मेचीनगरमा बजार अनुगमन तिब्र
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् ।
बजारमा छ्याप छ्याप्ती गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्य सँग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्रि वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको मेचीनगर खाद्य विश्लेशक दिपेन्द्र कार्की बताउँछन् ।
कार्कीको नेतृत्वमा आइतबार शुरू भएको अनुगमनमा अधिकांश पसलमा गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू फेला परेको पाइएको छ । नगरपालिकाले पहिलो पटक अनुगमनमा व्यवसायीहरुलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गरिने उनको भनाई छ ।
अनुगमनका क्रममा टोलीले धुलाबारीको भुमी पौडेलको पौडेल किराना पसल, श्यामसुन्दर शाहको श्यामसुन्दर किराना पसल, विजय शाहको विजय किराना पसल, उत्तम गुप्ताको पुजा किराना पसल र भुपेन्द्र भट्टराईको आदर्श किराना पसललगायतका खाद्यन्न पसरहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा गुणस्तरहिन र म्याद नाघेको हर्लेक्स, जौको चामल, सस, रसबरी, मिठाइँ, ग्लोकुज, बच्चाको मिठाईलगायत पसलबाट जफत गरिएको कार्कीले जानकारी दिए । उनले चाडपर्व नजिकीएसँगै कालोबजारी हुन सक्ने सम्भावना बढ्ने भएको कारण बजार अनुगमनलाई तिब्रता दिइएको बताउँदै यो कार्य अब निरन्तर चल्ने बताए ।
नगरपालिकासँगै जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग वाणिज्य संघ, उपभोक्ता जागरण अभियान र नेपाल प्रहरीको टोली रहेको थियो ।