बसपार्कबासीको जग्गा कारोवारमा खुल्ला गर्नुपर्छ : प्रसाई
बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रक्रियाबाट किनबेच भइसकेको जग्गामा नागरिकहरु फेरि तनावमा परेको बताइन् । सर्वोच्चको फैसलापछि बसपार्कबासीहरु पटक–पटक पालिकामा समाधान खोजिदिन माग गर्दै डेलिगेशन पुगेको उनको भनाई छ ।
सभामुख देवराज घिमिरेले आयोजना गरेको छलफलमा बोल्दै नगर प्रमुख प्रसाईले तत्काल बसपार्कबासीलाई निकास दिनुपर्ने बताएकी छन् । अन्यौलमा छोड्नु हुदैन, उनले थपिन्– विधि प्रक्रियाबाट खरिद गरेको नागरिकको जमिनलाई कारोवार गर्न खुल्ला गर्नुपर्छ ।
सो क्षेत्रको जग्गाको सन्दर्भमा सरोकारवालाहरुसँग आवश्यक परामर्श गर्दै आएको उनको भनाई छ । फैसलाले नागरिकहरुलाई अन्यौल बनाएको भन्दै प्रष्ट बनाइनुपर्ने बताइन् । अन्यौलको परिस्थितिलाई समाधान गरेर जानुपर्ने मेयर प्रसाईको भनाई थियो ।
सेवा प्रवाहमा अन्यौल
यस्तै, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामले गिरीबन्धु टि–स्टेटको ५१ विघा जग्गा समेत समेटेर हदबन्दी कायम गर्नुपर्ने फैसलाले बसपार्कबासी अन्यौलमा परेको बताएका छन् ।
बसपार्कबासीले प्रक्रिया बमोजिम लालपुर्जा पाइसकेको बताउँदै वडाध्यक्ष इङनामले अहिलेको असहजतालाई समाधान गर्न माग गरेका छन् । उनले सो क्षेत्रका नागरिकहरुलाई जग्गासँग सम्बन्धित सेवा प्रवाहमा अन्यौल भइरहेकोले चाँडोभन्दा चाँडो निकास दिनुपर्ने बताए । जग्गासँग सम्बन्धित सिफारिस लिएर आउने वडाबासीलाई सहजीकरण गर्न मालपोत कार्यालयसँग पनि समन्वय भइरहेकोले माथिल्लो तहबाट अन्यौलता हटाउन सभामुखलाई आग्रह गरेका छन् ।