काभा महिला भलिबल : उपाधिको लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको फाइनलमा बुधबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो ।
नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ । नेपालले सेमिफाइनलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।
समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त भेटको पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५–१७ ले पाखा लगाएको थियो। चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।
समूह चरणामा नेपालसँग मात्र पराजित भएको भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।