एसपी खड्कामाथि समिति बनाएर छानविन सुरू, तस्करसँग मिलेको आरोप
विराटनगर – तस्करसँग मिलेको आरोपमा सशस्त्र प्रहरी बलको मुख्यालय तानिएका मोरङका प्रमुख एसपी विश्व खड्कामाथि छानबिन शुरू भएको छ । तस्करीमा संलग्न भएको शंका पाएपछि केही दिनअघि मात्रै खड्कालाई काठमाडौँ तानिएको थियो ।
खड्कामाथि छानविन गर्न सशस्त्र प्रहरी बलको मुख्यालयले सीमा विभागका डीर्आइजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको छ । जसको सदस्यमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले सीमा विभागबाटै समिति बनाएर एसपी खड्कामाथि छानविन सुरु गरिएको जानकारी दिए । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइको छ ।
‘समितिले फिल्डमा पुगेर काम शुरू गरिसकेको छ, तस्करीमा एसपीको संलग्नता छ–छैन भनेर वास्तविकता बुझ्दैछौँ,’ प्रवक्ता न्यौपानेले भने । समितिको प्रतिवेदन अध्ययनपछि अरु प्रक्रिया अघि बढ्ने उनले बताए ।
२०८० फागुनको पहिलो साता खड्का मोरङको एसपी भएर आएका थिए । त्यसयता तस्कर समूहसँग मिलेर नेपाल–भारत सीमा क्षेत्रमा अवैध असुली गरेको उनीमाथि आरोप लागको छ ।
मोरङ आएयता तस्करीको लाइन चलाउने समूहसँग साँठगाँठ गरेर असुली गरिरहेको आरोप उनलाई लागेको हो। साथै, भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि खड्कामाथि लागिरहेको छ।
विराटनगरका व्यापारी विनोद केशरीले करिब एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी नियन्त्रणमा लिएको भएपनि रकम लिएर त्यत्तिकै छाडिदिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालय, हलचोकमा उजुरी परेको थियो । सोही उजुरीपछि खड्का सशस्त्र प्रहरीको मुख्यालय (हेडक्वाटर) तानिएका थिए ।