मंसिर २३, २०८१ आईतबार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

बिर्तामोड । आज साँझ छठ पर्वको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज (बिहीबार) मुख्य दिन हो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

उखुको लाक्रा,ठेकुवा, केराको घरीलगायत ७० प्रकारका पूजा सामग्री व्रतीहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । रातभर पूजा सामग्री छठी घाटमै राखेर व्रतीहरू छठी घाटमा बस्ने गरेका छन् ।

बिहान स्नान गरी चोखोनितो गरेर बसेका व्रर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान छ ।

शास्त्रीय मान्यता अनुसार छठको पहिलो दिन मंगलबार व्रतालुले ‘नहाय राय’ गरी यो पर्वको विधिवत् सुरुआत गरेका थिए । उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोक पर्वका लागि झापालगायत मुलुकभरका नदी तथा खोला किनार, पोखरीका डिल र नहरवरपर सरसफाइ गरी झिलिमिली पारिएको छ ।

व्रतालुले पहिलो बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरूवा चामलको भात, रहरको दाल र तरकारी (वर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी पर्वको थालनी गर्छन् । ‘नहाय राय’को विधिपछि उनीहरू दोस्रो दिन (बुधबार) साँझसम्म उपवास बसेका थिए ।

घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले चार दिनसम्म कठिन उपवाससहित यो पर्व मनाउँछन् । यो पर्वमा पुरुषको सहायक भूमिका हुन्छ । प्राचीन कालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन रहिआएको छ । यो पर्वका लागि व्रतालु एवं परिवारजनले तिहार सकिए लगत्तै माछामासु खान छोड्छन् ।

व्रतालुले नै पुजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय वा नदी–खोला किनारसम्म दीपावलीमय वातावरण हुन्छ । यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबिचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो । सबै जाति, धर्म, वर्ग र लिङ्गका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भुत धार्मिक एवं सांस्कृतिक उत्सव हो ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]