नेवार समुदायको घरघरमा कुछी भ्वयः मनाइयो
भक्तपुर, २४ असोजः विजयादशमीको आठौँ दिन आज साँझ नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाएका छन् । नेवारीमा कुछीको अर्थ दुई ‘माना’ र भ्वयको अर्थ ‘भोज’ भएकाले यसलाई कुछी भ्वय भन्ने गरिएको संस्कृतविद् अष्टकुमार जोशीको भनाइ छ ।
नेवार समुदायले आज महाअष्टमी मनाउने क्रममा दिन विशेष गरेर केराको पातमा भर्खर जन्मेको बालकका लागि समेत दुई माना चिउरा र विभिन्न १२ प्रकारका खाद्यान्नहरु केराको पातमा राखेर भोज खाने प्रचलन कुछी भ्वयमा रहेको उहाँले बताउनुभयो ।
नेवार समुदायमा सयौवर्ष अगाडिदेखि टोल छिमेक संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र त्यो मासु घरघरमा भित्र्याउने प्रचलन अहिले पनि छ । यसरी मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कदै मासुलाई मन्छाउने प्रचलन रहेको संस्कृतविद जोशीले जानकारी दिनुभयो । भक्तपुरबाहेकका ठाउँमा भने नेवार समुदायले दसैँ मनाइरहँदा मोहनी नखः मनाउने परम्परा रहेको उहाँले बताउनुभयो ।
नेवार समूदायमा वर्षभरी मनाईने चाडपर्व मध्ये मोहनी नखः सबैभन्दा महत्वपूर्ण र ठूलो चाडको रुपमा मनाउने गरिन्छ । मोहनी नखःले सबै परिवार, छुटिएका दाजुभाइ समेत एकै स्थानमा बसेर भोज खाने, ठूलालाई आदर सत्कार गर्ने प्रचलन रहेको जोशीले बताउनुभयो । अष्टमीका दिन स्थापना गरिएको पुस्तक, तथा सरसामानलाई पूजाआजा गर्ने प्रचलन समेत छ ।
नेवार समुदायमा मान्छे मरेर जुठो परेको छ भने पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको अर्का संस्कृतिकर्मी राजकाजी शाक्यले बताउनुभयो । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको बताउदै उहाँले नयाँ बुहारी ल्याएको घरमा दाजुभाइलाई विवाह भोज खुवाएको छैन भने ती नयाँ बुहारीलाई भने कुछी भ्वयमा भोजमा सहभागी नगराउने प्रचलन समेत रहेको बताउनुभयो ।
कुछी भ्वयमा खानैपर्ने १२ थरीका ल्वसाघासा (परिकारहरु छोयला १२ टुक्रा, केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी ९काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने परम्परा रहेको उहाँले बताउनुभयो । त्यसैगरी यसमा फलफूल (खयपिचयपि) मा अम्बा र केरा समेत अनिर्वाय खाने प्रचलन रहेको छ ।
दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय् रहन गएको भन्ने भनाइ रहेपनि केही संस्कृतीकर्मीहरुले भने कुलका सबै परिवार एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुछी भ्वय् हुन गएको भनाइ रहेको छ ।
माको सानो घैँटोमा जाँड-रक्सी र त्यसमाथि सलिँमा (माटोको सानो भाँडा) एक टुक्रा राँगाको मासु राख्नुलाई ‘थापिँचा स्वनेगु’ भनिन्छ ।
दशमीको दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरेर त्यही थापिँचाको जाँड र मासु पोलेर प्रसादको रूपमा खान दिइन्छ । त्यो खाएमा पेटको विकार निको हुन्छ भन्ने मान्यता आजसम्म पनि रहदै आएको संस्कृतविद् जोशी बताउनुहुन्छ ।