असार १३, २०८२ शुक्रबार

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

बनियानी – झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ ।

जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका छन् । ‘फरेष्ट एक्सन नेपाल’का डा लिलानाथ शर्मा विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउनुहुन्छ ।

“तारबारले मात्र हात्तीलाई रोक्न-छेक्न सकिँदैन”, उहाँले भन्नुभयो, “वनमै सुधार जरुरी छ ।”

हात्तीको जैविकमार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्नसके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो । खानाको खोजीमा जङ्गलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको हो ।

हात्तीले मकै मन पराउने भएकाले पनि मकैखेती हुने बेलामा भारतबाट हुलका हुल हात्ती आउने गरेको डिभिजन वन कार्यालय डा भलले बताउनुभयो । अन्य समयमा भन्दा मकैको याममा हात्तीको आवागमन बढी हुने उहाँको भनाइ छ ।

पच्चीस हात्तीको मृत्यु

झापामा २०६२ सालयता २५ हात्ती मृत फेला परेका छन् । पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ । विगतमा बर्सेनि एक-दुई वटा हात्ती मृत भेटिने गरेका थिए । तर, केही वर्षयता हात्तीको मृत्यु हुने क्रम बढेको छ ।

विसं २०८० साउनदेखि २०८१ असार सम्ममा चार हात्ती मृत फेला परेका थिए भने चालु आवमा समेत हालसम्म चार हात्ती मृत फेला परेका डिभिजन वन कार्यालयले जनाएको छ ।

साढे नौ करोड राहत

जिल्लाका हात्तीपीडितलाई सरकारले आव २०६८-६९ देखि चालु आवको हालसम्ममा रु नौ करोड ६८ लाख ४७ हजार राहत प्रदान गरिसकेको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रु १० लाख, घाइतेलाई अधिकतम रु दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षति भएकाको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका डा भलले बताउनुभयो । जिल्लामा ५२५ जना वन्यजन्तु पीडित अझै राहतको पर्खाइमा छन् । रासस

प्रकाशित मिति : असार १३, २०८२ शुक्रबार  ११ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]