झापा डेंगु प्रभावित जिल्लाको दोस्रो नम्बरमा
गगन ढकाल
झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ ।
दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ । ईडीसीडीको तथ्यांक अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको छ ।
मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।
झापामा हालसम्म झापाका एक सय २७ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा यस वर्षको सुरुवात भएसँगै पछिल्लो तीन महिनामा आठ सय चार जनालाई परीक्षण गर्दा ७१ जनालाई डेंगु पुष्टि भएको छ ।
झापामा वैशाखमा एक सय ६० जनालाई परीक्षण गर्दा १८ जनालाई डेंगु पोजेटिप देखिएको थियो भने जेठमा तीनसय आडजलाई परीक्षण गर्दा २१ जनालाई पोजेटिप देखिएको थियो । यसै गरी असारमा तीन सय ३६ जनालाई परीक्षण गर्दा ३२ जनामा डेंगु पोजेटिप देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका डेङ्गु रोगका फोकल पर्सन युवनाथ बरालका अनुसार पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको जोखिम बढिरहेको छ । उनले विशेष गरी जनघनत्व धेरै भएको ठाउँमा र कवाडी सामाग्रीहरु अव्यवस्थित तरिकाले राखिएको ठाउँमा डेंगुको जोखिम हुने बतए । जिल्लामा डेंगुको परीक्षण गर्ने कितको पनि अभावनै रहेको उनले बताएका छन् ।
फोकल पर्सन बरालका भने ‘पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।’ उनले डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
देशमै सबैभन्दा धेरै डेङ्गु काठमाडौं जिल्लामा देखिएको छ भने देस्रो नम्बरमा झापा रहेको छ ।