आमाले नै दुई छोरीलाई विष खुवाएर मारेको स्वीकार
विराटनगर । मोरङमा पाँच दिन अगाडि मृत भेटिएका बालिकाहरुलाई उनकै आमाले विष खुवाएको पुष्टि भएको छ। बालिकाकी आमा अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिंदा उनले सुरूमा आफैंले विष खाएपछि छोरीहरुलाई खुवाएको बताएकी छन् ।’
मैले विष खाएपछि छाती पोल्न थाल्यो। म मरे भने छोरीहरू जङ्गलमै हुन्छन् भन्ने लागेर उनीहरूलाई पनि विष खुवाएँ’ उनले भनिन्, ’श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेको हुँ।’
मोरङ सुन्दरहरैंचा–७ स्थित केरा बगानभित्र मृत भेटिएका १ वर्षकी आईका कार्की र ३ वर्षकी अर्पणा कार्कीकी आमा अस्मिता कार्कीलाई प्रहरीले नै झापाको विर्तामोडबाट आज पक्राउ गरेको थियो। घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।
मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको जानकारी दिए । अस्मिताले गत शुक्रबार दुई छोरीलाई लिएर घरबाट हिँडेकोमा शनिबार दिउँसो केराबारीमा छोरीहरुको शव फेला परेको थियो ।