दक्ष निर्माण मजदुर उत्पादनमा शिवसताक्षीको जोड
झापाको शिवसताक्षी नगरपालिकाले चालु आर्थिक वर्षमा निर्माण मजदुरहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरेको छ । कार्यक्रम अधिकृत महेश लामिछानेका अनुसार निर्माण व्यवसायको क्षेत्रमा आवद्ध मजदुरहरुलाई दक्ष बनाउन स्थानीय सरकारको तर्फबाट प्राविधिक सीप सिकाउने काम भएको छ । निर्माणको क्षेत्रलाई व्यवस्थित, मापदण्ड बमोजिम निर्माण गर्नका लागि दक्षता जरुरी रहेको उनको भनाई छ । त्यसै बमोजिम मजदुरहरुलाई लक्षित गरेर विभिन्न तालिमहरु सञ्चालन गरिएको छ ।
कार्यक्रम अधिकृत लामिछानेले निर्माण क्षेत्रमा आवद्ध मजदुरहरुलाई मेसन, आल्मोनियम , गृल, इन्टेरियर डिजाइनिङ, वेल्डिङ, पेन्टिङ जस्ता सीपमुलक तालिम प्रदान गरिएको जानकारी दिए । उनले निर्माणको क्षेत्रमा बाहिरबाट मजदुर ल्याउनुपर्ने बाध्यतालाई कम गर्न स्थानीय स्तरमा जनशक्ति तयार गरिएको बताए । धेरैजसो भारतबाट मजदुर आइरहेको पाइन्छ, त्यसैले स्थानीय स्तरमा दक्ष मजदुर तयार गरिएको हो, उनले भने – स्थानीय स्तरमै रोजगारी दिनका लागि सीप सिकेपछि कामको लागि समस्या हुदैन । निर्माण मजदुरहरुलाई आवश्यक पर्ने सबैखाले तालिमहरु प्रदान गरिएको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका फोकल पर्सन समेत रहेका लामिछानेले तालिमहरु संख्यात्मक भन्दा पनि गुणात्मक हुनुपर्नेमा ध्यान दिएको बताए । यो वर्ष सञ्चालन गरिएका अधिकांश आयआर्जन मुलक तालिमहरुमा गुणात्मकको पाटो ख्याल गरिएको बताइएको छ । सबै वडाहरुमा विभिन्न किसिमका तालिहरु सञ्चालन गरिएको भन्दै कार्यक्रम अधिकृत लामिछानेले रोजगार सिर्जना हुने कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।
शिवसताक्षीले सामूहिक मजदुर बीमा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रममा ८१ जना मजदुर आवद्ध भइसकेका छन् । मजदुरहरुले १ लाखको दुर्घटना बीमा वापत औषधि उपचार पाउने र कुनै दुर्घटना भएमा ७ लाखसम्म वीमाबाट भुक्तानी पाइने व्यवस्था मिलाइएको छ । त्यसका लागि मापदण्ड बमोजिम मजदुरहरु आवद्ध हुनुपर्छ । सताक्षी स्वतन्त्र मजदुर निर्माण संघको सिफारिसका आधारमा आवद्ध भएपछि प्रक्रिया बमोजिम सामूहिक मजदुर बीमा कार्यक्रमले व्यवस्था गरे बमोजिम भुक्तानी दिइनेछ ।
कार्यक्रम अधिकृत भन्छन्, तालिमपछि उद्यमशील बन्ने मानसिकता तयार हुनु नै ठुलो उपलब्धी हो । आयआर्जनको पाटोलाई प्राथमिकता दिएर सिकेको सीपलाई व्यवहारमा लागू भए नगरको लागि सबैभन्दा ठुलो उपलब्धी हुनेछ । उनले सीप सिकाउने क्षेत्रको पहिचान पनि ठिक ढंगले गर्नुपर्ने बताएका छन् । स्थानीय स्रोत साधनको परिचान गर्न सक्ने गरि सीप सिकाउन आवश्यक छ । सीप हासिल पश्चात उत्पादित वस्तुको माग समेतलाई ख्याल गरेर कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।