बैशाख २७, २०८२ शनिबार

तीनकुनेमा आगजनी गर्ने दुर्गा प्रसाईंनिकट ‘एटीएफ’का प्रवक्तासमेत भएको पुष्टि

बिर्तामोड । चैत १५ गते तीनकुनेको घरमा आगजनी दुर्गा प्रसाईं निकट समूह (एटीएफ) ले गरेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका एटिएफका प्रवक्ता रहेका रामेछापको सुनापाति गाउँपालिका १ का २२ वर्षका सरोज गौतम र एटीएफका सदस्य अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही रहेका छन् ।

उनीहरूले नै उक्त घरमा आगो लगाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले नेपालखबरलाई बताए । एसपी बोहराका अनुसार गौतम दुर्गा प्रसाईंले प्रहरीलाई पेल्नेगरी अगाडि बढाएको गाडीमा पनि झुण्डिएका थिए । त्यहाँबाट फर्किएर घरमा आगो लगाएका उनी ढुंगामुडा र आगजनीमा संलग्न रहेको भिडिओ प्रहरीले फेला पारेको हो ।

यस्तै शाही घरमा आगजनी गरिसकेपछि माओवादीको पार्टी कार्यालयमा तोडफोडका लागि पनि पुगेको खुलेको छ । उनले विभिन्न ठाउँमा आगजनी र तोडफोडमा पनि संलग्न रहेको खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई चैत १९ गते नै पक्राउ गरेको हो । पक्राउपछि अनुसन्धान कार्यालयले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको थियो ।

त्यहाँ अनुसन्धान गर्दा आगो लगाउने गौतम र शाही भएको खुलेको हो । पक्राउ परेकै व्यक्तिहरूको मोवाइलमा आगो लगाउँदै गरेको भिडिओ फेला परेको हो ।

आगो लगाउँदै गरेको भिडिओमा गौतम भन्छन्, ‘बल्यो बल्यो, हाम्रो आन्दोलन रोकिनेवाला छैन । दम भए छेकेर देखाउ ।’ कागजमा आगो बालिरहेका उनीहरू त्यसपछि आगो झोसेर बाहिर निस्कन्छन्। आगो लगाउँदै गरेका उनीहरू दुई जना देखिए पनि त्यहाँ प्रदर्शनकारीको भीड देखिन्छ ।

प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]