झापामा प्रधानमन्त्री ओलीको जन्मदिनमा विविध कार्यक्रमको आयोजना गरिदैं
झापा । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको ७३ औँ जन्मोत्सवका अवसरमा झापावासीले भोलि विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् ।
सो अवसरमा बिहान ७ बजे धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम आयोजना गरिने भएको छ । बिहान ७ः३० बजे सोही स्थानमा अखण्ड दीप सहित ७३ दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, बिहान ८ बजे विभिन्न स्थानमा ७३-७३ वटा बहुमूल्य जातका बिरुवाहरू रोप्ने वृक्षारोपण कार्यक्रम राखिएको छ ।
नेकपा एमाले क्षेत्र नं ४ को क्षेत्रीय समन्वय समितिले दिउँसो १ देखि २ बजेसम्म विभिन्न व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । दिउँसो २ बजे नै कन्काई माविमा काजुको बिरुवा रोप्ने कार्यक्रम राखिएको छ ।
स्थानीय आयोजकहरूले आज तयारी बैठक राखी सबै कार्यक्रमको अन्तिम रूप दिएका हुन् ।