जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडको बजेट, नीति तथा कार्यक्रम पारित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०८१-८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । दोस्रो नगरसभाको पाँचौ अधिवेशनको दोस्रो बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

नगरसभाले आर्थिक वर्ष ०८१-८२ को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक विद्येयक २०८१, विनियोजन विद्येयक २०८१, न्यायिक समितिको आ.व.०८०-८१ को प्रतिवेदन र अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन पास गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले विविध प्रस्तावहरु प्रस्तुत गर्दै सभाबाट अनुमोदन गरिएको थियो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले सभाध्यक्षको हैसियतमा कार्यक्रम सञ्चालन गर्दै नीति कार्यक्रम तथा बजेट, आर्थिक विद्येयक –२०८१ र विनियोजन विधेयक– २०८१ माथि छलफलका लागि आव्हान गर्नुभएको थियो । सदस्यहरुले नीति कार्यक्रम र बजेटमाथि सूझाव तथा जिज्ञासा राखेका थिए ।

छलफलमा सहभागी सदस्यहरुले फोहोरमैला व्यवस्थापन नभएको, विकास निर्माणमा लागत सहभागिताका कार्यक्रममा सम्पन्न परिवार समक्ष कार्यान्वयन गर्न कठिनाई भइरहेको, कर्मचारी व्यवस्थापन, सुकुम्बासी समस्या समस्या लगायतका विषयवस्तुहरुमा जिज्ञासा राखेका थिए ।

सभाध्यक्षको तर्फबाट सभामा उठेका जिज्ञासाको जवाफ दिदैं समाधानमा नगर प्रमुखको हैसियतमा तत्कालै समन्वय गर्ने बताउनु भयो । उहाँले नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिसँग समन्वय गरेर पहिचान भएका समस्याको समाधान तत्कालै खोजी गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नगरसभामा बोल्दै वडा नं. ६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस बिर्तामोडका नगर उपसभापति सुर्यप्रसाद कन्दङवाले बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उनले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैले इमान्दारिता पूर्वक जोड दिनुपर्ने बताउनु भएको छ । सहकार्य र एकताबाट मात्रै विकास संभव छ, उनले भने – जनप्रतिनिधि र कर्मचारीबीच स्वस्थ्य सम्बन्ध हुनुपर्छ ।

प्रकाशित मिति : असार १८, २०८१ सोमबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]