भ्रष्टको अनुहार नहेरौं, प्रमाण खोजौं
सम्पादकीय
हरेक नागरिकले राख्ने सोच, देशमा भ्रष्टाचार नहोस् भन्ने हुन्छ । भ्रष्टाचार, अनियमितता र अपराध जस्ता कुनै पनि कुकर्महरु नहुन् भन्ने आम मान्छेहरुको साझा सोच हो । भ्रष्टाचार, अनियमितता र अपराधमा हैसियत र वर्गीय हिसावले माथिल्लो तहमा रहेका मान्छेहरु मात्र संलग्न हुन्छन् भन्ने पनि बुझाई हुन्छ । वास्तवमा भ्रष्टाचार, अनियमितता र अपराधमा सबै तहका मानिसहरुको संलग्नता भइरहेको छ । यसमा तहगत संलग्नता भन्ने छैन । भ्रष्टाचार, अनियमितता र अपराधमा कोहि पनि संलग्न हुनु हुदैन । राष्ट्रलाई कमजोर बनाउने मुख्य कारणमध्येका भ्रष्टाचार, अनियमितता र अपराध हो ।
नेपालमा पछिल्लो समय बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता र अपराधले राष्ट्रलाई कमजोर बनाइरहेको छ । यसमा नेता, व्यापारी र आम नागरिकहरुको उत्तिकै संलग्नता छ । विभिन्न हिसावले ठुला भनिएकाहरु मात्र होइन, भुईमान्छे भनिएकाहरु पनि उत्तिकै संलग्न भइरहेको पाइन्छ । दशैं लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । दोस्रो पटक म्याद थप गरेर अनुसन्धान जारी राखिएको छ । सभापति लामिछाने पक्राउ परेको विषय राष्ट्रिय चर्चाको विषय छ । किनभने, उनी नयाँ पार्टीका सभापति मात्र होइनन्, पूर्व गृहमन्त्री पनि हुन् ।
सोमवार गृहमन्त्री रमेश लेखकले आफ्नो अभिव्यक्तिका क्रममा भ्रष्टहरुको अनुहार होइन, तथ्य र प्रभाण हेरिन्छ भने । वास्तवमा कुनै पनि पार्टीको नेता, सरकारका मन्त्री जोसुकै भए पनि अनुहार हेर्न हुदैन । लामिछाने पक्राउ परेको विषय मात्र होइन, कहिल्यै पनि भ्रष्टाचार, अनियमितता र अपराधमा अनुहार गर्नु हुदैन । तथ्य, प्रमाणका आधारमा दोषी देखिए कारबाही हुन्छ । नभए सफाई पाइन्छ । यो सबैको हकमा लागू हुने विषय हो । रवि लामिछाने पक्राउ परेपछि एउटा भाष्य निर्माण भयो, अरुलाई किन पक्राउ नगरेको ? किन लामिछानेलाई मात्र पक्राउ गरेको ? म दोषी हो, अरु पनि दोषी नै हुन् भन्ने संकेत यसले गरेको छ । यसैले भ्रष्टाचारी, अनियमितता र अपराध गर्ने एमाले, कांग्रेस सबै पार्टीका नेता, व्यापारी, कसैलाई पनि उन्मुक्ति दिन हुदैन । सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ । अनुहार र शक्ति हेरेर हुन्न, प्रमाण पुगेमा जो कोहिलाई कारबाही गर्नैैपर्छ ।