बैशाख २४, २०८२ बुधबार

हिरासत कक्ष व्यवस्थित गर

सम्पादकीय
समाजमा कानून विपरित काम गरेबापत अथवा त्यस्ता काम गरेको शंङ्कामा आवश्यक अनुसन्धान र कारबाहीका लागि पहिलो चरणमा प्रहरीले हिरासतमा राख्ने गरेको छ । पहिलो चरण अथवा अनुसन्धानको समयमा कानुन विपरित काम गर्ने वा शंकास्पद व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढाउन त्यस्ता व्यक्तिहरुलाई थुनुवाको रुपमा प्रहरीले हिरासतमा राख्नुपर्छ । जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालयहरुमा हिरासतको व्यवस्था गरिएको छ । हिरासतको व्यवस्था गरिए पनि अधिकांश संरचनाहरु अव्यवस्थित पाइने गरेको छ । हिरासत निर्माणको लागि भवन निर्माणकै बेला खासै ख्याल नगरेपछि प्रहरी कार्यालयहरुमा थुनुवाहरुको विजोग छ ।

झापामा भदौं पहिलो साता मानव अधिकार सञ्जाल र महिला मानवअधिकार रक्षक सञ्जालले जिल्लाका हिरासतहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मानवअधिकारकर्मीहरुले जिल्लाको दुई वटा हिरासत तत्कालै व्यवस्थापन गर्नुपर्ने भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई ध्यानाकर्षण गराएको छ । झापाको बिर्तामोड र दमकको हिरासत अति दुर्गन्धित र अव्यवस्थित भएको विवरण ध्यानाकर्षणपत्र मार्फत पठाइएको छ । बिर्तामोडमा थुनुवाको संख्या धेरै भएकाले सुत्नबस्न पनि कठिनाई छ । धेरै जसो लागुऔषध प्रयोगकर्ताहरु बसेकाले दुर्गन्ध पनि उस्तै छ । दुर्गन्ध हटाउन तत्कालै कार्यालयले ध्यान दिनुपर्ने देखिन्छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा दुर्गन्धसँगै थुनुवाको पनि चाप छ । यहाँ महिला थुनुवा समेत राख्ने ठाउँ छैन । महिला थुनुवालाई जिल्ला पठाउने गरिएको छ । बिर्तामोडमा तत्कालै महिला हिरासतको व्यवस्थापन र सरसफाईको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । यस्तै, दमकमा महिला थुनुवा सुरक्षित नभएको मानवअधिकारकर्मीहरुले अनुगमनमा देखेका थिए । एउटै ढोकाबाट महिला पनि हिरासत छिर्नुपर्ने, महिलाहरुको गतिविधिहरु पुरुष थुनुवाले देख्ने लगायतका समस्या देखियो । झापा प्रहरी, जिल्ला प्रशासनले हिरासतको समस्या समाधानमा तत्काल लाग्नुपर्छ । थुनुवाहरुले पनि हिरासतको मापदण्ड बमोजिम बस्न पाउनुपर्छ । उनीहरुको त्यो अधिकारलाई हनन् गर्न पाइदैन ।

प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार  ११ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]