चाडपर्वसँगै हराउँदै मौलिकता
रामकुमार एलन
हाम्रा चाडपर्वहरु बदलिएका छन् । यद्यपि यसको मानक बदलिएको छैन । दसैँ, तिहार, छठलगायत पर्वहरुले देशव्यापी आकार लिइरहँदा पर्वका खास महत्व र गरिमा पर्वसँग जोडिएका मौलिकता भने हराउँदै गएका छन्, मेटिँदै गएका छन् । यसले हाम्रा चाडपर्व कर्मकाण्डीमा सीमित हुन थालेको देखिन्छ । चाडपर्व खागरी दसैँ, तिहार आउँदा परिपाटी नै बनेको छ गाउँ जाने–फर्किने । बिस्तारै पर्वहरुको मानक यस्तैमा सीमित भइरहँदा पर्वका अर्थहरु पनि हराउँदै जाने अवस्था बनेको छ । पर्वको रौनक नै मेटिने सङ्केत गर्दैछ । एकातिर दसैँ, तिहारजस्ता पर्वहरुमा जति प्रहार भइरहेका छन्, त्यसको खण्डन पनि भइरहको छैन भने अर्कातिर पर्व मनाउने नाममा मानकहरु किन महत्वपूर्ण छन्, यो हाम्रो सभ्यता र सम्पदा पनि हो भनेर नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिरहेका छैनौँ । यसैले दसैँ, तिहार विस्तारै सङ्क्रान्ति, मसान्तजस्तो सामान्य तिथिमा सीमित हुने अवस्था बन्दैछ ।
दसैँबारे नकारात्मक हिसाबले चर्चा र आलोचना हुने गरेको छ । जस्तो, निम्छरालाई खाने चामल छैन, टीका लगाएर करोडको चामल खेर फालिएको छ, अनावश्यक बली देखाउने गरिएको छ । यसलाई नयाँ पुस्तामा पनि नेपालीको पहिलो चाडका रुपमा स्थापित गरिनुपर्छ भनेर चिन्तन् पनि हुन छाडेको छ । चाडपर्वका केही मौलिकताहरु विस्तारै हराउँदै गएका छन् ।
फूलपातीको हर्षबढाइँ
बडादसैँमा घटस्थापनादेखि १५ दिन नै दैनिकजसो नयाँ देवीको पूजाआराधना गरिन्छ । जमराको महत्वलाई हामीले युवा पुस्तामा लगेका छैनौँ । बरु अनेक फूल शिरमा सिउरेर भए पनि आशीष दिएर दसैँको औपचारिकता पूरा गरिरहेका छौँ । जौको जमराको महत्वबारे चर्चा गर्न छाडेका छौँ । हरेक दिन पुजिने देवीदेउताबारे पनि नयाँ पुस्तालाई रुचि र ज्ञान छैन । हामीले पनि यसको महिमा नयाँ पुस्तालाई बुझाउन चाहेका छैनौँ । क्रमशः दसैँको सातौँ दिन फूलपाती भित्र्याउने हर्कबढाइँ बडादसैँभित्र हराउँदै गएको एउटा महत्वपूर्ण कडी बन्ने गरेको छ । फूलपातीका दिन साँझ पूजापाठसहित फूलपाती भित्र्याउने दसैँको रौनक घट्दो छ । यसको पहिलो कारण अचेल फूलपातीका दिनसम्म कामकाजी युवा कार्यालयको काम सकेर बल्ल घर आउने चटारोमा हुन्छन् । घरमा छोरा, नाति नभएपछि एक्ला अभिभावकले फूलपातीको रौनक थेग्न सक्दैनन्, भित्र्याउन पनि सक्दैनन् । सन्तान नआएसम्म दसैँ नलाग्ने हाम्रो गाउँघरमा फूलपातीका दिनसम्म घर नपुग्ने क्रम बढ्न थालेको धेरै भयो ।
पहिलाजस्तो षष्ठीकै दिन छोरा, नाति बाहिरबाट घर आइपुग्थे र फूलपातीका दिन भब्यसँग हर्कबढाइँ हुन्थ्यो । अब त सन्तान नै महाअष्टमीका दिन पुग्न थाले । त्यसैले हर्कबढाइँका साथ फूलपाती भित्र्याउने पुस्ता गाउँमा छैन । गरिखाने वर्गजति सहर केन्द्रित हुनु परेकाले जमरा राख्ने काम त हुन्छ तर यसका सातौँ दिनको फूलपाती भित्र्याउने संस्कार लोप हुँदैछ । बन्दुक पड्काएर जुन हर्कबढाइँ हुन्थ्यो, अचेल यस्तो हुँदैन । महाअष्टमीमा बडाघरमा हुने पूजा पनि हराउन थालेको छ । गाउँमा जम्मा भएकाहरु हतारमा टीकाका दिन साइतको टीका थापेर मावल र ससुराल जाने चटारो हुने गरेको यो वर्ष गाडी उस्तै अभाव थियो । गाउँका गाडी भरिभराउ थिए । टाढाको यात्राका लागि सहज थिएन । त्यसैले पनि गाउँ आएकाले साथीभाइ भेटघाट र खुशी साटासाट अनुभूत गर्न पाएनन् ।
पिङहरु गायव
बडादसैँ, तिहारमा गाउँमा रोटेपिङ हाल्ने, लिङ्गेपिङ हाल्ने संस्कार पनि विस्तारै हराउँदै गएको छ । गाउँका युवा व्यस्त हुँदा र गाउँमा युवा नहुँदाको परिणाम यस्ता कुराहरुमा देखिन थालेको छ । देश बाहिर गएका युवा पनि छोटो समयलाई आउने भएकाले गाउँमा चाडपर्वका कैयौँ मौलिकता विस्तारै हराउँदै जान थालेका छन् । सबै भेला हुने, गाउँमा पिङ हाल्ने, नाचगान गर्ने, रातभर रोधी बस्नेजस्ता कार्यक्रम चाडपर्वको नियमितताभित्र पर्न छाडेका छन् । डिजिटल पुस्तालाई संस्कृतिबारे बताउने समय पनि नहुने गरी अभ्यस्त बनेका नेपालीले चाडपर्वको कैयौँ मौलिकता मनाउन छाडेका छन् भन्दा पनि हुन्छ ।
पहिलापहिला गाउँमा युवा क्लबले खर ९बाबियो० काट्ने, सार्वजनिक चौरमा भेला भएर पयो हालेर पिङ बाट्ने, काठ काठेर पिङ हाल्ने काम गर्थे । अचेल गाउँ पुगेका युवा पुस्ताबीच चिनजानसमेत हुन छाडेको छ । गाउँको सामाजिक काममा धेरैको संलग्नता नै हुन छाडेको छ । बाटो सरसफाइ गर्ने, चौडा बनाउने काम गर्ने युवा अचेल गाउँमा छैनन् । सबै घरघरमा व्यस्त हुने गर्छन् । विस्तारै डिजिटल प्रणालीले युवा पुस्तालाई एक्ल्याएर सामाजिक कार्यमा समेत सामूहिकताबाट अलग गराउन थालेको छ । यसको असर चाडपर्वहरुमा पिङ हराउन थालेको छ । गाउँका चौरमा रोटेपिङ, लिङ्गेपिङ मच्चिन छाडेका छन् । केही भूगोलमा हालिएका पिङहरु सामाजिक सञ्जालमा भाइरल पो भइरहेका छन् ।
बिर्सन थालियो मठमन्दिरका महिमा
पछिल्लो समय चाडपर्वमा घर आउने पुस्तालाई गाउँघरका धार्मिक मठमन्दिरमा किन पूजापाठ हुन्छ भन्ने चासो पनि हुन छाडेको छ । चाडपर्वका बेला विभिन्न शक्तिपीठमा पूजाआराधना हुने गरेका छन् । तिनको आफ्नै धार्मिक महत्व छ । तर धर्मप्रति घट्दो रुचि र पुरानो पुस्ताले पनि यस्ता शक्तिपीठप्रति कम चासो जगाउने गरेकाले नयाँ पुस्तालाई आफ्नै आसपासका धार्मिक मठमन्दिरप्रति कुनै रुचि छैन । मठमन्दिर पछिल्लो समय वश पर्यटकीय केन्द्रका रुपमा परिचित हुँदै गएका छन् ।
मन्दिरमा दर्शन भन्दा प्रदर्शन गर्ने होड चलेको देखिन्छ । जुन मन्दिरमा गएका छन्, त्यो मन्दिरको महत्व भन्दा बढी त्यहाँ घुमघाम र फोटो खिच्नमै युवा पुस्ता रमाउने गरेका छन् । यसैले मठमन्दिरको महिमा पनि चाडपर्वको दैनिकीबाट विस्तारै हराउँदै गएको छ । हामी बदलिने नाममा मौलिकता बिर्सिरहेका छौँ । सभ्यता भुलिरहेका छौँ । चाडपर्वलाई हामीले फरक बनाउने नाममा योसँग जोडिएका मौलिकता सकाउँदै गइरहेका छौँ ।
हराएको चङ्गा
शारदीय वायुमा चङ्गा उडाउन सहज हुन्छ । चङ्गा उडाउनु रमाइलो वा मनोरञ्जन मात्र होइन । विजय र वर्चश्वको बोध गरेर उड्ने चङ्गा जीवन दर्शन पनि हो । उमङ्गको प्रतीक हो । चङ्गाको आविष्कार चीनमा इशापूर्व तेस्रो शताब्दीमा भएको हो । विश्वमै पहिलो चिनियाँ दार्शनिक हुआङ थेगले चङ्गा बनाएका थिए । यस हिसाबले हेर्दा चङ्गाको इतिहास दुई हजार तीन सय वर्ष पुरानो छ ।
नेपालमा भने ‘वर्षा र सहकालका देवता ईन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो’ भन्ने सन्देश पु¥याउन चङ्गा उडाउने प्रचलन शुरु भएको भन्ने छ । धागोले बाँधिएर लट्टाईबाट नियन्त्रण गरिने चङ्गा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार हो । चाडपर्वमा चङ्गा उडाउने चलन छ । दुःख, पीडा भुल्दै रमाउने माध्यम पनि हो चङ्गा । चङ्गा चेट प्रतियोगिता पनि हुन्थे । अचेल डिजिटल पुस्ता आयो । हातमा मोबाइल आयो । मोबाइलमा धेरै कुरा आए । हामीलाई यसले निहुरिने बनायो । यसैले आकाशतिर फर्केर चङ्गा उढाउने कार्यहरु हराउँदै गए । चाडपर्वमा चङ्गा उडाउने चलन पनि लगभग लोपोन्मुख छ ।
भेटघाट महोत्सव
यसरी नेपालीको पहिलो र महान पर्व बडादसैँ अचेल वश पुख्र्यौली घर पुग्ने, ठूलाबडाबाट आशिष थाप्नेमा सीमित हुँदै गएको छ । मठमन्दिरमा लाग्ने मेला पनि पर्यटकीय प्रवद्र्धनमा सीमित हुन थालेका छन् । बडादसैँमा धार्मिक मठमन्दिरमा हुने मेला, बलीबारे नयाँ पुस्तालाई हामीले सुनाउन छाडेका छौँ । उनीहरु सुन्न र बुझ्न छाडेका छन् । बडादसैँ परिस्कृत हुन जरुरी छ । अनावश्यक बलीप्रथालाई हामीले हटाउँदै जानु पर्छ । चाडपर्व सभ्यताको मानक र सांस्कृतिक पाटो भने विस्तारै लोप हुँदैछ । हामी चाडपर्वलाई फगत आफन्त भेटघाट महोत्सवमा सीमित पारिरहेका छौँ । चाडपर्वमा दिइने दक्षिणालाई पनि हामीले फेरेका छौँ । दसैँमा छोरा, नातिलाई हामीले दक्षिणा दिन गर्थेनौँ । तर अचेल सबै बराबरी भनेर दक्षिणा दिने गरेका छौँ ।
विस्तारै हामी राष्ट्रिय पर्व बडादसैँका केही मौलिकता मेट्दै गइरहेका छौँ । दसैँ गरिमा र महिमा अनि मौलिक पाटोमा नयाँ पुस्तालाई जोड्न सकिरहेका छैनौँ । केही वर्षपछिका दसैँ कस्ता होलान् रु घरमा जमरा राख्ने चलन हट्नेछ । फूलपाती भित्र्याउन छाडिसक्यौँ । आँगनमा बोको, खसी काटिने छैन । धार्मिक शक्तिपीठहरु घुमामस्थलमा सीमित हुनेछ । अनि मौलिकता गुगलमा सीमित हुनेछ । पृथ्वीनारायण शाहले गोरखाबाटै फूलपाती ल्याएर काठमाडौमा भित्र्याउने चलन अहिले पनि कायम छ तर यसको अर्थ धेरैलाई जानकारी हुन छाडेको छ ।
देउसीभैलो र भजनकीर्तन
चाडपर्वकै कुरा गर्दा तिहारका बेला लक्ष्मीपूजाका दिनसम्म भैली खेल्ने र त्यसपछि देउसिरे खेल्ने प्रचलन थियो । अझ यसमा भजनकीर्तन पनि गर्ने सभ्यता थियो । अचेल देउसीभैलोको महिमा पनि बालबालिकाको मनोरञ्जनमा सीमित भएको छ । धार्मिक कथनहरुलाई भजनमा ढालेर गाउने प्रचल हट्दो छ । तिहारका बेला भैलोलाई पनि हामीले संरक्षण गर्न सकिरहेका छैनौँ । देउसी रेलाई पनि विस्तार बिर्सँदै गएका छौँ । ‘कात्तिके दान’को महिमा जोडेर एकादशीसम्म कतैकतै भजनकीर्तनसहित देउसिरे खेल्ने चलन पनि हराउन थालेको छ । चाडपर्वका नाममा बिदामा रमाउने, मोबाइलमा रत्तिने र डिजिटल पुस्ताको अभ्यस्तपनले हाम्रा चाडपर्वहरु मौलिकताविहीन हुँदै जान थालेका छन् । यसले चाडपर्वलाई इतिहासको गर्वतिर धकेलिरहेको छ भने हामी विश्वव्यापी गाउँको सदस्य हुने होडमा आफ्नो रीतिरिवाजलाई भुल्दैछौँ ।
युवारहित गाउँ
हामीसँग अब सहरलाई पठाउने युवा पुस्ता उत्पादन हुन छाडेको छ । अहिले मात्रै फाट्टफुट्ट युवा गाउँ आएर चाडपर्वको रौनक देखिएको हो । अब विस्तारै गाउँ खाली हुँदैछ । चाडपर्वमा युवापुस्ता गाउँ आउने होइन, गाउँमा भएका अभिभावक चाहीँ सहर झर्ने क्रम शुरु भएको छ । सन्तानहरुले गाउँमा भएका आफ्ना अभिभावकलाई सहर बोलाउन शुरु गरेका छन् । जहाँ आफ्ना सन्तान, त्यहीँ चाडपर्व । चाडपर्वको भाष्य पनि बदलिँदैछ । पहिला अभिभावक भन्थे, ‘सन्तान आएपछि चाडपर्व आएजस्तो लाग्छ ।’ अचेल भन्न थालेका छन्, ‘छोराछोरी सहरमै छन्, हामी पनि गएपछि चाडपर्व शुरु हुन्छ ।’ हो, अब सहरमै चाडपर्वको रौनक देखिनेछ । गाउँ आउने झन्झटभन्दा अभिभावकलाई सहर बोलाउने क्रम शुरु भएको छ । यो क्रम नेपालमा मात्र होइन, विदेशिएका सन्तानले पनि अब आफ्ना आमाबाबु उतै लैजान थालेका छन् । बसाइँ सरेरै युग बितिरहेको नेपाली पुस्ता पछिल्लो समय चाडपर्व लिएर गाउँ आइरहेका छैनन्, विस्तारै गाउँबाट चाडपर्वको रौनक पनि सहर र विदेशतिरै लगिरहेका छन् । यो क्रम हामीले रोक्न सकेनौँ भने अब गाउँ युवारहित हुँदा हामी चाडपर्वको मौलिकता हराइरहेको भन्दै चिन्तन त गरिरहेका छौँ, विस्तारै चाडपर्व नै मासिने अर्को खतरा पनि देखिन शुरु भएको छ ।