बिर्तामोडमा शान्ति सुरक्षा चाहियो
सम्पादकीय
झापाको बिर्तामोड क्षेत्र शहरीकरणको तीब्र गतिमा छ । बढ्दो शहरीकरण र जनसंख्याको चापले यहाँ भीडभाड पनि राम्रै हुने गरेको छ । शहर बढ्दै गएपछि यहाँ अनेकौ चुनौतिहरु थपिदै गएका छन् । शहरीकरण हुनु, विकास हुनु सकारात्मक भए पनि असुरक्षाको जोखिमले नागरिक तहमा त्रास बढिरहेको छ । बिर्तामोडमा दिनहुँ जस्तो हुने अपराधिक क्रियाकलापले यहाँको सुरक्षा प्रशासनमाथि पनि प्रश्न उठाएको छ । सुरक्षाको दृष्टिले कमजोर ठाउँहरुमा अपराधिक घटनाको बढोत्तरी हुने हो । हत्या, लुटपाट, छुरा प्रहार, लागूऔषधको अखडा भएको बिर्तामोडलाई सुरक्षित बनाउनुको विकल्प छैन ।
हरेक हप्ता बिर्तामोडमा छुरा हानाहानको घटना भइरहेको छ । धेरै जसो बिर्तामोडको पश्चिम बसस्टेण्ड क्षेत्रमा छुरा हानाहानको घटना भइरहेको छ । लागूऔषध किनबेचको अखडा बनेको बिर्तामोडको पश्चिम बस स्टेण्ड क्षेत्र सबैभन्दा असुरक्षित मानिन्छ । रातपरेपछि अपरिचित युवा युवतीहरुको ठुलो जमघट हुने गरेको छ । त्यसलाई प्रहरीले नियन्त्रण गर्न सकेको छैन । प्रहरी प्रशासनले यौनधन्दा, लागूऔषध बेचविखनमा संलग्नहरुलाई कुनै पनि सम्झौता बिना कारबाहीको दायरामा ल्याउनुपर्छ । सो क्षेत्रमा प्रहरीले कडाई नगरेकै कारण छुरा हानाहानका घटना पनि कम हुन सकेको छैन ।
हप्तैपच्छिे छुराहाना, लुटपाट, ग्याङ फाइट, लागुऔषधको मुख्य अखडा बनेको बिर्तामोडमा शान्ति सुरक्षाको व्यवस्थापन मिलाउनुपर्ने भएको छ । प्रहरी प्रशासनको संख्या र गस्ती परिचालनको कमजोरीले अपराधिक मानसिकता भएकाहरु सक्रिय भइरहेका छन् । शुक्रवार साँझ अर्जुनधारा–६ महानन्द चोकको मुख्य सडकमा एक युवकले एक किशोरीलाई छुरा प्रहार गरेर हत्या गरे । सो क्षेत्रमा प्रहरीको उपस्थिति छैन । समय–समयमा हुनुपर्ने गस्ती पनि पातलो छ । प्रहरीको कमजोर सुरक्षा व्यवस्थाका कारण अपराधिक प्रवृत्तिका व्यक्तिहरुको मनोवल बढिरहेको छ । यसैले बिर्तामोडमा सुरक्षा व्यवस्थालाई मजवुद बनाउन यहाँको सुरक्षा नेतृत्वले योजनावद्ध हिसावले लाग्नैपर्छ । चाडवाडको मुखैमा यस प्रकारको असुरक्षा हुन्छ भने पछि के हुन्छ ? चोकमा निर्धक्क हिडडुल गर्न गाह्रो हुन थालेको छ । यि कठिनाईहरुलाई मध्यनजर गरेर सुरक्षा बलियो बनाउन अपरिहार्य छ । नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउन सक्नुपर्छ ।