देशभर गणतन्त्रको पक्षमा एमालेको प्रदर्शन
काठमाडौं । नेकपा एमालेले आज गणतन्त्रको पक्षमा देशभर प्रदर्शन गरेको छ । केही जिल्लामा मोटर साइकल ¥याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन गरिएको छ ।
राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भएको केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए ।
‘गणतन्त्रको पक्षमा एमालेको शक्ति प्रदर्शन गरिरहने छ । जनता राजतन्त्रको पक्षमा छैन भन्ने सन्देश दिइरहेका छौं,’ उनले भने । जनप्रर्शनका निम्ति आज विहानै महासचिव शंकर पोखरेलले नाराहरू सार्वजनिक थिए ।
सार्वजनिक नाराहरूमा ‘दास र रैती बन्न मन्जुर छैन, गणतन्त्र– जिन्दावाद, प्रतिगमन– मुर्दावाद’ लगायत छन् ।
मोटरसाइकल र्याली
सत्तारुढ दल नेकपा एमालेले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन देशव्यापी जागरण र्याली गरेको छ ।
देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल र्याली गरिएको हो । एमालेले काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्याली गरेको महासचिव शंकर पोखरेलले बताए ।
मन्थलीमा सचेतना र्याली
नेकपा (एमाले) रामेछापले सदरमुकाम मन्थलीमा सोमबार गणतन्त्रको पक्षमा सचेतना ¥याली निकालेको छ ।
प्रतिगामी तथा अराजक प्रवृत्तिकाविरुद्ध नागरिकलाई सचेत गर्न एमालेले जनप्रदर्शन गरेको हो । मन्थली स्थित पार्टी कार्यालयबाट सुरु भएको ¥याली बजार परिक्रममा गरेर कोण सभामा परिणत भएको थियो ।
पार्टी कार्यालयबाट देवकोटा चोक, बिपी चोक हुँदै मदन आश्रित चोकसम्म जनप्रदर्शन गरिएको पार्टी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । प्रदर्शनमा सहभागी एमालेका नेता कायकर्ताहरूले पूर्वराजा ज्ञानेन्द्र शाह र निरङ्कुशता विरुद्धमा नारा लगाएका थिए ।
¥याली पछि देवकोटा चोकमा आयोजित कोण सभामा बोल्दै पार्टी पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँले अब निरङ्कुशता कुनै पनि हालतमा सम्भव नभएको बताए ।
एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधानको सर्वोच्चता, देशको स्वाभिमान, स्वतन्त्रता र समृद्धिको पक्षमा काम गरेपछि त्यसलाई असफल गराउन अहिले देशीविदेशी शक्ति लागेको उनले स्पष्ट पारे । यस्ता शक्तिलाई गणतन्त्रका पक्षधरहरूले सामूहिक प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।
कोणसभालाई पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, प्रदेश कमिटी सचिवालय सदस्य एवं स्कुल विभाग प्रमुख शान्तिप्रसाद पौडेल र जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले सम्बोधन गरेका थिए ।