कचनकवलमा सामुदायिक विद्यालयको नजिता कमजोर
कचनकवल । कचनकवल गाउँपालिका अन्तर्गत सञ्चालित २३ विद्यालयका कक्षा ८ को वार्षिक परीक्षामा सहभागी ८ सय विद्यार्थीमध्ये २३६ जना उत्तीर्ण भएका छन् । सार्वजनिक भएको नतिजाले पालिकाभित्रको शैक्षिक गुणस्तरप्रति प्रश्न उठाएको छ ।
कचनकवल विद्यामन्दिर माध्यमिक विद्यालयले ३८ विद्यार्थीमध्ये ३० जनालाई उत्तीर्ण गराउँदै निजी विद्यालयहरूमा उत्कृष्टता देखाएको छ । त्यसपछि बिद्यापानी माध्यमिक विद्यालयले ४९ मध्ये २१ जनालाई सफल बनाएको छ ।
साउथ दीप एकेडेमीले १२ मध्ये ११ विद्यार्थी, मेची इङ्लिस बोर्डिङ स्कुलले २२ मध्ये १६ विद्यार्थी, र गोल्डेन फ्युचर एजुकेसन फाउन्डेसनले २४ मध्ये ११ विद्यार्थी सफल बनाएका छन् । विद्या निकेतन माध्यमिक विद्यालयबाट ३८ विद्यार्थी सहभागी हुँदा २४ जना उत्तीर्ण भए ।
तर, नवज्योति विद्यालयको नतिजा भने निराशाजनक रह्यो—७ मध्ये १ जना मात्र उत्तीर्ण । श्री स्वर्णिम शिक्षा सदन माविबाट ६१ विद्यार्थी सहभागी हुँदा ३० जनाले सफलता प्राप्त गरे ।
सामुदायिक विद्यालयको दयनीय अवस्था
अधिकांश सामुदायिक विद्यालयहरूको नतिजा अत्यन्तै कमजोर देखिएको छ ।
श्री नवा दुर्गा आधारभूत विद्यालय, श्री जनकी माध्यमिक विद्यालय (वडा–७), र सहिद गङ्गालाल आधारभूत विद्यालयबाट सहभागी भएका विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् ।
सबैभन्दा बढी ७१ विद्यार्थी सहभागी गराएको श्री लक्ष्मी माध्यमिक विद्यालयबाट मात्र १३ जनाले सफलता पाए । जानकी माध्यमिक विद्यालय (वडा–५) मा ५२ मध्ये ६ जना, जनता माविमा ३७ मध्ये १२ जना, श्री पथरिया माविमा ४० मध्ये १५ जना, र श्री बुद्ध माविमा २४ मध्ये १० जना मात्र उत्तीर्ण भए ।
त्यस्तै, सरस्वती आधारभूत विद्यालयमा २१ मध्ये ४ जना, शिव माविमा १२ मध्ये १ जना, महेन्द्र रत्न माविमा ३६ मध्ये १ जना, र श्री मोति माविमा ५१ मध्ये ४ जनाले मात्र परीक्षा पास गरेका छन् ।
गगन आधारभूत विद्यालयबाट १४ मध्ये २ जना सफल भए भने आमबाडी आधारभूत विद्यालयका सबै ९ जना विद्यार्थी असफल भए ।