मुडुला कार्कीको आंशिक वंशावलीसहितको पुस्तक ‘सृष्टि, समय र इतिहास’ विमोचित
एकराज प्रधान
बिर्तामोड । सुरेन्द्रबहादुर कार्कीद्वारा लिखित तथा संकलित ‘सृष्टि, समय र इतिहास’ पुस्तक मंगलबार बिर्तामोडमा विमोचन गरिएको छ । मुडुला कार्की कुलायन व्यवस्था समिति बिर्तामोडको आयोजनामा विमोचन गरिएको सो पुस्तकमा मुडुला कार्कीको आंशिक वंशावली समेत समावेश रहेको छ ।
कार्यक्रममा लेखक कार्कीले वंशावलीको औचित्य र महत्व बारे चर्चा गरेका थिए । मुडुला कार्की वंश प्रतिष्ठान बिर्तामोड प्रकाशक रहेको पुस्तक दश अध्यायमा रहेको छ । पुस्तकका सुरुका तीन अध्यायमा सृष्टि, समय, इतिहासको चर्चा रहेको छ । चौथो अध्यायमा वर्तमानकाल, पाँचौँ अध्यायमा खस जाति र सभ्यता, छैटौँमा प्रयोग अनुसन्धान र निष्कर्ष, सातौँमा नेपाली संस्कृतिको संक्षिप्त परिचय रहेको छ । त्यस्तै, आठौँमा बन्धु र बन्धुत्व, नवौँमा वंशावली र विविध रहेका छन् भने दशौँ अध्यायमा ऐतिहासिक तस्वीरहरु रहेका छन् ।
कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले क्षेत्रीहरुमा पनि मुडुला कार्की संख्यात्मक रुपमा बढी रहेको बताउँदै वंशावलीले आपसमा जोड्ने र इतिहासलाई सुरक्षित गर्न मद्दत गर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि संस्थाका केन्द्रीय सदस्य गणेशबहादुर कार्की, झापा अध्यक्ष बमबहादुर कार्की, झापा उपाध्यक्ष काशी कार्की, अर्जुनधाराकी रञ्जिता कार्की, अजयराज कार्की, डम्बरबहादुर कार्की, गोकर्ण कार्की लगायतले बोलेका थिए । कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, संस्थाका कोशी प्रदेश अध्यक्ष हरिबहादुर कार्की, नेत्रप्रसाद कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष गणेशप्रसाद कार्की तथा लेखक सुरेन्द्रकुमार कार्कीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । आयोजक संस्थाका बिर्तामोड नगर अध्यक्ष तुलसी कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सल्लाहकार संयोजक गोविन्द कार्कीले गरेका थिए ।