बैशाख २४, २०८२ बुधबार

परम्परागत पेशा र आधुनिकता बीचको संघर्ष : गाउँ आएको बाटो

एकराज प्रधान

दयाहाङ राईको मुख्य भूमिका रहेको नयाँ चलचित्र गाउँ आएको बाटो जेठ २५ बाट सिनेमा हलहरुमा लागिसकेको छ । नुमाफुङ जस्तो अब्बल फिल्म नेपाली सिने जगतमा दिएर चर्चित बनेका निर्देशक नवीन सुब्बाको निर्देशनमा बनेको यो फिल्ममा विशेष गरी बाँसको चोयासँगै जीवनको अधिकांश समय बिताउने एउटा पुस्ताको कथा छ । जुन पुस्ता अब बुढो हुँदैछ । हाम्रा बा-आमा, हजुरबा हजुरआमा जसको गुजारा बाँसका ती सामान बाहेक चल्दैनथ्यो । डोको, नाङ्लो, मान्द्रो, डालो, घुम जस्ता सामानहरुसँगै जीवन गुज्रियो । आज यी सामानहरु आधुनिक समयसँगै विस्थापित भइरहेका छन् । जुन सामान बनाउने सीपबाट जसको गुजारा चल्दैथ्यो, अब चल्न छोडेको छ । गाउँ आएको बाटो विशेष गरी यस्तै घटनाको पेरिफेरिबाट बुनिएको कथा हो ।

परम्परागत पेशा अँगाल्नेहरुलाई आधुनिकताले कतिसम्म पीडा दिन सक्छ, यसका लागि उनीहरुले कति संघर्ष गर्नु पर्छ भन्ने कुरा स्क्रिनमा देख्न सकिन्छ । हरेक अभिभावकले आफ्ना छोराछोरीको खुशीलाई केन्द्रमा राखेका हुन्छन् भन्ने कुरा पनि निर्देशकले बुझाउन खोजेका छन् । चलचित्रमार्फत् एउटा पुस्ताको परम्परागत पेशा र संस्कृतिलाई कैद गरेर बचाइदिएकोमा निर्देशकलाई धन्यवाद नदिइरहन सकिन्न । अबको नयाँ पुस्ताले सायदै यी कुराहरु भोग्न नपाउलान्, तर यो फिल्ममार्फत देख्न पाउनेछन् ।

कथावस्तुको कुरा गर्नुपर्दा फिल्ममा माइला बनेका छन् दयाहाङ राई र माइलीका रुपमा पशुपति राईलाई देख्न सकिन्छ । उनीहरुको चुलबुले छोरा छन् । बिन्द्रे अर्थात् प्रसन राई । पहाडी जिल्ला, भर्खरै विकासको अनुहार देख्दै गरेको गाउँको परिदृश्य । बिजुली, यातायात अनि भर्खरै सहरिया सामानहरु भित्रिँदै गरेको अवस्थाबाट कथा सुरु हुन्छ । आधुनिक जमानालाई अँगाल्न स्वतन्त्र बालक बिन्द्रे र परम्परागत पेशा अनि विचार बोकेको माइला पात्र बीचको भावनात्मक द्वन्द्व र प्रेमलाई निर्देशकले निकै मजाले बुनेका छन् ।

गाउँमा मोटर आउँछ, सँगै टिभी आउँछ, मोबाइल आउँछ । बजारिया सामानहरु आउँछन् । जसप्रति छोराछोरीको आकर्षण ह्वात्तै बढ्छ, तर परिपूर्ति गर्ने क्षमता बाउआमामा हुँदैन । अझै समस्या त तब हुन्छ, जब आफूले जानिआएको सीप नै काम लाग्दैन । यहाँनेर दर्शक निकै भावुक बन्छन् ।

फिल्मका क्यारेक्टर्सको कुरा गर्नुपर्दा माइला बाँसको सामग्री बनाउने पेशामा छ । बोलीचाली, लगाउने लुगादेखि गाउँले अभिनयले दयाहाङलाई ठ्याक्कै गाउँले माइला बन्न सुहाएको छ । अलिअलि मूर्ख, अलिअलि भावुक, एउटा इनोसेन्ट क्यारेक्टर । यस्तो लाग्छ कि यो पात्रमा उनीबाहेक अरुलाई सुहाउने नै थिएन । एउटा जिम्मेवार बाउको भूमिका उनी छन्, जो आफ्नो नानीको इच्छा पूरा गर्न मरिमेटी लागेको छ ।

माइलीको रुपमा साथ दिएकी छन् पशुपति राईले । उनलाई पनि यो क्यारेक्टर निक्कै सुहाएको छ । अलिक छुच्ची, रिसाहा भए पनि कोमल मन भएकी । जिम्मेवार अनि बुझकी जीवनसाथीको भूमिकामा उनी देखिएकी छन् ।
बाल कलाकार प्रसन राई अर्थात् फिल्ममा ‘विन्द्रे’ भने अलि रौसे केटोको रुपमा देखिन्छ । आधुनिक सामानहरुमा निक्कै उत्सुक यो केटो चुलबुले त छँदैछ, छट्टु पनि छ । उसको हाउभाउले दर्शकलाई निक्कै हसाउँछ ।
बिन्द्रे अहिलेको युगको बच्चा हो, जो बाआमाभन्दा आधुनिक कुरामा निकै अग्रसर छ । बोलक्कड छ । एक्टिङवाइज र डायल डेलिभरिमा पनि प्रसनले राम्रो गरेका छन् । ‘उसो भए चाउचाउ किन्देउ’ जस्ता डायलगले आजका नानीहरुको बानीलाई ठ्याक्कै उतारेको छ । सरकारी स्कुल र परिवेशलाई पनि फिल्मले थोरै छोएको छ ।

प्रेम सुब्बा एक भूपू लाहुरेको रुपमा देखिन्छन् । यो क्यारेक्टरलाई चाहिँ लेखनमै अलिक मेहनत नपुगेको हो कि भन्ने लाग्छ । उनी धेरै ठाउँमा देखिए त्यति महत्व दिएको लाग्दैनन् । सम्वाद र उनले फिल्ममा लिने डिसिजनहरु निकै कमजोर लाग्छन् ।

टेक्निकल पाटोबाट फिल्मलाई केलाउँदा यसमा प्रयोग भएको मोर्डन बिजिएम म्युजिकले फिल्मको मर्मलाई स्पर्श गर्दैन । एउटा सिनमा माइलीले बिनायो बजाउँछिन् । बरु बिनायोको धुनलाई इमोसनल सिनहरुमा प्रयोग गरिएको भए दर्शक अझै धेरै भावुक हुने थिए ।

मुड अनुसारको कलर टोन ठिकै छ । सुख्खा कलेटी परेका ओठ अनि फुस्रो कलर कथाको नजिक छ । इन्डोर सट, लाइट सोर्स, फ्रेमिङ कम्पोजिसनहरुमा निक्कै मिहेनत गरिए देखिन्छ । फिल्ममा देखाइने घुर्रा, फिरफिरे, कोलाको दाम्चाको पटपटे, फिन्स्यो लाएको, तीनपाने जस्ता डिटेलिङ सटहरुले फिल्मलाई अझै जीवन्त बनाएको छ । जमाना यस्तो पनि थियो भन्ने कुरालाई निर्देशकले सुरक्षित गरिदिएका छन् ।

यो फिल्म फेरिँदै गरेको युगको कथा हो । युग बदलिँदा केही पुराना कुराको महत्व आफैँ घटेर जान्छ, नयाँ पात पलाएसँगै पुराना पात झरेर जान्छन् भन्ने बुझ्न सकिन्छ । फिल्ममा परम्परागत सामान बाँसका मुडालाई प्लास्टिकका कुर्सी, मान्द्रोलाई त्रिपाल, तिनपानेलाई बियरले विस्थापित गर्दै गएको देखाइन्छ । खासमा परम्परागत पेशाको संरक्षण गरिनुपर्छ, यसले आयातित सामान रोक्न सकिन्छ भन्ने फिल्मको मूल मर्म रहेको छ ।

आधुनिकता भित्रिँदा समस्या र अवसर दुवै कुरा सँगै आउँछ । बाटो आएसँगै गाडी आउँछ, मानिस बाहिर गएर नयाँ संस्कृति लिएर आउँछन् । पसल आउँछ, कोक आउँछ, गगल्स आउँछ, खानपान बदलिन्छ । के यो सब ठीक हो त ? फिल्मले यही प्रश्न गरेको छ । यदि यस्तै हो भने हाम्रो संस्कार लोप हुन सक्छ, जीवनपद्धति बदलिन सक्छ भनेर परम्परागत संस्कारको संरक्षणमा ध्यान दिन फिल्मले सजग गराएको छ ।

कल्पना गरेभन्दा यथार्थ कयौँ गुना फरक हुन्छ । यो कुरा फिल्मका दृश्यहरुले बोलेका छन् । एउटा उत्पादकले आफ्नो सामानको दाम पनि लिन कठिन भएको पीडालाई पनि फिल्मले पस्केको छ । फिल्ममा केही कमी कमजोरीहरु पनि छन् । जस्तो कि सामान्य कुरालाई डिटेलमा देखाउन खोज्दा कता-कता फिल्म लम्बिए जस्तो लाग्छ । दर्शक केही समयका लागि बोर हुन सक्छन् । अर्को कुरा कथा एकै ठाउँ घुमिरहँदा फिल्ममा के नपुगे जस्तो पनि लाग्छ । इन्डिङ दर्शकले अझै राम्रो हुने एस्पेक्ट गरेका थिए, अलिक हतारमा सकिए जस्तो लाग्छ ।

निष्कर्षमा भन्नु पर्दा फिल्म राम्रो छ । कथावस्तु, प्रेजेन्टेसन, अभिनय र डिरेक्सनल पार्टमा बलियो छ । फिल्म हेर्न जाँदा आधुनिक एस्पेक्ट लिएर नजानु होला । यो हाम्रो बाआमाहरुको कथा हो, जसको जीवन बाँसका चोयाहरुसँग बित्यो । छोराछोरीको खुशीका लागि बाआमाले गर्नुभएको दु:ख र त्यागको कथा हो ।

मेन्छेयाम पिक्चर्स र बाँसुरी फिल्मको ब्यानरमा बनेको फिल्मलाई अमोद राई र नविन सुब्बाले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कथा महेश राई, सिनेमाटोग्राफी जोश हेरम र सम्पादन क्वान पुन लेउङले गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]