सभामुख घिमिरे झापा आउँदै
बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे माघ १६ गते (भोली) गृह जिल्ला झापा आउनुहुने भएको छ । दुई दिने झापा बसाईमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले पहिलो दिन दुई वटा सरकारी स्वास्थ्य अस्पतालमा सामग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हेल्पिङ हेण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग र वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा सभामुख घिमिरे अस्पतालजन्य सामग्रीहरु हस्तान्तरण गर्ने बताइएको छ । बिर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य चोकीमा अस्पतालजन्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो ।
सोही दिन सभामुख घिमिरे श्री शंकराचार्य पीठ वेद वेदांङग संस्कृत पाठशाला तथा कामदा गौशालाको ४९ औं वार्षिकोत्सवको अवसरमा सम्पन्न ‘सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायज्ञ’ को अन्तरक्रियात्मक समीक्षा कार्यक्रममा सहभागी हुने कार्यक्रम तथ भएको हो ।
यस्तै, बिहीवार बिर्तामोड नगरपालिकाको हिउँदे नगरसभा समारोह सहभागी भई बिर्तामोडस्थित अग्रसेन नजिकै निर्माण सम्पन्न गायत्री माता मन्दिरको कलश एवम् निशान यात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, गायत्री मन्दिरको कार्यक्रमपछि बुद्धशान्तिको सिता रमेश बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभामा हुने, सिंहदेवी देविस्थानमा आयोजित महायज्ञको उद्घाटन गर्ने र काठामाडौं फर्किने सचिवालयले जनाएको छ ।