बैशाख ६, २०८१ बिहीबार

सम्पादकीय : कसले गर्दैछ दोहन ?

झापामा अहिले नदीजन्य सामग्री दोहानको विषय अगाडि छ । सामान्य खोल्सी देखि ठुला खोलाहरुमा डरलाग्दो दोहान भइरहेको छ । विरिङ–टाङटिङ, मेचीनगरेको निन्दा, भद्रपुर क्षेत्रहरुमा भइरहेको दोहनका बारेमा नागरिकको तहबाट सामान्य सूचना बाहिर आइरहेको छ । खोलामा जेसीभीको प्रयोग गरेर खोला खन्ने काम भइरहेका छन् । बिर्तामोड–हल्दिवारी र भद्रपुरमा पर्ने देवनीयमा पनि उत्खनन्को काम तिब्र छ । ठेक्का विना अवैध तरिकाबाट भइरहेको दोहन रोक्न कसैले प्रभाकारी चासो दिएको पाइदैन ।

नदीमा जेसीभीको प्रयोग गरेर दैनिक सयौं टिपर सामग्री खरिद विक्रि गरिदैछ । अर्जुनधाराको विरिङ, टाङटिङमा अहिलेसम्म नगरपालिकाले ठेक्का सम्झैता गर्न सकेको छैन । तर, त्यहीबाट दैनिक सयौं टिपर सामग्री बारिह कसरी जाँदैछ । निन्दामा तोकिएको भन्दा चौगुणा उत्खनन् भइरहेको छ । अहिले भइरहेको उत्खनन्ले भोलीका दिनमा गर्ने असरका बारेमा कमैले सोचिरहेका छन् । त्यसको असर भोग्नेहरुले आवाज उठाए पनि टेर्नेवाला कोहि छैन । आखिर कसको आडमा झापा दोहान भइरहेको छ ?

नदीमा दोहानको काम गर्नेहरुलाई पैसाको मतलव छ । उनीहरुलाई राज्य, प्रशासनसँग कमै डर लाग्छ । कानुनी राज्यको समेत उपहास गरिरहेकाहरुलाई स्थानीय सरकारले समेत निमयन गर्न सकिरहेको छैन । खोलालाई व्यापार गर्नेहरु जो कोही हुन्, उनीहरु प्रकृतिका लुटेरा हुन् । सार्वजनिक सम्पत्तिमाथि लुट मच्चाउनेहरुलाई सरोकारवालाले समेत नियमन नगर्नु शंकास्पद छ । जिल्लाभर भइरहेको दोहानले झापाको नदी र त्यस क्षेत्रका आसपासमा ठुलो क्षति निम्त्याउदैछ । पैसामा आँखा बन्द गर्नेहरुका कारण खोलानाला लुटिसकिएको छ । राज्यप्रति प्रेम नहुनेहरुले गरिरहेका यस्ता काम कुनै पनि हालतमा रोनिुपर्छ ।

कानुनी रुपमा मिल्नेसम्म उत्खनन् जायज भए पनि लुट मच्चाउने छुट कसैलाई छैन । आम झापाली नागरिक जाग्ने बेला भइसक्यो । संभावित ठुलो जोखिमलाई अहिले नै समाधान गर्ने भए चरणबद्ध खवरदारी गर्न ढिला भइसक्यो । कहाँ लुके जिल्लाका प्रशासक ? कहाँ हराए अनुगमन गर्ने निकाय ? कता लुके जनप्रतिनिधि ? छिटो बाहिर आऊ र प्रकृति जोगाइदेऊ ।

प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार  ११ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]