प्रेस चौतारीको उपचार कोषमा १५ हजार रुपैयाँ सहयोग गर्ने केन्द्रीय उपाध्यक्ष अधिकारीको घोषणा
बिर्तामोड । प्रेस चौतारी झापाले पत्रकारको सामाजिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यसहित स्थापना गरेको पत्रकार उपचार कोषमा रकम जुट्ने क्रम जारी छ ।
एक दशकअघि स्थापना गरिएको यो कोषमा पत्रकारहरूले आफ्नाे जन्मदिन, वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरमा स्वेच्छिक योगदान गर्दै आएका छन् । कोषले आपतकालिन अवस्थामा पत्रकारलाई उपचार सहयोग उपलब्ध गराउँदै आएको छ ।
बिर्तामोडमा बुधबार आयोजित विशेष प्रशिक्षण कार्यक्रमको अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले आफ्नो तर्फबाट कोषमा १५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
उहाँले कोषको दीगो विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । चौतारी झापाले आगामी तीन वर्षभित्र कोषमा १५ लाख रुपैयाँ थप गर्ने लक्ष्य राखेको छ ।
अध्यक्ष प्रदीप परियारका अनुसार पत्रकारलाई आपतको अवस्थाका बेला आर्थिक सहयोग सहज होस् भन्ने उद्देश्यले कोष विस्तारको योजना बनाइएको हो ।