मंसिर २२, २०८१ शनिबार

बुढेसकालको सहारा बुहारी

बिबेक प्रसाई

हामीले प्राय : सुन्दै आइरहेका छौ कि छोरा बुढेसकालको सहारा हुन्छ । त्यसैले त मान्छेहरू आफ्नो जिन्दगीमा एक छोराको लागि रहर गर्छन् ताकि बुढेसकाल राम्रोसँग काट्न सकियोस् । यो कुरा पनि सहि नै हो, किनकि छोराले नै घरमा बुहारी ल्याउछ । बुहारीको आगमन पछि, एउटा छोराले लगभग आफ्नो सारा जिम्मेवारी बुहारीको काँधमा थुपारिदिन्छ र त्यसपछि बुहारी बन्छिन् आफ्नो बुढा सासुससुराको बुढेसकालको सहारा ।

हजुर हो, म यो कुरा मान्छु कि, उनि बुहारी नै हुन्छिन् जसको सहारा बृद्ध सासुससुराले आफ्नो जीवन ब्यतित गर्छन् । एउटी बुहारीलाई आफ्नो सासुससुराको पुरै दिनचर्या थाहा हुन्छ । को कतिखेर चिया पिउछन्, सासुससुराको लागि कुन खाना कतिबेला बनाउनुपर्छ, दिउँसो नास्ता के दिनुपर्ने र बेलुका हरहालतमा ८ बजेभन्दा अगाडि खाना बनाउनुपर्छ । यदि सासूससुरा बिरामी भएभने पुरै तनमन लगाएर बुहारीले स्याहारसुसार गर्छिन् ।

यदि एक दिनको लागि बुहारी भइनन् भने, या काहीँ काम विशेषले गइन् भने बिचरा सासुससुरालाई यस्तो लाग्छ कि जस्तो उनिहरुको सहारा नै कसैले खोसिदियो । उनिहरु चिया नास्ता देखि खानाको लागि छट्पट्याउछन्, कसैले उनिहरुलाई भोक लागेको छ भनी सोध्दैनन् ।

किनकि छोराको त फुर्सद नै हुदैन, यदि छोरालाई फुर्सद भएपनि उ त केही गर्न सक्दैन कि आमा बुबालाई बिहान देखि बेलुकासम्म कुन–कुन खाना दिनुपर्छ भनेर किनकि छोराले छोटो प्रश्न गर्छ र उसको बुबा आमा प्रतिको जिम्मेवारी सकिन्छ । जस्तैः आमा बुबाले खाना खानुभयो ? चिया पिउनुभयो ? नास्ता गर्नुभयो ?

तर कहिले पनि यो बुझ्ने कोसिस गर्दैन कि उहाँहरू के खाने गर्छन्, कसरी चिया नास्ता गर्छन् । यो लगभग हामी सबैको घरको कहानी हो ।

बुहारीले आफ्नो सासुको बिरामीमा तनमनले सेवा गर्ने गर्छिन् । जसरी एउटा बच्चा आफ्नो सबै काम आफ्नो ओछ्यानमा गर्छन् । ठिक त्यसरी नै उनको सासुले पनि गर्ने गर्छिन् र बिचरी बुहारी ती फोहोरहरु घिन नमानी साफ गर्ने गर्छिन र छोरा यो देखेर तर्केर भाग्ने गर्छ । किनकि ऊ आफ्नो आमालाई यस्तो हालतमा हेर्न सक्दैन । त्यहीँ भएर उनिहरुको नजिक जाँदैन, यस्तो कयौं बुहारीको उदाहरण छन् ।

मैले आफ्नो आमा र काकीले हजुर बुबा हजुरआमालाई यसरी सेवा गरेको देखेको छु । यस्तो कयौं उदाहरण तपाइँहरुले पनि देख्नुभएको होला । तपाइँहरू मध्ये कति बुहारीहरुले, आफ्नो सासूससुरालाई यसरी नै सेवा गर्नुभएको होला या गर्दै हुनुहुन्छ ?

कहिलेकाही यस्तो पनि हुदोरहेछ कि छोराले यस संसार छाडेर जान्छ, त्यसबेला बुहारी नै हुन्छिन् । जसले उसको आमाबुबाको सेवा गर्छिन् । आवश्यक पर्दा बाहिर काम पनि गर्छिन् । तर यदि बुहारीले संसार छाडेर गएकी छिन् भने छोराले एउटी दोस्री बुहारी लिएर आउँछ । किनकी उसले आफ्नो आमा बुबाको सेवा गर्न सक्दैन । उसलाई आफै उनै बुहारी नामको सहाराको जरुरत पर्छ ।

त्यसैले त म बिश्वास गर्छु कि बुहारी नै हुन्छिन् बृद्धअवस्थाको असली सहारा, तर अफसोच बुहारीको त्याग र सेवा उनिहरुले पनि देख्दैनन् जसको लागि दिनरात भागदौड गरि रहन्छिन् ।

तपाइँले मेरो दृष्टिकोणबाट हेर्नुहुन्छ भने, यो माथि लेखिएको कुरामा सहमत या असहमत हुनुहुन्छ, आफ्नो प्रतिक्रिया दिनुहोला । 

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]