पुरानै लयमा फर्कियो सतासी मौरीपालन
६० हजार केजी मह विक्री गर्ने लक्ष्य
सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले मंगलवार नौमति बाजासहित र्याली गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा उद्घाटन हुनु पूर्व निकालिएको र्यालीले दूधे बजार परिक्रममा गरेको थियो ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेर सुरु गरिएको साधारण सभा संस्था सदस्यहरुले तीज मिलन कार्यक्रम गर्दै सम्पन्न गरिएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष धनमाया थापाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संस्थाको वर्तमान अवस्था र भावी योजनाको बारेमा जानकारी दिइन् । संस्था केही समयमा कोरोना र पछिल्लो समय देशैभरी आएको वित्तीय संकटले गर्दा सुस्त भएको थियो । उनले भनिन्, अब संस्था पुरानै लयमा फर्किएको छ । मह उत्पादनमा पनि बृद्धि भएको र बजारी करण पनि पुरानै लयमा फर्किएकाले सबै सदस्य महानुभावहरु मह उत्पादन र बजारीकरणमा लाग्न हुन समेत अध्यक्ष थापाले अनुरोध गरेकी छिन् ।
वि.सं. २०६३ सालमा विधिवत दर्ता गरेर सञ्चालनमा आएको सहकारी संस्थाले २०७४ सालसम्म आइपुग्दा मह उत्पादन र बजारीकरणमा आफ्ने छुट्टै ब्राण्ड बनाई सकेको थियो । सतासी महले देश विदेशसम्म आफ्नो छाप छोडी सकेको अवस्थामा २०७४ सालदेखि संस्थाको मह उत्पादन र बजारीकरणको विस्तार गर्न सहारा सकोससँग ५० लाख बराबरको साझेदारमा मह र मौरीजन्य उपकरण खरिद र सञ्चालन गर्न सम्झौता भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ । सहारा सकोसले २०८० सालसम्म आइपुग्दा सम्झौता गरे अनुसारको सुविधा उपलब्ध नगराएपछि संस्थाले आफै उद्योग सञ्चालनमा ल्याउन सुरु गरिएको हो ।
उनले हाल मह उद्योग सतासी मौरी पालनले नै सञ्चालन गर्दै आएको र पछिल्लो समयमा ३० हजार केजी मह उत्पादन गरी विक्री गरिएको समेत जानकारी दिइन् ।
कार्यक्रममा सतासी महिला मौरीपालन र मह विक्री वितरणमा प्रचार प्रसार गरेर संस्थाको हितमा काम गरेको भन्दै संस्थाका सदस्य हिराकुमारी भट्टराई नगद सहित सम्मान गरेको छ ।
साधारण सभा बैंक तथा वित्तीय संस्था विज्ञ चुडामणी चापागाईले सहकारीका सदस्यहरुलाई मह उत्पादन र त्यसको बजारीकरण, व्यवस्थापन लगायत विषयमा १ घण्टा अभिमुखीकरण गरेका थिए ।
यसैबीच सतासी महिला मौरीपालन संस्थाले तीज मिलन कार्यक्रम पनि गरेको छ । साधारण सभामा उपस्थित संस्थाका सदस्य महिला दिदीबहिनीहरुले दर खाँदै नाचगान समेत गरेका थिए । साधारण समा कृषिज्ञान केन्द्र झापाका वरिष्ठ कृषि अधिकृत सागर विष्ट, वडा नं. ११ का अध्यक्ष बहादुर आङ्गबो, सहारा नेपालकी उपाध्यक्ष पवित्रा लिम्बु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक देवीकुमारी ओलीले गरेकी थिइन् ।