जेष्ठ ८, २०८२ बुधबार

दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार

काठमाडौं – दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ।

मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो। उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।

उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दलालले केही समयअघि बैंकक पुर्‍याएका थिए। त्यहाँ पुगेपछि दलालले उनीहरूको पासपोर्ट कब्जामा लिए।

पासपोर्ट कब्जामा लिएर दलाल फरार भएपछि नेपाली अलपत्र परेका थिए। अलपत्र परेका नेपालीले बैंकस्थित नेपाली दूतावासमा खबर गरेका थिए । ‘अलपत्र परेका ती नेपालीलाई दूतावासले आफ्नो पहलमा उद्धार गरेर राखेको थियो, दूतावासले ट्राभल डकुमेन्ट बनाएर फर्काउने जानकारी हामीलाई पठाएको छ,’ कुँवरले भने ।

ती नेपाली के कसरी र कुन देश जानका लागि दलालको फन्दामा परेर बैंकक पुगे भन्ने स्पष्ट खुलेको छैन। ‘दलाल को हुन् पत्ता लाग्न बाँकी छ, जहाजबाट आउन लागेका नेपालीलाई त्रिभुवन विमानस्थलमा लिन हाम्रो टोली जाँदैछ,’ उनले भने, ‘हाम्रो सम्पर्कमा आएपछि अन्य कुराबारे अनुसन्धान हुने छ।’

प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]