जेष्ठ १०, २०८२ शुक्रबार

बिर्तामोडमा पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानको तयारी

बिर्तामोड । झापाको बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण भएको छ ।
बिर्तामोड – ५ स्थित अग्रसेन भवन दक्षिणपट्टि स्थानीय दानवीर, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

सो मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण शुरु भएको थियो । मन्दिर निर्माण भएसंगै बिर्तामोड नगरपालिकामा पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको छ ।

यही माघ २१ गते मन्दिर उद्घाटनसंगै गायत्री माताको विधिपूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माताको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलले बताए । माताको प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिने शोभायात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै माघ १७ गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाई छ ।

माघ १७ देखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]