भीडले दिदैन निकास
सम्पादकीय
पोखरामा यतिबेला विभिन्न खाले भीडहरु देखिरहेको छ । गत शुक्रवार रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रीत भीड जम्मा भइरहेको देखिन्छ । यसले उनको पक्षमा पार्टीका कार्यकर्ताहरु दृढ रहेको स्पष्ट छ । पोखरामा रास्वपाका नेता, कार्यकर्ताहरु पार्टी सभापतिको बचाऊका लागि आन्दोलनमा छन् । अर्कोतिर सहकारी पीडितहरु सहकारी ठगीमा संलग्नहरुलाई कारबाहीको माग गरिरहेका छन् । श्रम गरेर दुखले छाक टारेर बचेको रकमलाई सहकारीमा जम्मा गर्ने सहकारीका सदस्यहरु लामिछाने पक्राउ परेसँगै न्यायको झिनो आशामा बसेका छन् । उनीहरु भीड अलग छ । अर्को भीड भनेको भीडहरुको पनि दर्शक । रमिता हेर्नेहरुको भीड पनि राम्रै छ । जो, सहकारी पीडित होइनन्, रास्वपाका कार्यकर्ता पनि होइनन् ।
अनुसन्धानका लागि पक्राउ परेका पार्टी सभापति रवि लामिछाने कानुनभन्दा माथि होइनन् । यो कुरा लामिछानेले बुझेका छन् र उनका नेताहरुले पनि बुझेका छन् । सबै कार्यकर्ताहरुले नबुझेका हुन् सक्छन् । कानुनी प्रक्रिया चलिरहेको बेलामा भीड देखाएर अदालत तर्साउने जुन काम भएको छ, यो निन्दनीय छ । सडकमा शान्ति सुरक्षाका लागि निषेधित क्षेत्र तोकियो । त्यहाँ रविका समर्थकहरु पुगे । प्रहरीले अश्रु ग्यास छोड्नु पर्यो । पानीको फोहोरा चलायो । भीडले प्रहरी प्रशासन, अदालत र सरकारलाई तर्साउन खोजेको देखियो । नयाँ पार्टीले नयाँ काम गर्नु पर्नेमा पुरानै पार्टीहरुले गर्ने प्रवृत्ति रास्वपाले पनि देखायो ।
भीडभाडले हुने भए यसअघि पूर्व गृहमन्त्रीहरुको हातमा हतकडी लाग्ने थिएन । जेल बस्नु पर्ने थिएन । अहिले पनि सहकारीमा अनियमितता गरेकाहरु हिरासतमा बसिरहेका छन् । पूर्वमन्त्रीहरु जेलमा छन् । ठुला पार्टीका शक्तिशाली भनिएका नेताहरु पनि जेलमा छन् । जेल जाने भनेको दोषी ठहरिएमा वा पूर्पक्षका लागि हो । सफाई पाउनेहरु जेल जानै पर्दैन । यति कुरा रास्वपाका कार्यकर्ताहरुले बुझ्नुपर्छ । भीडले हुने भए एमालेले देशमा कम्यूनिष्ट शासन चलाइसक्थ्यो । राजेन्द्र लिङ्देनहरुले राजा लेइसक्थे । कांग्रेसले अरु दलहरुलाई सिध्याइदिन्थ्यो । मधेशवादीहरुले देशलाई टुक्राई सक्थे । यसैले भीडले होइन, देश जनमतको निर्णयले चल्ने हो । भीड मात्रै देखाउनु बेक्कार छ । सबै दलहरुले भीडवाला प्रपोगाण्डा बन्द गर्नुपर्छ । भीडले निकाश होइन, समस्या मात्र ल्याउँछ ।