स्वतन्त्रताका नाममा असभ्य नबनौं
सामाजिक सञ्जालको प्रभाव बढ्दो छ । हरेक नागरिकका हात हातमा आकर्षक र महंगा मोबाइल छन् । नागरिकले आफ्नो अनुकूलताका आधारमा सामाजिक सञ्जाल चलाउन सक्छन् । चलाइरहेकै छन् भने पनि हुन्छ । सामाजिक सञ्जालका कारण सूचना आदानप्रदान गर्न, एकआपसको जानकारी लिन, संवाद र सहकार्य गर्न, समन्वय र संयोजन गर्न सजिलो पनि भएको छ । इन्टरनेटको सहज पहुँच भएका ठाउँमा सञ्जालको प्रयोग अनिवार्य जस्तै छ । बिना रोकतोक सूचनामा पहुँच प्राप्तिको स्रोतका रूपमा सामाजिक सञ्जाललाई लिन थालिएको छ । यस हिसाबले सामाजिक सञ्जाल साझा सम्पत्ति पनि हो । सञ्जाल प्रयोगकर्ताका आ-आफ्नै स्वभाव, रुचि, उद्देश्य र लक्ष्य छन् । तिनको समिश्रण सामाजिक सञ्जालमा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
अहिले बहसको विषय भनेको सामाजिक सञ्जालमा कस्ता सामग्री आइरहेका छन् भन्नेमा हो । प्रयोगकर्ताको रुचि र स्वभावअनुसार सञ्जालमा सामग्रीहरू, सूचना वा जानकारीहरू सम्प्रेक्षित हुन्छन् । त्यसले कुनै न कुनै हिसाबमा समाजलाई प्रभावित पारिरहेको हुन्छ । प्रयोगकर्ताको आनीबानी, व्यहोरा र राजनीतिक आस्था र विचारले सामाजिक सञ्जाललाई धुमिल बनाइरहेको छ । एक अर्काबीच आग्रह पूर्वाग्रहका आधारमा आरोप प्रत्यारोप गर्ने, जानीबुझी वा अन्जानबश सार्वजनिक रूपमा टीकाटिप्पणी गर्ने, आस्थाका आधारमा तेजोबध गर्ने, नागरिक स्वतन्त्रताका नाममा अमर्यादित, अशिष्ट र अभद्र खालका शब्दको प्रयोग गर्ने जस्ता जटिल समस्या सञ्जाल प्रयोगकर्तामा देखिएका छन् । यसले सामाजिक सञ्जालको निर्दिष्ट उद्देश्यलाई धुमिल पनि बनाउँदै लगेको छ । सञ्जाल प्रयोगकर्ताले आफ्नो विचार, सन्देश वा सूचना कुन ढङ्गमा प्रवाह गर्छन् ? मूल्याङ्कनका लागि त्यो नै पहिलो आधार शर्त भएको छ ।
प्रविधिको विकासले मानिसको जीवनलाई जसरी सहज, सरल र सापेक्ष बनाइरहेको छ, प्रयोगमा गरिने असावधानीले उत्तिकै असहज परिस्थिति पनि सिर्जना गरिरहेको छ । सञ्जालको प्रयोग राज्यका निकायहरूलाई खबरदारी गर्ने सशक्त माध्यम बनेको विषय कहिँ कतै लुकाउनु पर्दैन । तर, प्रयोगकर्ताले नयाँ द्वन्द्व सिर्जना गर्ने गरी गरिरहेको अभ्यासले भने समाजलाई अराजकताको बाटोमा धकेलिरहेको छ । यसर्थ सामाजिक सञ्जालको प्रयोगमा प्रयोगकर्ताले उत्तिकै सावधानी, संयमता र धैर्यता अपनाउन सक्नुपर्छ । आफूले सम्प्रेषण गरेको सूचना जानकारी वा सन्देश क्षणभरमै विश्वव्यापी हुने स्थापित मान्यतालाई आत्मसात गरेर मात्रै यसको प्रयोगमा ध्यान दिनुपर्छ । सञ्जाल प्रयोगकर्ताले राज्यलाई आदेश दिइरहेका छन्, कतिपय प्रयोगकर्ता उपदेश दिँदै सञ्जालमा हाजिर हुन्छन् । अभिव्यक्ति स्वतन्त्रताको एउटा सशक्त माध्यमका रुपमा सामाजिक सञ्जाल विकसित भए पनि यसले निम्त्याइरहेको छाडातन्त्र आगामी दिनमा थप जटिल, अराजक र असहिष्णु बन्ने निश्चित प्राय छ । यसर्थ सचेततापूर्वक सामाजिक सञ्जालको प्रयोग गर्नुलाई नागरिकले आफ्नो आधार शर्त र कर्तव्य मान्नुपर्छ ।