जेष्ठ ४, २०८२ शनिबार

झापा सवारी दुर्घटनाः एक वर्षमा ८७ जनाको मृत्यु

बिर्तामोड । जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त संख्यामा मानवीय क्षति भएको हो ।

सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ व्टा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीप-कार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् । वर्ष आव २०७९÷८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ ।

आव २०७९÷८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए । ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए ।

सवारी कारबाही

जिल्लामा गत आव २०८०÷८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारीसाधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ ।

संघीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु एक हजार पाँच सय जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताए । उनले भन्नुभयो, “अहिले सवारीसाधन र चालक अनुमतिपत्रका आधारमा कसुरको प्रकृति हेरी कारबाही गर्छौँ । एउटै चालक अनुमतिपत्र र सवारीसाधनले अर्कोपटक गल्ती गरे जरिवाना बढ्दै जान्छ ।”

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट रु एक करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व सङ्कन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै १८ हजार छ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा रु एक करोड सात लाख २७ हजार राजस्व सङ्कलन भएको थियो ।

जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादक पद्धार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताउनुभयो । गतवर्ष मापसे गरेर सवारीसाधन चलाउने दुई हजार ६४ सवारीसाधनलाई करबाही गरिएको थियो । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिनुभयो । यसैगरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेको उनले बताए ।

प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]