पर्ने’ भन्ने सोचे । विर्तामोडको सार्वजनिक सम्पत्ति देवी गुठीको करिव १३ विगाहा जग्गा ३ जना व्यक्तिको सम्पत्ति बन्यो । त्यो क्रममा विर्तामोडका ‘कथित अगुवा’ ५२ जनाको विभिन्न कालखण्डमा संलग्नता रहेको छ ।
नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकाल प्रधानमन्त्री बनेपछि ललिता निवासको जग्गासँगै देशभरका जग्गा सरकारको नाममा ल्याउन मोहनरमण भट्टराईको नेतृत्वमा आयोग बन्यो । मैले देवी गुठीको जग्गा पनि अब राज्यको सम्पत्ति बनाउन सकिन्छ भन्ने ठानेर तत्कालिन महान्यायाधिवक्ता अग्नि खरेलसँग सम्पर्क गरेँ । अर्जुनधारा नगरको नगरअधिबेशनमा आउँदा उहाँलाई ‘फिल्ड भिजिट’ गराएँ । त्यो भिजिटमा प्रदेशसभा सदस्य एकराज कार्की, तत्कालिन जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, विर्तामोडका उपमेयर पवित्रा महतारा प्रसाईं पनि पुग्नु भएको थियो ।

मुद्दा अगाडि बढाउन जग्गाको कित्ता नम्बर लगायत चाहियो । विर्तामोड नगरपालिकामा निवेदन दिएँ, तत्कालिन उपमेयर महताराले विवरण दिनु भनेर तोक लगाइदिनुभयो । तर, नगर प्रशासनले दिएन । मलाई मुद्दा हाल्न विवरण नभइनहुने थियो । मैले नेपाली कांग्रेसका नेता जलकुमार गुरुङसँग सहयोग मागेँ । उहाँहरुको पार्टीको ट्रेड युनियनका नेता दिपेन्द्र खत्रीलाई भनिदिनुभयो, दिपेन्द्रजीले आवश्यक विवरण मालपोत र नापी कार्यालयबाट दिने व्यवस्था मिलाई दिनुभयो । माननीय अग्नि खरेलले मुद्दा लेख्न वकिल व्यवस्था गरिदिनुभयो ।

फिल्ड हेर्नु पर्ने भयो, नाप्नका लागि अमिन चाहियो नगरपालिकामा भने नगरका कर्मचारी व्यक्तिको कामका लागि पठाउने होइन भन्ने जवाफ पाएँ । जग्गा नाप्न जान्ने निडर मान्छे चाहियो, विर्तामोड २ का तत्कालिन अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले जग्गा नाप्न जान्नुहुन्छ भन्ने थाहा पाएँ । उहाँलाई आग्रह गरेँ । उहाँ आउनुभयो, नाप्नका लागि फिता भएन, जलकुमार गुरुङलाई आग्रह गरेँ, उहाँले पठाइदिनुभयो । जग्गा नाप्न फिता तान्न विशाल नेम्वाङ, एमालेका नेताहरु मोहन शिवाकोटी र रुद्र सिटौलालाई अनुरोध गरेँ उहाँहरुले स्वीकार गर्नुभयो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मैले निवेदन दर्ता गरेँ । माननीय अग्नि खरेलले विभिन्न प्रक्रियामा सहजीकरण गर्नुभयो । ३ जनामध्ये १ जनाको नाममा भएको जग्गा गुठीको नाममा फिर्ता भयो । २ जनाको नामको जग्गा फिर्ता हुन बाँकी छ ।

पछिल्लो समय झापा क्षेत्र नम्बर २ का सांसद सम्माननीय देवराज घिमिरेले मलाई आफ्नो निवासमा बोलाउनुभयो । विर्तामोडका मेयर पवित्रा महता प्रसाईंलाई पनि बोलाउनु भएको रहेछ । हामी ३ जनाबीच देवी गुठीको जग्गाको अवस्था र त्यहाँ रहेको प्रस्तावित डोमालाल राजवंशी रंगशाला निर्माणबारे कुराकानी भयो । सम्माननीय देवराज घिमिरे र मेयर पवित्रा महतारा प्रसाईंसँग भएको कुराकानी र विर्तामोड नगरको हालैको कार्यपालिका बैठकमा पेस भएको एउटा प्रस्तावबारे पछि चर्चा गरौंला ।

मेरो निष्कर्ष यत्ति हो स् विर्तामोडमा डोमालाल राजवंशी रंगशाला निर्माण हुनुपर्छ । त्यसमा मैले जग्गा फिर्ता ल्याएको मैले पहल गरेको भनेर भ्रमछर्न जो आए पनि केही फरक पर्दैन ।

प्रसंग  २
अखिल नेपाल फुटबल संघको अध्यक्ष गणेश थापा हुनुहुन्थ्यो । झापा अध्यक्ष जलकुमार गुरुङ हुनुहुन्थ्यो । झापाको फुटबल क्षेत्रमा जलकुमार गुरुङले गर्नुभएको व्यक्तिगत लगानी देखेपछि मैले उहाँलाई सहयोग गर्दा केही सहयोग पुग्छ भने गर्नुपर्छ भन्ने ठानेँ । एन्फाले केही जिल्ला संघलाई समेत समेटेर होम एण्ड अवे लिग गर्नेभयो । झापा ११ टिम बन्यो । झापाको प्रदर्शन राम्रो भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको टीमलाई हौसला दिनुभयो । सांसद भएवापत प्राप्त हुने एक महिनाको आफ्नो पारिश्रमिक दिनुभयो । हामी हौसियौं । होम एण्ड अवे लिगमा झापाको प्रस्तावित डोमालाल राजवंशी रंगशालामा दर्शकको थामी नस्कनुको उत्साह देखियो ।

जलकुमार गुरुङ, एन्फाका अफिसर सञ्जीव मिश्र र मैले सल्लाह गर्यौं । झापा ११ फुटबल क्लव चलाउनु छ । एउटा गोल्डकप गर्ने हो भने झापा ११ मा खेलाडी राख्न, नयाँ खेलाडी उत्पादनमा स्रोतका लागि सहयोग पुग्छ भन्ने ठहर भयो । खेल कसरी अगाडि बढाउने रु जलकुमार गुरुङ र म छौं, सञ्जीवजी काठमाडौंबासी । झापामा गोल्डकप गर्न सबैले अपनत्व गर्ने वातावरण बनाउन गरामनीबासी हरि पाण्डेको सहयोगमा उद्यमी होम पाण्डेलाई अध्यक्ष बनिदिन पटकपटक आग्रह गर्यौं । जलकुमार गुरुङ संरक्षक, होम पाण्डे अध्यक्ष, म महासचिव र केदार गिरी कोषाध्यक्ष भएर गोल्डकप सुरु गर्यौं । सबैलाई समेट्न बलराम कार्की बाणिज्य संघको अध्यक्ष समेत भएकाले उहाँ लगायत केही साथीहरुलाई उपाध्यक्ष, कसैलाई सदस्य बनाएर गोल्डकप सम्पन्न गर्यौं ।

पहिलो गोल्डकप सकिएपछि २२ लाख रुपैयाँ जति बचत गरेर अध्यक्ष र महासचिवले विदा लिने निर्णय गर्यौं । दोस्रो गोल्डकप गर्न कसले नेतृत्व गर्दा राम्रो होला भनेर खोजी गर्दा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी उपयुक्त हुने जलकुमार गुरुङ र मेरो ठहर भएपछि उहाँलाई पटकपटक आग्रह गरेर अध्यक्ष र गजेन्द्र पौडेललाई महासचिव बनायौं । त्यसपछि विनोद बस्नेत अहिले झापा गोल्डकपको अध्यक्ष हुनुहुन्छ ।

यसबीचमा थुप्रै आरोहअबरोह पार भएका छन् । साथीहरुले गोल्डकपको छुट्टै संस्था दर्ता गर्नुभयो । केही पैसा बैंक ब्यालेन्स छ रे । झापा एफसीले बी डिभिजन लिग खेल्नुपर्ने, खेलाडीले प्राक्टिस गर्दा खाएको खानाको पैसा तिर्न जेके गुरुङको पेन्सनको पैसा आउने समय कुर्नुपर्ने अवस्था छ । झापा गोल्डकपलाई पछिल्लो समयमा पनि स्रोत जुटाउन श्रदेय नेता अग्नि खरेल लगायतका नेता नेतृत्वले गर्नुभएको योगदान अतुलनीय छ ।

गोल्डकपलाई सबैको बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग सल्लाह गरेरै उद्घाटन केपी शर्मा ओलीले गर्ने र समापन कृष्णप्रसाद सिटौलाले गर्ने थिति बसाएका थियौं । पछिल्लो समय केही राजनीतिक स्वार्थ प्रेरित काम सुरु भएका छन् । झापा गोल्डकपले एउटा बुकलेट बनाएछ तर स्थापना कालको अध्यक्ष होम पाण्डे लेखे पनि महासचिव गणेश पोखरेल हो भन्न साथीहरुलाई सकस भएर लेख्न छुटाउनु भएछ ।

मलाई लाग्छ स् तपाईंले लेखे पनि नलेखे पनि झापा गोल्डकप जलकुमार गुरुङ, सञ्जीव मिश्र र गणेश पोखरेलले सुरु गरेको हो । त्योप्रति हाम्रो माया छोराछोरीप्रति जस्तै छ, रहिरहनेछ । डोमालाल राजवंशी रंगशालामा गोल्डकप भयो । श्रदेय केपी शर्मा ओलीले गणेश पोखरेल र अग्नि खरेलले गरेको काम सम्झिनुभयो । तर, गोल्डकपमा हर्ताकर्ता भएका साथीहरुलाई लघुताबोध भयो ।

प्रसंग ३
२०७६ सालको कुरा हो । विर्तामोड २ रामचोकमा रहेको सामुदायिक वनमा ‘हर्वल पार्क’ बनाउने भनेर त्यो भन्दा केही वर्ष पहिलेदेखि डा। केजङ्ग भण्डारी, जलकुमार गुरुङ, कृष्ण ढकाल, जेवी जबेगुहरु लागिरहनु भएको रहेछ । डा। भण्डारीले एक दिन मलाई भेटेर विर्तामोडमा बढेको घनाबस्तीले स्वास फेर्न पनि नसकिने जस्तो भयो । त्यसैले हर्वल पार्क बनाऔं भनेर सामुदायिक वन उपभोक्ता समिति, जिल्ला वन कार्यालयसँग त्रिपक्षिय समहति भएको कागज देखाउनुभयो ।

उहाँले सरकारबाट केही सहयोगको अपेक्षा गर्नुभएको रहेको छ । पार्क बनाउन सबैभन्दा पहिले घेराबारा गर्नुपर्ने डिपिआर जेबी जवेगुले बनाउनु भएको रहेछ । प्रदेश सरकारबाट केही सहयोग गर्न लगाउनु पर्यो भनेर मैले प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीलाई भेटेका बेला वन मन्त्री जगदिशप्रसाद कुसियतलाई भन्न लगाएँ । मन्त्रालयले ४० लाख रुपैयाँ जति बजेट दियो । जेबी जवेगुलाई काम गर्न भन्यौं । उहाँले काम गर्नुभयो । त्यो पैसा आएको र काम सुरु भएको देखेपछि स्थानीय साथीहरुलाई खपिनसक्नुभयो । संस्थासँग भएको सम्झौता सामुदायिक वनको तर्फबाट एकतर्फी तोड्ने निर्णय गर्नुभयो । त्यो पछि रामचोक सामुदायिक वनमा केही काम अगाडि बढेन । स्थानीय साथीहरुलाई साह्रै सञ्च भएको छ । यसबारे क। राजु गौतम अधिक जानकार हुनुहुन्छ ।

रोमचोक पुग्दा सधैँ सम्झिन्छु स् हामीलाई कसैले राम्रो गरेको देख्ता किन औडाहा हुन्छ ? यसरी कहिले कहाँ पुगिएला ?

प्रसंग  ४
अहिले म नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य छु । पार्टीको परिभाषित जिम्मेवारी अनुसार झापा २ को प्रदेश १ को इञ्चार्ज छु । नेकपा एमाले विर्तामोडको पछिल्लो बैठक भयो । जिल्लादेखि माथिको जिम्मेवारीमा रहेका वर्तमान र पुर्व नेताहरु जम्मा भयौं । पार्टीको चुनावी घोषणपत्र र भइरहेका कामबारे केही चर्चा गर्यौं । केही निर्णय पनि गर्यौं । नेकपा एमालेको विधान २०४९ को धारा ५९ को ३ मा निर्वाचन क्षेत्र समन्वय कमिटीका अधिकार र कर्तव्य देहायबमोजिम हुने उल्लेख छ ?

क। पार्टीको नीति तथा माथिल्लो कमिटीको निर्देशनअनुरुप प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रको पार्टी कामको संयोजन गर्ने,
ख। प्रतिनिधिसभा, प्रदेशसभा सदस्यको निर्वाचनमा संयोजन गर्ने,
ग। प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रको विकास निर्माण र जनसरोकारको कामको संयोजन गर्ने,
घ। जिल्ला कमिटीले तोकेबमोजिमका अन्य कार्यहरु गर्ने ।
यो विधानको व्यवस्थालाई कार्यान्वयन गर्ने जिम्मेवारी एमालेका सम्वन्धित कमिटीका नेता कार्यकर्ताको हो । तर, निर्वाचन क्षेत्रको विकास निर्माण र जनसरोकारको कामको संयोजन गर्ने परिभाषित जिम्मेवारीको काम गर्न गरेको विधानको विषयबारे पनि सोच्नु पर्ने होइन र रु हामी कतै आग्रहपूर्वाग्रहबाट प्रेरित त हुँदै छैनौं । सोच्न जरुरी छ ।

प्रसंग ५
म नेपाल पत्रकार महासंघ झापाको अध्यक्ष भएको समयमा झापामा टीकाराम अर्याल प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । काम विषेशले जिल्ला प्रशासन कार्यालयमा थिएँ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा एकजना खाइलाग्दो ज्यानका युवक आए । उनले प्रमुख जिल्ला अधिकारीलाई पर्सिपल्ट युएनएचसीआरको दमक कार्यालयमा बैठक बस्ने भएकाले आउनका लागि पत्र दिए । प्रमुख जिल्ला अधिकारीले आफ्नो डायरी पल्टाएर हेरे । त्यो दिन अन्यत्रै कार्यक्रम भएकाले आफु आउन नसक्ने बताए । ती युवकले फोन गर्दै बाहिर गए, त्यसपछि गृह मन्त्रालयबाट फोन आयो । प्रमुख जिल्ला अधिकारीलाई त्यो बैठकमा जान गृहका अधिकारीले निर्देशन दिए । प्रमुख जिल्ला अधिकारीले उनलाई आफु नजाने बताएर फोन राखे । ती पहिले निष्किएका युवक फेरि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आए ।

गृहबाट निर्देशन आएपछि प्रमुख जिल्ला अधिकारीले मान्छन् भन्ने लागेको रहेको छ । उनले फेरि प्रमुख जिल्ला अधिकारीलाई बैठकमा सहभागी हुन् आग्रह गरे । प्रमुख जिल्ला अधिकारी अर्यालको जवाफ मेरो कानमा सधैं गुञ्जन्छ स् भाइ तिमी मसँग समय लिन आएका हौ कि समय दिन रु मलाई समय दिन आएका हौ भने तिमीले मलाई दिएको समय मलाई चाहिएन तिमी जाउ । लिन आएको भए मेरो फुर्सदमा बैठक राख ।

हो, समय दिनेहरुले सबै मान्छेले आफुले दिएको समय पालना गर्नुपर्छ भन्नु भएन । लिएको समय हो भने सुरुदेखि अन्तिमसम्म बसेर सबैले सुन्छन् । दिएको समय हो भने ‘आप की मर्जी ।’

र, अन्त्यमा
हामीमा एउटा भ्रम छ, जान्ने म मात्रै हुँ । जनप्रतिनिधिहरुमा हामी नै विज्ञ हौं भन्ने भ्रम पनि छ । हामीले देखेको र पढेको भन्दा धेरै देख्न र पढ्न बाँकी छ भन्ने सत्य स्वीकार्न आवश्यक छ । जनप्रतिनिधि हुने भनेको काम गर्नलाई हो । समाजसेवा गर्ने जनप्रतिनिधिले होइन । समाजसेवा आफ्नो आम्दानीबाट गर्नुपर्छ । त्यसका लागि रोटरी क्लव जस्ता आफ्नो आम्दानीको केही प्रतिशत जम्मा गर्ने र समाजमा राम्रा काम गर्ने संस्था पनि छन् । तलबभत्ता लिएर गर्ने भनेको समाजसेवा होइन, काम हो । नागरिकले तिरेको करलाई बहुसंख्यक नागरिकको हितमा खर्च गर्नु समाजसेवा होइन, काम हो । नागरिकले मलाई काम गर्न आबधिक समयका लागि मतदान गरेका हुन्, त्यो पुरा गर्नुपर्छ भन्ने सोचेर जनप्रतिनिधि अगाडि बढे पुग्छ ।

नेकपा एमाले विर्तामोडले गएको स्थानीय तहको चुनावमा भनेको १४ वटा नगरस्तरीय गौरबका आयोजनाको काम यो २ वर्षमा कति भयो रु के–के भयो रु के–के कारणले कुन–कुन हुन सकेन, हुन सक्तैन रु बुद्धि नभएका मान्छेले गर्न नसकिने कामको पुलिन्दा बनाएका हुन भने गर्न सकिने र गर्ने काम के हुन भन्ने स्वेतपत्र जारी गर्नुपर्छ । र, त्यसै अनुसार काम गर्नुपर्छ । राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने कुराले समाजलाई विकासको गति दिने मात्र होइन, राजनीतिक दल पनि जोगिने छन् । राजनीतिक दलप्रति बनेको सबै उस्तै हुन भन्ने भाष्य परिवर्तन गर्नेछ ।

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]