शिवसताक्षीको धरमपुर बजार अनुगमन, सढेको मासु पुरियो
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले सोमवारबाट बजार अनुगमन सुरु गरेको छ । चाडबाड नजिकिदै गर्दा बजारमा अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो ।
शिवसताक्षी वडा नं. १ स्थित धरमपुर बजार अनुगमन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । बजार अनुगमनमा क्रममा पहिलेको जस्तो ठुलो परिमाणमा अखाद्य बस्तुहरु फेला नपरेको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । छिटपुट रुपमा केही पसलहरुबाट विस्कुट, पाउरोटी, कोल्डड्रिक्सहरु म्याद गुज्रिएको अवस्थामा फेला परे पनि गएको अनुगमनमा भेटिए जस्तो ठूलो परिमाणमा नभेटिएको उनले जानकारी दिइन् । धरमपुरको एक मासु पसलबाट सडेको मासु फेला परेको थियो । उनले भनिन्, त्यसलाई अनुगमन टोलीले खाल्डो खनेर पुरेको छ ।
अनुगमनका क्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङफेले नगरबासीको स्वास्थ्यलाई मध्य नजर गर्दैै व्यापारीहरुले चाडपर्वमा म्याद गुज्रिएका सामग्री बेच्ने गरेकाले पनि अनुगमन गर्नु परेको बताइन् ।
कुुनै कुनै खाद्य सामग्रीहरु स्थानीय व्यापारीहरुसँग आइपुग्दा नै म्याद गुज्रिन लाग्दा आइपुग्ने व्यापारीहरुले गुनासो गरेका छन् । व्यापारी भन्छन्, हामीले सामान अडर गर्छै, सामान हामीसँग आउँदा नै म्याद सकिन लाग्दा आइपुग्छ । कतिपय सामानको हामीलाई पनि थाहा हुँदैन ।
अनुगमनका क्रममा १५ ओटा पसलको नविकरण गर्न बाँकी र २ ओटा पसल नयाँ दर्ता गर्नुपर्ने देखिएको अनुगमन टोलीका सदस्य तथा सहकारी प्रमुख बद्री दाहालले जानकारी दिए ।
धरमपुरमा कृषि शाखा प्रमुख रविन भट्टराई, स्वास्थ्य शाखाका हरि विमली, कर्मचारी दिपक तामाङ्ग, प्रहरी, नगर प्रहरीलगायतको टोलीले अनुगमन गरेको थियो ।