चैत्र २३, २०७६ आईतबार

जुर्मुराउँदै मधेशको पर्यटन

राजविराज । तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र । मधेशको पर्यटन भन्ना साथ धनुषाको जनकपुरधामलाई लिइन्छ ।

यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची बनेको छ । तर मिथिला सभ्यता–संस्कृतिमा जनकपुरजत्तिकै ऐतिहासिक धार्मिक महत्वको सप्तरी भने पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ ।

सप्तरीको पर्यटन विकासमा सेतुको भूमिका निर्वाह गरेको छ हवाई यातायात सेवाले । सप्तरी हनुमान नगरका देवेन्द्र झालाई पनि राजविराज विमानस्थलमा हवाई जहाज सेवा शुरु भएपछि जिल्लाको मुहार फेरिने आशा पलाएको छ ।
उनी भन्छन्, ‘सप्तरी मिथिला संस्कृति र धार्मिक पर्यटनको प्रचूर सम्भावना भएर पनि ओझेलमा परेको छ, अहिले जहाज ओहोरदोहोर गर्न थालेपछि मानिसको चहलपहल बाक्लिएको छ, पर्यटनका गतिविधि बढ्ने देखिन्छ ।’
विश्वप्रसिद्ध हनुमान मन्दिर हनुमानको कालो मूर्तिले प्रख्यात छ । तत्कालीन समयमा सप्तकोशीले आफ्नो धार परिवर्तन गरेपछि हनुमानगर डुबानमा पर्‍यो । हनुमान मन्दिरको नजिक आइपुगेपछि कटान रोकियो । सदरमुकाम राजविराज सारियो । मधेश पर्यटन भन्न साथ जनकपुरको सम्झना आउने भए पनि जनकपुरलाई बिर्साउने पर्यटकीय सम्भावना सप्तरीले बोकेको साहित्यकार धीरेन्द्र प्रेमर्षी बताउँछन् ।
राजविराजको आफ्नै ऐतिहासिक महत्व छ । देशकै पहिलो योजनाबद्ध शहर । दुई हजार वर्षदेखि मिथिला संस्कृतिको विकास भएको सप्तरी मन्दिर र पोखरीको जिल्ला भए पनि पर्यटकीय दृष्टिकोणबाट निकै पछि परेको साहित्यकार प्रेमर्षीको भनाइ छ ।
‘सांस्कृतिकरुपले मिथिला संस्कृतिको केन्द्रका रुपमा जनपुरको चर्चा हुन्छ तर जनकपुर बजारमा बढी छ, व्यवहारमा सिरहा, सप्तरी, सुनसरी, मोरङलाई मिथिला संस्कृतिको क्षेत्र मानिन्छ’, साहित्यकार प्रेमर्षीले भने ।
अघिल्लो वर्षदेखि राजविराज विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको छ । श्री एयरलाइन्सको ठूलो जहाजले सेवा आरम्भ गरेको यो विमानस्थलमा अहिले बुद्ध एयरले एटिआर ७२ जहाजबाट काठमाडौं–राजविराज दैनिक उडान गरिरहेको छ ।
बुद्ध एयरका राजविराज स्टेशन म्यानेजर अनिल राजवंशीले यो रुटमा फूल अकुपेन्सीका साथ बुद्धले उडान गरिरहेको बताए । राजधानी काठमाडौंदेखि राजविराजको झण्डै ३५ मिनेट अवधिको उडान हुन्छ । यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई सुविधा पुग्नेछ ।
राजविराजमा हवाई सेवाले सप्तरी मात्र नभई समग्र तराई क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रदेश नं २ का आठ जिल्लाको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ । जनकपुर र सिमरामा पहिलादेखि नै हवाई सेवा थियो ।
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ । सीमापारिका सहर्सा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया र लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ ।
छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुर राजविराजमा हवाइजहाजको नियमित उडानले राजधानी काठमाडौंका पाहुनालाई मधेशभर र विहारका मन्दिर तथा मधेश र विहारका पाहुनालाई पशुपतिनाथ दर्शनमा लैजान सकिने सम्भावना रहेको बताउँछन् ।
सप्तरी र आसपास क्षेत्रको मात्र नभई प्रदेश नं २ को पर्यटकीय सम्भावना खासगरी धार्मिक पर्यटन प्रवर्धनलाई ध्यान दिएर राजविराज गन्तव्यमा उडान गरिएको बुद्धका सूचना व्यवस्थापक दीपेन्द्रकुमार कर्णले बताए ।
होटल एशोसिएसन सप्तरीका अध्यक्ष शैलेश चौधरी पनि राजधानीसँगको हवाई सम्पर्क विस्तार भएसँगै यहाँको पर्यटन फस्टाउने बताउँछन् । सदरमुकाममा अहिले तीन वटा मात्र सुविधायुक्त होटेल छन् । अथाह पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको सप्तरीको पर्यटन विकासका लागि सरोकार भएका निकाय पनि कस्सिएका छन् ।
भ्रमण वर्ष अभियान प्रदेश नं २ का संयोजक मनिष झाले अन्तर निकायको समन्वय तथा सहयोगमा सप्तरीको पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवर्धनको कामलाई प्रभावकारीरूपमा अघि बढाइने बताए । सप्तरीको पर्यटन विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले सहयोग गर्ने भए पनि स्थानीय सरोकारवालाले स्वामित्व नलिएसम्म पर्यटन विकास नहुने संयोजक झाको भनाइ थियो ।
धार्मिक हिसाबले महत्वपूर्ण राजविराजमा प्रख्यात हनुमान मन्दिर, छिन्नमस्ता, कङ्कालिनी आदि मन्दिर पर्यटक तथा भक्तजनको केन्द्रविन्दु मानिन्छ । यी मन्दिरको दर्शनका लागि नेपालभरि तथा भारतका विहार, उत्तर प्रदेश, आसामलगायत राज्यबाट भक्तजन आउने गर्छन् ।

सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष किशोरकुमार प्रधान पनि पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको सप्तरीमा आउने पर्यटकलाई राजधानी लैजान सके आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बताउँछन् । राजविराज नगरपालिकाका नगर उपप्रमुख साधना झा पर्यटकीय सम्भावना भएर पनि सप्तरी ओझेलमै रहेको भन्दै पर्यटकीय पूर्वाधार र सेवास्तरीकरणका कामलाई सँगै अघि बढाइने बताउँछन् ।
नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये बिदा र मनोरञ्जनपछि धार्मिक क्षेत्रमा आउने पर्यटक बढी छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसमध्ये १४ प्रतिशत धार्मिक पर्यटक रहेका छन् ।
त्यस्तै सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्यामा पनि उल्लेख्यरुपमा धार्मिक पर्यटक छन् । नेपाल आउने पर्यटकमध्ये तराई–मधेश घुम्न करिब १० प्रतिशत पर्यटक निस्कन्छन् । उनीहरुको बसाइँ अवधि दुई दिनको हुन्छ भने दैनिक औसतमा ११ डलर खर्च गर्छन् । सन् २०१८ को तथ्याङ्कमा नेपाल आउने पर्यटकले कम्तीमा १२ दिन बस्ने र दैनिक ४५ डलर खर्च गर्ने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि