जेष्ठ ११, २०८२ शनिबार

तीन वर्षदेखि अटिजम बालबालिकाको व्यवहार सुधार्दै महेन्द्ररत्न

बिर्तामोड । झापा बिर्तामोड–३ मा रहेको महेन्द्ररत्न माविको दक्षिण भागमा एउटा क्यान्टिन छ । क्यान्टिनसँगै पूर्व भागमा टाँसिएको एउटा खुल्ला हल छ । सँगै दक्षिण भागमा थप २ साना कोठाहरु छन् । जहाँ बालबालिकाहरु आ–आफ्नै धुनमा खेलिरहेको भेटिने गरेका छन् । कतिपय बालबालिकाहरुलाई शिक्षकले खेल्न सिकाउदै विभिन्न निर्देशनहरु दिइरहेको पाइन्छ ।

यो दृष्य हो, महेन्द्र रत्न माविले सञ्चालन गर्दै आएको अटिजम केयर सेन्टर । तीन वर्ष देखि उक्त सेन्टरमा ३० जना बालबालिकाहरुको हेरचाह गरिदैं आएको छ । विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले ५ वर्षदेखि २१ वर्ष उमेरसम्मका विद्यार्थीहरुको सेन्टरमा रेखदेख गर्ने गरिएको छ ।

विज्ञ कर्मचारी, केयर टेकर, स्रोत शिक्षक र शिक्षकको रेखदेखबाट केयर सेन्टरमा बालबालिकाहरुको बानी ब्यवहारमा परिवर्तन ल्याउने प्रयास भइरहेको छ । विद्यालय स्रोतसँगै हेरचाहका लागि अभिभावकहरुको पनि आर्थिक सहयोग रहेको प्रअ खरेलको भनाई छ । उनले अटिजम सेन्टरका लागि १ जना थेरापिष्ट अष्टे«लियाबाट आएर सहयोग गरिरहेको जानकारी दिए ।

उक्त सेन्टर सञ्चालनका लागि बिर्तामोड नगरपालिका, अष्ट्रेलियन दुतावास र विद्यालयको स्रोत खर्च भइरहेको छ । विद्यालयमा तीनै निकायको स्रोतबाट ट्रष्ट निर्माण गरियो, प्रअ खरेलले भने, ‘बालबालिकाहरुका लागि अष्ट्रेलियन दुतावासले ३ लाख बराबरको खेल सामग्रीहरु उपलब्ध गराएको छ । सेन्टरका लागि उपयुक्त कक्षा कोठा र पर्याप्त खेल सामग्री जरुरी रहेको प्रअ खरेल बताउँछन् ।

शिक्षक रुस्मा दाहालका अनुसार अटिजम सेन्टरमा आउने बालबालिकाहरुको व्यवहारमा विस्तारै परिवर्तन आउनेछ । समूहमा बसेर खेल्न थालेपछि, यहाँका विभिन्न क्रियाकलाप गराएपछि व्यवहारमा परिवर्तन आउँछ, उनले भनिन्, ‘ आँखा जुधाएर नहेर्ने बालबालिकाहरु अहिले हेर्न थालेका छन्, एक ठाउँमा बस्नै नसक्ने बालबालिकाहरु बस भन्दा बस्न थालेका छन् । कतिपय विद्यार्थीहरु भनेको मान्ने अर्थात बुझ्ने पनि भएका छन् ।’ अटिजम जन्मजात हुने र निको पनि नहुने दाहालको भनाई छ । यो कुनै रोग होइन, निको पनि हुदैन, उनले थपिन् ।

बालबालिकाहरुका लागि सुविधा सम्पन्न कोठा, दक्ष शिक्षकको जरुरी रहेको बताइएको छ । अटिजम जीवनभर रहे पनि थेरापी राम्रैसँग भइरहे व्यवहारमा धेरै सुधार आउने दाहालको दावी छ ।

प्रकाशित मिति : जेष्ठ ११, २०८२ शनिबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]