‘अश्वत्थामा’ को दृष्टिकोणमा महाभारत
– गगन ढकाल
सुपरिचित झापाली लेखक कुमार भट्टराईद्वारा लिखित ‘अश्वत्थामा’ उपन्यास महाभारतको स्थापित दृष्टान्तप्रतिको तीखो प्रहार हो । आजसम्म इतिहास जित्नेको पक्षबाट जित्नेहरुले नै लेखाईएको पाइन्छ । जित्नेहरुले इतिहास आफ्नो पक्षमा मात्र लेखाएनन् उनीहरुले आफूलाई देवत्वकरण नै गरेका थुप्रै दृष्टान्तहरु छन् । लेखक भट्टराईको ‘अश्वत्थामा’ उपन्यासले महाभारतको स्थापित इतिहास माथि प्रश्न उठाएको छ । यस उपन्यासमा महाभारतलाई फरक कोणबाट विश्लेषण गर्ने जमर्को लेखक भट्टराईले गरेका छन् । सम्भवतः महाभारतको युद्धमा दुर्योधन पक्ष विजयी हुँदा हुन् त आज हामी यस उपन्यासमा प्रयोग गरिएकै दृष्टिबाट महाभारता पढ्थ्यौं होला ?
चर्चित झापाली लेखक कृष्ण धरावसीद्वारा लिखित ‘राधा’ उपन्यासको कथाशैलीमा रचित यस उपन्यासको कथाको सुरुवात पनि राधामा भएकै शैलीबाट प्रारम्भ भएको छ । एकहदसम्म ‘अश्वत्थामा’ उपन्यासलाई धरावसीको ‘राधा’को सिक्वेल पनि मान्न सकिन्छ । राधामा झैं ‘अश्वत्थामा’मा पनि कथाको सुरुवात अश्वत्थामाकै मुखराविन्दबाट भएको छ ।
महाभारत कथाका एक मुख्य पात्र अश्वत्थामा पाण्डव तथा कुरुहरुका गुरु द्रोणका छोरा हुन् । अश्वत्थामा हिन्दू धर्ममा रहेका अष्ट चिरञ्जिवी मध्ये एक चिरञ्जिवी पनि हुन् । महाभारतको लडाइमा भाग लिएका तथा दुर्योधनका अन्तिम सेनापति अश्वत्थामा स्वयम् झापाको चर्चित धार्मिक स्थल अर्जुनधारामा उपस्थित भएर महाभारतको कथा बताएको शैलीमा यस उपन्यासको कथावस्तु अगाडि बढेको छ । प्रवचनशैलीमा लेखिएको यस उपन्यासको कथावस्तु सरल र सुललित ढंगबाट अगाडि बाढी आदी, मध्य हुँदै उपसंभार भएको छ ।
हामीले बाल्यकालदेखि सुन्दै आएको महाभारतमा सतपात्रका रुपमा पाण्डवहरु रहेका छन् । महाभारत कृष्ण र पाण्डव पक्षलाई केन्द्रमा राखि लेखिएको महाकाव्य हो । जसमा दुर्योधन र सकुनीको कपट र जालसाझीले पाण्डवहरुलाई अपमानित तथा अमानवीय व्यवहार गरिएको देखाइएको छ । महाभारतमा कृष्णले पाण्डवहरुलाई न्याय दिलाएको देखाइएको छ । महाभारतमा कृष्णलाई देवता र पाण्डवहरुलाई नायकका रुपमा स्थापित गरिएको छ ।
झापाको अर्जुनधारा आइपुगेका अश्वत्थामाले आफ्नो अनुभूति सुनाएको र आफ्नो दृष्टिकोणबाट महाभारतको कथाको सविस्तार पुनः व्यख्या गरेको शैलीमा कथा रचिएको छ । अश्वत्थामाले आफ्नो बाल्यकालको भोगाई र अनुभूति सुनाउँदै सुरुगरेको यस उपन्यासको कथावस्तु गंगा, जमुना र सरस्वती नदीको त्रिवेणी किनारबाट प्रारम्भ भएको छ ।
अश्वत्थामा हुँर्कदै जाँदा उनले आफ्नो गरिबी, अपमान र असुरक्षाबीचको अवस्था बुझे । आफ्नै लागि पिताजीले घर छोड्नुको कारण बुझ्न भने उनलाई धेरै समय लाग्यो । अश्वत्थामाको शिक्षाको निम्ति उनीहरु (अश्वत्थामा र उनकी माता कृपी) मामासँग हस्तिनापुर पुगे ।
तैपनि प्रीय त्रिवेणी र मित्रहरुको मायाले उनी पग्लन छोडेनन् । मातालाई मामाकहाँ छोडेर केही समयपछि फेरि उनी पिताजीको गुरुकुलमा जान बाध्य भए । द्रोणले समालेको त्यो गुरुकुलमा उनको कौरव पाण्डवहरूसँग भेट भयो । एउटै गुरुकुलमा पढ्दा उनको सबैभन्दा धेरै प्रेम भने दुर्योधनसँग भयो । दुर्योधनको मिलनसार, सहृदयी, उदार र सहयोगी बानीले आकर्षित भएका उनलाई फेरि पिताजीको अर्जुन मोहले भने अचम्मित पारिरह्यो । पिताजीबाट आफ्नो ब्राह्मण धर्म, आपूmहरूको अवस्था, दरबारिया घटनहरूमा देखाउनुपर्ने तटस्थता आदि अनेक विषय पनि उनले त्यहीँ सिक्न पाए । पाँच पाण्डव र कुरुहरूको प्रतिस्पर्धा र आपसी ईष्र्या पनि देखे । तैपनि निष्कलङ्क दुर्योधनलाई षड्यन्त्रकारीको आरोप लागेको उनले बुझे । पिताजीले निष्कलङ्क मन, आज्ञाकारिता र गुरुभक्तिको कारण देखाउँदै अर्जुनलाई नै संसारको सर्वश्रेष्ठ धनुर्धर बनाउन कर्ण र एकलव्यलाई असह्य अपमान र आघात दिएको कुराले उनको मन तरङ्गित भइरह्यो ।
मित्रतामा दिएको वचन सम्झी दुःखमा गाई माग्न जाँदा राजा दु्रपदले गरेको अपमानको बदला र गाई नलिई घरसमेत नफर्कने अठोट रहेछ द्रोणको । दुःखमा गुरुकुलको जिम्मा दिने पितामहको गुन पनि पिताजीको मनभरि रहेको उनले देखे । सबै बुझ्दै गएका अश्वत्थामाले एक दिन अर्जुनहरूद्वारा द्रुपदलाई पराजित गरी आफ्नासामु हाजिर गराएको पनि देखे । मित्रताका लागि बराबर राज्य बाँडी द्रुपको घमण्ड तोडेर पिताजीले आपूmलाई राजा बनाइदिएको घटना पनि उनले भोगे ।
यस्ता थुप्रै घटनाहरूभित्र लुकेको शत्रुताको बिजले उनी सशङ्कित छँदै थिए । साथसाथै पितामह जस्ता व्यक्तिले भाइभतिजाहरूका लागि गरिदिने गरेको स्त्री अपहरण पनि एउटा समस्या बनेको कुरासमेत उनले बुझे । त्यसरी हुने गरेको अनमेल विवाहले शकुनि र कृष्ण हस्तिनापुरसँग बदला लिन चाहन्थे । त्यसैमा धृतराष्ट्र र कुन्तीबिच मातृ र पितृ सत्ताको लडाइँ छँदै थियो । उता दासीपुत्र भएकै कारण विदुरलाई दरबारले दिएको अपमान पनि युद्घको आगो झोस्नमै लक्षित थियो । हस्तिनापुर जल्नुमा द्रोपदीले दुर्योधन र कर्णलाई गरेको अपमान पनि बिर्सन सकिँदैन ।
कृष्ण, विदुर र शकुनिको छल र युधिष्ठिरको जुवामोहबाहेक भारत वर्षका राजाहरूका बिचको बदलाको भावले पनि एक दिन अकल्पनीय नरसंहार हुन्छ भन्ने कुराको आभास पनि अश्वत्थामालाई नभएको होइन । तैपनि पिताजीको त्यो दरबार निकटता र अनुबन्धनलाई उनले कहिल्यै तोड्न सकेनन् । अन्तमा पिताकै पाइला पछ्याउँदै हिँडेका उनी मातापिता गुमाएर दुर्योधनको मोहसँगै सती गए । त्यही मोह र पाण्डवहरूप्रतिको प्रतिशोधले अन्धो भई अनेक विभत्स हत्यामा उद्यत भए । आफ्नै कुकर्महरूले प्रताडित उनी अन्ततः पीडा बोकेर संसारभरि डुलिरहे ।
अश्वत्थामाको बाल्यकाल हुँदै यस उपन्यासको कथा बिस्तारै हस्तिनापुर तिर लम्किएको यस उपन्यासको कथावस्तुले अश्वत्थामा शिक्षाको निम्ति आफ्नो पिता द्रोणको गुरुकुल पुगे पछि गति लिएको छ । त्यहाँ हस्तिनापुरका युवराजहरु उनका साथी थिए । अश्वत्थामाले सानैबाट पाण्डव र कुरुहरूको आन्तरिक किचलोको कोप भाजनमा परेको देख्न सकिन्छ । सानै बाट पाण्ड भाइ र धुर्योधनबीचको संघर्ष भविष्यमा निम्तिन लागेको महायुद्ध तर्फ उन्मुख थियो । अश्वत्थामाले यस उपन्यासमा सानैबाट तटस्थ रहने यत्न गरे तापनि उनलाई धुर्योधनको व्यक्तित्व र चाडै साथी बनाउने क्षमताले आकर्षित गरेको पाइन्छ । यसै गरी उनलाई युधिष्टिरको शालीनता, अर्जुनको शिक्षाप्रतिको लघाब लगायतका कुराहरुले पनि आकर्षण गरेका पाइन्छ । तर, अश्वत्थामालाई सानैबाट भिम उदण्ड र अराजक लागेको छ ।
गुरुकुलमा अश्वत्थामालाई धुर्योधनले विषेश संरक्षण र प्रेम गरेको छ । अश्वत्थामालाई धुर्योधनले सानैबाट आफ्नो प्रिय मित्र बनाएको छ । तर, कहिलेकाहीँ अश्वत्थामा धुर्योधनको सबैलाई समेट्न सक्ने र पाण्डवहरुलाई आफ्नो हृदयमा अटाउन नसक्ने कुराले अच्चमित भएका छन् ।
‘अश्वत्थामा’ उपन्यास खासमा कौरबका पक्षबाट महाभारतको कथावस्तुलाई गरिएको विश्लेषण हो । यसले मूल महाभाारतमा अलौकिक देखाइएको कृष्णलाई साधरण र कुटिल व्यक्तिको रुपमा स्थापित गरेको छ । सधै सत्य र धर्मका हिमायतीमा रुपमा स्थापित युधिष्टिरलाई श्रीमतीलाई जुवामा दाउ हाल्ने पटमूर्ख र असभ्य राजाको रुपमा चित्रित गरिएको छ । यसैगरी भिमलाई बलको घमण्डले मातिएको एक मूर्ख मानिसको रुपमा चित्रित गरिए तापनि अर्जुनलाई कोमल, मिलनसार र अनुशासित व्यक्तिको रुपमा चित्रित गरिएको छ ।
महŒवकांक्षाको कसीमा उभिएका महाभारतका पत्रहरु जसले हरेक समय आफ्नो शक्ति आर्जन गर्न र त्यसलाई स्थाईŒव प्रदान गर्न गरिएको चालबाजहरुद्वारा उत्पन्न समस्याहरुको यस उपन्यासले सरल व्यख्या गरेको छ । यो उपन्यास मुलतः महाभारतमा जबर्जस्त धुर्योधन पक्षलाई दानवीकरण र पाण्डवहरुलाई जबर्जस्त देवत्वकरण गरिएको विषयमाथि प्रश्न उठाउनमा केन्द्रित छ । साथै महाभारतका खल पात्र धुर्योधनको जस्तै मान होस् भनि नेपालीहरुको महानपर्व दशैंमा आशिर्वाद दिन प्रयोग गरिने श्लोकले लेखकको मथिंगल हल्लाएर यस उपन्यासको शिर्जना भएको पाइन्छ ।
लेखक भट्टराईले आफ्नो यस उपन्यासमा महाभारतको स्थापित दृष्टिकोण माथि प्रश्न उठाउँदै हाम्रो चेतनालाई गरेको प्रश्नहरुले हाम्रो चेतना र मनोवृत्ति दुवैलाई कायल बनाएका छन् । उनले यस उपन्यास मार्फत् मूलतः कुनै पनि विषयलाई एकै पक्षबाट हेरेर त्यसप्रति स्थायी धारणा बनाउन नहुने सन्देश दिएका छन् ।
महाभारतका पात्रहरु हाम्रो मन, मस्तिष्कमा जुन रुपमा बसेको छ त्यसको ठिक बिपरित व्यख्या ‘अश्वत्थामा’ उपन्यासले गरेको छ । विषयवस्तुको हेराइलाई बहुपक्षीय बनाउन खोजिएको यस उपन्यास महाभारतीय मिथकलाई उल्ट्याउँदै केही पात्रहरूलाई न्याय दिने प्रयत्न गरिएको उपन्यास हो । दृष्टिभ्रम, अत्यधिकमोह, अतिविश्वास, गरीबी, अहम्ता, पक्षधरता, कठोर प्रतीज्ञा, स्वाभिमानको अत्यधिक महŒवाकाङ्क्षा, अदृश्य सूत्रधार, ईष्र्या र प्रतिशोध आदि पनि मानव जीवनका दुःखका कारक हुन् भन्ने कुरा उपन्यासबाट सजिलै बोध गर्न सकिन्छ ।
समग्रमा हेर्दा यस उपन्यासले तत्कालीन आख्यानका कोणबाट वर्तमानको राजनीति, कुण्ठा, षड्यन्त्र, अनेक अक्षम्य अपराध, गरिबी, जातीय, क्षत्रीय, लैङ्गिक आदि विभेद र प्रतिशोधको भावले उत्पन्न अनेक समस्याहरूको प्रतीकात्मक ढङ्गले चित्रण गरेको समेत देखिन्छ ।
अन्त्यमा, उपन्यासको सुत्रधारको रुपमा आएका महाभातकालीन मिथ पात्र अश्वत्थामाकै नाममा राखिएको यस उपन्यासको शीर्षक सार्थक रहेको छ । साथै मानव चेतनामा स्थापित मूल्यमान्यता र विचारलाई प्रश्न गर्नु तथा फरक दृष्टिकोणबाट व्यख्या गर्नु यस उपन्यासको प्रयोग हो । साथै हरेक विषयलाई विविध कोण र दृष्टिकोबाट हेरिनु पर्छ वा विश्लेषण गरिनु पर्छ भन्नु यस उपन्यासको मुख्य उद्देश्य रहेको छ ।
मुलतः यो उपन्यास महाभारतको पुनर्लेखन भए तापनि लेखकले यसमा द्वन्द्वको बारेमा पनि आफ्नो धारणा राखेका छन् । लेखकले कुनै पनि द्वन्द्व आफ्नै चेतनाबाट हुँदैन भन्ने धारणा व्यक्त गरेका छन् । यस विचारमा महाभारतको सन्दर्भलाई देखाउँदै लेखकले त्यो महामृत्यु हुने युद्धको प्रेरक दुर्योधनका निम्ति सकुनी र पाण्डवका निम्ति कृष्ण भएको लेखकको तर्क छ । यो तर्कप्रति मेरो पूर्ण समर्थन छ । तर, लेखकले नेपालमा भएका गणतन्त्र स्थापनाका निम्ति भएको द्वन्द्व होस् वा राजतन्त्रको अन्त्य गर्दै लोकतन्त्र स्थापना निम्तिका लागि भएको आन्दोलनमा वैदेशिक शक्ति राष्ट्रहरु प्रेरक भएको तर्क प्रस्तुत गरेका छन् । सायदै त्यो आन्दोलनका निम्ति वैदेशिक शक्ति राष्ट्रहरु प्रेरक भए होलान् तर, त्यो आन्दोलन नेपाली नागरिकहरुले जर्जर बरबरताका बिरुद्ध थियो । दशकौं देखिको त्यो अत्याचार बिरुद्धको थियो ।