पटका आतंक नहोस्
सम्पादकीय
आउँदो बुधबारबाट दशैंपछिको ठुलो पर्व तिहार सुरु हुदैछ । तिहार लगत्तै तराईमा छठ पर्व भव्य रुपमा मनाइन्छ । चाडवाडको उत्सव हरेक परिवारको अवस्था अनुसार मनाईन्छ । तिहार चेली माइतीको विशेष पर्व हो । काग तिहार, कुकुर तिहार, लक्ष्मी पुजा, गाई तिहार, गोवर्दन पुजा र त्यसपछि भाई टिका लगाएर पछि तिहार सकिन्छ । तिहार झिलिमिलीको पर्व हो । यो वत्तीको पर्व हो । लक्ष्मीको स्वागतका लागि हरेक घरघरमा झिलिमिली पारिन्छ । माटोबाट बनाइएको दियो देखि विजुली वत्ति पनि झिलिमिली बनाइन्छ । तिहार पर्वमा विशेष गरि आगजनी र पटकाको जोखिम हुन्छ । सबै नागरिकले यस विषयमा संवेदनशिल हुनुपर्छ ।
सर्वप्रथम सुरक्षा निकायले पटका भित्राउन नै दिन हुदैन । पटका पड्काएर उग्रता देखाउनु बेठिक हो । आफ्नो मज्जाको लागि सबैलाई सास्ती दिन हुदैन । यसैले पटका पड्काउनेहरुलाई सचेत गराउनुपर्छ । र, प्रहरीले पटका नियन्त्रणमा चासो दिनुपर्छ । खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजारबाट गैरकानूनी रुपमा झापाका अधिकांश बजारमा व्यापारीहरुले पटका भित्राएका छन् । व्यापारीहरुले पनि नागरिकको जिउज्यानमा जोखिम हुन नदिने गरि सहयोग गर्नुपर्छ । पैसाको लागि पटका लिएर जनधनको क्षति गर्न हुदैन । यसको जिम्मेवारी भनेको व्यवसायीको पनि हो ।
प्रशासन कार्यालयले दीपावलीको समयमा पटाकाजज्य विष्फोटक पदार्थ पट्काउन बर्जित गर्नुपर्ने हो । तर, झापामा औपचारिक रुपमा सूचित गरिएको छैन । केही दिनदेखि साँझको समयमा पटकाको आतङ्क नै सिर्जना गरिएको छ । ठूलो र चर्को आवाज दिने पटाकाको आवाजले आतङ्क मच्चाउँदा प्रहरीले नियमन गर्नैपर्छ । पटाकाजन्य विष्फोटक पदार्थको प्रयोग तथा बिक्री वितरण नियन्त्रणमा प्रहरीले सक्दो प्रयास गर्नुपर्छ र नागरिकको तर्फबाट पनि सहयोग गर्नुपर्छ । यस्तै, दियो वत्ति बाल्ने क्रममा पनि ख्याल गर्नैपर्छ । लक्ष्मी पुजामा वत्ती बालेर छोड्ला, दियो बाल्दा आगजनीको उत्तिकै जोखिम हुन्छ । त्यसैले तिहारको रमझममा कोही कसैलाई पनि क्षति नहोस् ।